यौन दुव्र्यवहार नभएको दाबी

धरान, २ असोज । प्रधानाध्यापक राजकुमार राईले यौन दुव्र्यवहार गरेको समाचार सञ्चारमाध्यममा सार्वजनिक भएपछि यौन दुव्र्यवहारमा परेकी भनिएकी बालिकाका परिवारले भने कुनै दुव्र्यवहार नभएको स्पष्ट पारेका छन् ।

२७ भदौमा ११ वर्षीया बालिकालाई सुनसरीको विष्णुपादुका गाविसस्थित जनज्योति प्राविका प्रधानाध्यापक राईले यौन दुव्र्यवहार गरेको समाचार सार्वजनिक भएको थियो । धरानमा मंगलबार पत्रकार सम्मेलन गरी प्रअ राईमाथि झुटा आरोप लगाइएको र आफ्नो नातिनीमाथि कुनै यौन दुव्र्यवहार नभएको पीडित भनिएकीे बालिकाका हजुरबा राजेन्द्र तामाङले बताए । लामो समयदेखि प्रअ राई उक्त बालिकाको घरमा डेरा गरी बस्ने गरेको र त्यस्तो केही पनि घटना नभएको समेत उनको हजुरबाले दाबी गरे ।
चाउचाउ खान सधँै झै बालिका प्रअ राईको कोठामा पसेको विषयलाई अतिरञ्जित बनाई केही बालक्लब, पारलिगल कमिटीले यौन दुव्र्यवहार गरेको भनी सञ्चारमाध्यममा सार्वजनिक गरेकोप्रति आफू दु:खी भएको तामाङको भनाइ थियो । पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा गाविसमा थुप्रै शैक्षिक विकासका काम गरेका कारण प्रअ राई लोकप्रिय हुँदै गएपछि उनलाई फसाई सो विद्यालयबाट हटाउने मनसायले स्थानीय राजनीतिक दलहरूको योजनाअनुसार आरोप लगाइएको उल्लेख छ । आफ्नो नातिनीमाथि केही नभएको आफूले भनिरहँदा पनि जबरजस्ती दुव्र्यवहार भएको भन्दै केही संघसंस्था दलहरूको उक्साहटमा लागि प्रहरीमा जाहेरीसमेत दिएको उनले बताए । जाहेरी दिन पीडित भनिएकी बालिका र निजकी फुपुलाई झुक्याएर इलाका प्रहरी कार्यालय धरान पुर्‍याइएको उनले बताए ।
जाहेरीपछि प्रअ राईलाई प्रहरी पक्राउ गरी हिरासतमा राखिएको छ । तामाङले राई दोषी नभएकाले कुनै कारबाहीअघि बढाउन र हिरासतमा राख्न आवश्यक नभएकोले मुक्त गर्न मागसमेत गरे । राजनीतिक कारणले निर्दोष व्यक्ति हिरासतमा बस्नुपरेको, बालअधिकारका नाममा नातिनीले मानसिक पीडा खेप्नुपरेको गुनासो उनले गरे । राजनीतिक दाउपेचका कारण आफ्नो परिवार र समाजसमेत कलंकित भएको उनले बताए ।
यसअघि सोमबार विष्णुपादुकामा क्रियाशील बाल क्लबले पत्रकार सम्मेलन गरी बालिकालाई दुव्र्यवहार भएकोले प्रअ राईलाई हदैसम्मको कार्यबाही गर्न माग गरेको थियो । पत्रकार सम्मेलनमा पीडितकै मुखबाट घटना विवरण जानकारी दिन आग्रह गरेपछि आयोजकका तर्फबाट सो गाविसकी बालक्लब अनुगमनकर्ता रञ्जिता राईले बालिकालाई ल्याउने क्रममा एकीकृत नेकपा माओवादीका कार्यकर्ताले फर्काएर लगेको बताएकी थिइन् ।
उक्त घटना आर्थिक लेनदेन मिलाउन एमाओवादीका नेता कार्यकर्ता लागिपरेको सार्वजनिक भएपछि पार्टीले उक्त घटनाको खण्डन गरेको छ । तामाङद्धारा आयोजित पत्रकार सम्मेलनमै उपस्थित भई सो पार्टीका विष्णुपादुका गाविस इन्चार्ज भक्त राईले उक्त घटना मिलाउन पार्टीले कुनै दबाब नदिएको बताए । आफूहरूको अनुसन्धानबाट पनि घटना हुँदै नभएको तर चुनावको संघारमा आफ्नो पार्टीको छवि धमिल्याउन नेपाली कांग्रेस र नेकपा एमालेले खेल खेलेको उनले बताए । प्रअ राई एनेकपा माओवादीमा प्रवेश गरेपछि गाविसमा पार्टीको स्थिति मजबुत भएका कारण प्रतिशोधको भावनाले राईलाई फसाई पार्टीलाई बदनाम गर्ने प्रयास गरिएको उनले दाबी गरे ।

प्रतिक्रिया