खेलाडीलाई अढाई लाख

Footballकाठमाडौं, १ असोज । आठौँ साफ च्याम्पियनसिपको अन्तिम चारसम्म पुग्न सफल नेपाली फुटबल खेलाडीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले नगदसहित सम्मान गरेको छ । एन्फाले आठौँ साफ खेलेका राष्ट्रिय फुटबल टोलीका खेलाडी तथा प्रशिक्षकलाई सोमबार एक कार्यक्रम गरी जनही नगद राशि दुई लाख ५० हजार रुपियाँसहित सम्मान गरेको हो ।
राजधानीमा हालै सम्पन्न साफ च्याम्पियनसिपमा पोलिस मूलका अमेरिकी ज्याक स्टेफानोस्कीको प्रशिक्षणमा ‘ग्रुप अफ डेथ’ मानिएको समूह ‘बी’बाट नेपाल अन्तिम चारमा पुगेको थियो । नेपाली टोलीले सेमिफाइनलमा पुग्ने क्रममा समूह चरणमा भारतविरुद्ध ऐतिहासिक जित निकालेको थियो । समूह विजेता बन्दै सेमिफाइनल पुगेको नेपाली टोलीको यसपटकको साफ यात्रा अफगानिस्तानले समाप्त पारेको थियो । रोहित चन्दले दुईपटक पेनाल्टी चुकाएको खेलमा नेपाल १–० ले पराजित हुँदै बाहिरिएको थियो ।
एन्फा अध्यक्ष गणेश थापाले खेलाडी सम्मान कार्यक्रममा खेलाडीहरूको प्रदर्शनबाट आफू सन्तुष्ट रहेको बताए ।

‘रोहित वा किरणमाथि दोष थोपर्न आवश्यक छैन । फुटबल हो, यस्तै हुन्छ,’ अध्यक्ष थापाले भने ।
थापाले नेपाली टोलीले यसपटक ऐतिहासिक प्रदर्शन गरेको उल्लेख गर्दै विगत ३०–४० वर्षको अवधिमा यस्तो टिम बिरलै देखिएको टिप्पणी गरे । उनले टोलीका प्रत्येक सदस्यको प्रदर्शन उत्कृष्ट रहेको उल्लेख गर्दै कम्तीमा अझै सात/आठ वर्ष रोहित र किरण नेपाली टिमको प्रमुख हतियार बन्न सक्ने औँल्याए । ‘नेपाली टिमलाई भाग्य मात्रै होइन, भगवानको पनि साथ थियो,’ उनले भने, ‘तर, सायद यसपटक साफ उपाधि हामीलाई भन्दा अफगानिस्तानलाई बढी आवश्यक थियो । त्यसैले हामी चुक्यौँ ।’
प्रशिक्षक स्टेफानोस्कीले साफ च्याम्पियनसिपको सेमिफाइनलमा हारे पनि नेपाली टोलीले धेरै सिक्ने मौका पाएको बताए । हारका कारण स्तब्ध भए पनि खेलाडी र एन्फाले गरेको कडा परिश्रम प्रशंसायोग्य रहेको उनको भनाइ थियो ।
राष्ट्रिय फुटबल टोलीका कप्तान सागर थापाले यसपटक असफल भए पनि निराश नभएको बताए । ‘फुटबल हो, कहिलेकाहीँ असफल भइन्छ,’ कप्तान थापाले भने, ‘यसपटक असफल भए पनि टोली निराश भएन । हामी अर्को साफ च्याम्पियनसिप कुर्नेछाँै । राम्रो प्रदर्शन गर्दै सबैको माया जित्न सक्यौँ । त्यसैमा सम्पूर्ण टिम आभारी छ ।’

प्रतिक्रिया