काठमाडौं । गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई पक्राउ परेका छन् । उनलाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो । उनलाई अख्तियारले पक्राउ गरेर टंगालस्थित कार्यालयमा लगेको जनाएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रमुख अध्यागमन अधिकृत रहेका भट्टराईलाई मंगलबार बेलुका आकस्मिक रुपमा गृह मन्त्रालयमा सरुवा गरिएको थियो । उनलाई सरुवा गरेर गृहले पाँचथरका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालालाई प्रमुख अध्यागमन अधिकृतका रुपमा पठाउने निर्णय गरेको थियो ।
स्रोतका अनुसार अख्तियारले केही साताअघिबाटै यस विषयमा अनुसन्धान गरिरहेकोमा विमानस्थल अध्यागमनमा छापा हान्ने सुइँको पाएपछि गृहले हतारमा भट्टराईलाई सरुवा गरेको हो । भिजिट भिसामा जानेबाट सेटिङमा उठाइएको रकम ‘माथिसम्म’ पुग्ने गरेको उजुरी परेको छ । तर अख्तियार स्रोतले अनुसन्धानमा रहेको विषय भएकाले थप बोल्न नमिल्ने जनाएको छ ।
भट्टराईमाथि नेपालबाट भिजिट भिसामा दुबईलगायतका मुलुक जानेबाट रकम असुल्ने गरेको आरोपमा उजुरी परेपछि अनुसन्धानमा तानिएका थिए । त्यसपछि बुधबार उनलाई अख्तियारले पक्राउ गरेको हो ।
विमानस्थल अध्यागमन स्रोतका अनुसार अख्तियारले विमानस्थलबाट कम्प्युटरलगायतका कागजातसमेत नियन्त्रणमा लिएको छ । भट्टराईमाथि अनुसन्धानपछि थप विवरण खुल्ने अख्तियारले जनाएको छ ।
प्रतिक्रिया