काठमाडौं । प्रथम दक्षिण एसियाली आमन्त्रण कप भलिबल प्रतियोगिताको उपाधि श्रीलंकाले जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा सोमबार सम्पन्न फाइनलमा श्रीलंकाले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो ।
श्रीलंका २५–२२, २५–१९ र २५–२३ को सेटमा विजयी भएको हो । बंगलादेशमा सम्पन्न एघारौं दक्षिण एसियाली खेलकुदमा कास्य जित्न सफल श्रीलंका, भारत र पाकिस्तानको अनुपस्थितिमा अब्बल ठहरिएको हो ।
दक्षिण एसियाका चार टिमले सहभागिता जनाएको प्रतियोगिताका शीर्ष दुई टिमले फाइनल खेल्ने अवसर पाएका हुन् ।
प्रतियोगितामा अफगानिस्तानलाई मात्र हराएको नेपाल तेस्रो स्थानमा समेटियो । उपाधिसँगै श्रीलंकाले दुई हजार, उपविजेता माल्दिभ्सले एक हजार तथा नेपालले पाँच सय अमेरिकी डलर हात पारेका छन् ।
भारत र पाकिस्तान एसिया कपको तयारीमा रहेकाले र बंगलादेशमा भलिबल संघको निर्वाचन भएकाले पहिलो पटक नेपालले आयोजना गरेको यो प्रतियोगितामा सहभागिता जनाएका थिएनन् । (फाईल तस्विर)
प्रतिक्रिया