बाल्केस–एऊटा अमूर्त छायाँ

Ribin-2खुल्ला आकाशमा खिचिन्छ समुद्री गहिरो पानी छायाँ । देखिन्छ त्यो खाली भई नीलो—नीलो एक गहिरोदेखि आवरणसम्मको पूरै छायाँ । त्यो तिम्रो मित्रको अनुहारमा तिमीलाई भेट्दा आउने मित्रको अनुहारको छायाँ । तिम्रो लागि निस्कने तिम्रो मित्रको आत्मीक छायाँ । ‘ऊ हेर त’ मसँगै उभिएको मेरो साथीलाई बोलाइदिन्छु म । रोडपारि उसकी प्रेमिका एक गहिरो बिनाआवाजको हाँसो छोडिदिन्छे । यो मेरो मित्रको छायाँ त हो † त्यो उसका लागि छाडिदिएकी एक मीठो हाँसो म देख्छु पर भाग्दै जाने त्योपारि क्षितिज, लाग्छ मेरै मनको गहिरो छायाँ । सोचाइका क्यानभास कोरिन्छ­बादलसँग । बाफ भई अग्लिने त्यो चिसो खुम्चिने कालो/सेतो बादल । एक किसिमले मेरो अस्तव्यस्त सोचाइ कहने त्यो बादल ।

यहाँ कसको छैन छायाँ ? मेरो मित्रको भूपू प्रेमिकालाई भन्छु । ‘सुन्यौ बाल्केस ? छायाँ बन्नलाई पहाड हुनुपर्छ र ? घामको अगाडि उभिनुपर्छ र ?’ ऊ हाँसी दिन्छे मात्र । पोखरी छेउ पैयुँको रूखले आफ्नो मुहार पानीको सतहमा हेर्छ । हावाको झोक्कासँगै कपाल सम्हाल्छ । पानीको कम्पनसँगै आफ्नो एब्स्ट्रयाक्ट शरीर हेर्छ र छक्क पर्दै वर्षांै किनारमा उभिन्छ । फेरि भन्छु ‘हरेक मानिसले आफ्नो छायाँ हेर्दै जिउँछ । एक किसिमले यसोभन्दा कसो होला ? तिमी नदीको छेउमा उभिएको रूखको फेदमा बसेर पानीमा हेर्न सक्छौ । रूखले आफ्नो छायाँ बगाउँदै निहालेको ।’ बाल्केस अझ हाँसी दिन्छे मात्र । यसबारेमा बाल्केसलाई केही लिनुदिनु छैन । कमसेकम एउटा प्रेमको छायाँ बगाएर उभिएकी छे ऊ आफैँ ।
मेरो दिन खासै रुटिनमा बित्दैन अझ आजभोलि । कलेज गएर कानको भरमा कलम कुदाउनबाहेक । ‘आजभोलि ऊ कलेज आउँदैन ?’ कलेजको लामो बिदाको लस्करबाट भेट्दै बाल्केस मेरो साथी, उसको भूपू प्रेमीलाई इंगित गर्दै थिई । मैले उनीसँगै ऊभिएको उसको वर्तमानलाई हेरेर खुम्चिँदै भनेँ, ‘हामीले निक्कै खुसी मान्नु पर्छ । यो हाम्रो निक्कै समयपछिको भेट हो ।’ उसले एकजोडी आँखा हुत्याइ मतिर सोहोर्दै भनी, ‘हो झन्डै छ महिना’ बाल्केसको वर्तमानले मलाई पढ्न खोज्दै हेर्‍यो । सायद उसलाई हाम्रो कुरा गोप्य लाग्यो वा उसलाई हाम्रो कुरा सामान्य लागेन । उसको हालतमा मलाई माया लागेर आयो । मैले थोरै हाँस्दै भनेँ, ‘बाल्केसले मलाई लाग्छ हाम्रो परिचय गराउन भुल्दै छे,’ बाल्केसले मलाई सतर्क हुँदै हेरिन् । मैले बाल्केसको वर्तमानतिर हात बढाउँदै भनेँ, ‘कुरा गर्न सजिलोका लागि हामीले यहीँबाट सुरु गरौँ म अनुवादक ।’ ऊसले हात मिलायो र भन्यो, ‘म जुइम्बो † तपाईं बाल्केसको साथी हुनुहुन्छ ?’
मैले भने, ‘हामीले लगभग पाँच वर्षसँगै पढेका छौँ ।’ ‘धेरै राम्रो,’ जुइम्बो बोल्यो, ‘सम्बन्ध नजिकको रहेछ ।’ ‘लामो नभेट्, यो ६ महिना हो,’ मैले भनेँ ।
जुइम्बो आफ्नो आवाजमा केही शक्ति भर्दै भन्छ, ‘बाल्केस र म आजभोलिसँगै छाँै ।’
म तत्काल ताल थप्दै भन्छु, ‘त्यो त म बुझ्छु ।’
जुइम्बो फिस्स हाँस्यो । बाल्केसले मतिर एकपल्ट आँखा हुत्याई । ‘दिन कसरी बित्दै छ ?’ बाल्केसले भइरहेको कुरालाई समाप्त गरिदिई ।
‘गएको शुक्रबार हामीलाई झन्डै एक घन्टाको समय मिलेको थियो । केही समय तिम्रो कुरा भयो । त्यसपछि अरूमै बित्यो । तिमी आजभोलि के मा व्यस्त छौँ । यस्तैयस्तै ।’
हामी छुट्यौँ ।
अर्को दिन म क्लासतिर हान्निदै थिएँ । सुताइ लम्मिएर उठाइ ढिलो भयो । बाल्केस क्लासरूमबाहिर उभिरहेकी रहिछे ।
‘किन बाहिर उभियौ ? १५ मिनेट हामी ढिलो भइसक्यौँ ।’ म क्लास रूमतिर हेर्दै भन्छु । क्लास व्यस्त छ, बाल्केस झ्यालबाट भित्र हेर्दै भन्छे ‘क्लास खाली थियो त्यसैले पसिना ।’
‘क्लास चल्दै छ ।’ ‘मेरो लागि खाली छ ।’‘नपढ्ने ?’ ‘अब त कति छ र ? नपसौँ क्यारे †’ यति भनेर बाल्केस मलाई मुसुक्क हाँसिदिन्छे ।
‘तिमी पर्खंदै छौँ ?’ म सोध्छु ।‘हो’ मुन्टो हल्लाउँछे ।
म हाँस्छु र भन्छु, ‘तिमीलाई यो थाहा हुनुपर्छ । बाहिरको मानिसलाई यहाँ पस्न मनाही छ । गेटबाहिर बस्यौ भने ऊ आएको थाहा पाउँछौ । सायद ऊ बाहिर आइसक्यो । बाहिर गएर बुझ्न सक्छौ ।’ म भित्र पस्छु ।
सबै क्लास सकियो, बस्ने कामै रहेन, म निस्किएँ । गेटबाहिर बाल्केस अझै उभिरहेकीेरहिछे । म छक्क परेँ ।
‘तिमी अझै यहाँ छौ ?’ मेरो अचम्म मान्दैको प्रश्न †
‘म कहाँ हुनुपथ्र्यो र ?’ ठाडो उत्तर दिई ।
‘ऊ अझ आइपुगेन ?’ उसको उत्तरलाई बेवास्ता गर्दै भन्छु ।
‘को ?’‘तिम्रो वर्तमान †’
‘कस्तो वर्तमान ?’ ‘ठट्टा गर्छौ ?’
‘यत्रो उभिएँ के यो ठट्टा ?’ म दिक्क हँुदै भन्छु, ‘तिम्रो जुइम्बो आएन भनेको †’
‘उसले किन आउनुपर्‍यो ?’ बाल्केसको फेरि मलाई अचम्मको प्रश्न † ‘यो पनि प्रश्न हो ?’
‘प्रश्न जति सबै प्रश्न हुन् †’ यति भनेर बाल्केस मलाई ढुक्कले हेर्छे । मलाई झनक्क रिस उठ्यो । यो पनि कुनै संवाद हो । हामी चुपचाप हिँड्छौँ । केहीबेरपछि बाल्केस बोल्छे, ‘जुइम्बो आउने आवश्यकता नै छैन’
म छक्क पर्दै हेर्छु । के बाल्केसलाई आज ठीक त छ ?
‘त्यसो भए जुइम्बोको हिजो हाम्रो भेटको परिचय फेरि बिगत बनाई दियौ †’ अन्तमा यति भन्दिन्छु ।
‘हामी चाँडै विवाह गर्दै छाँै,’ बाल्केस निर्धक्क भएर भन्छे । ‘त्यसपछि हामीसँगै रहने छौ । अहिलेलाई किन भेटिरहनुपर्‍यो ?’
म मेरो हिँडाइलाई रोकेर भन्छु ‘त्यसो भए यत्रोबेर किन बाहिर उभिने कसरत ? कसको पर्खाइ थियो ?’
‘भुलक्कड † तिमीले भनेको हैन बाहिर पर्ख भनेर ?’ बाल्केस सहज उत्तर दिन्छे ।
‘हामी अहिले बेकारका गफमा अल्झेका छौँ, हैन ? तिमीलाई पनि यो लागेको हुनुपर्छ †’ म भन्छु ।
आफ्नो टाउको सिधा बनाएर अगाडिको बाटो हेर्दै भन्छे ‘गफ जति सबै बेकार कै हुन्छन् ।’
फेरि मलाई झनक्क रिस उठ्छ । म बाल्केसलाई हेरिदिन्छु । कि यो उसले जानोस् म रिसाएको छु । बाल्केस अझ थप्छे, ‘सबै बेकारका गफ अमूर्त हुन्छन् । तर, मलाई सबै अमूर्त मन पर्छ ।’
बिना उत्साह भन्दिन्छु ‘किन भनेर मैले सोधेँ ?’ बाल्केसले मेरो उत्तर नदिए पनि हुन्छ ।
‘अमूर्तलाई छुन सकिन्न ।’
‘छुनुमा त्यस्तो के खराब छ ?’ मैले फेरि प्रश्न गर्नुपर्‍यो । ‘छुन नसक्नुमा मजा छ ।’ सजिलै भन्दिन्छे ।
‘मूर्ततामा बढी सत्यता होला ।’ ‘सत्यता ? कति नमिल्दो कुरा । मानिस कम्तीमा भ्रममा बाँच्छ ।’
‘हाम्रो भेट नभएको धेरै भो’, हो ?’ म यति मात्र भन्छु ।
‘तिमी किन यहाँ आएर अल्झियौ ?’ बाल्केस बाँगो हाँसिदिन्छे र फेरि भन्छे ‘तिमी कम्तीमा बाठा छौ ।’
म भन्छु, ‘हैन बाल्केस मलाई आफ्ना आँखा हत्याइदिन्छिे र म थप्छु, ‘भ्रमचाहिँ कम्तीमा मानिससँग बाँच्छ ।’ हामी दुवै हाँस्यौँ । हामीलाई कुरा टुंग्याउनु थियो सायद ।
‘हामी केहीबेर यहाँ बसौँ ।’ बाल्केस मलाई सोध्नुभन्दा निर्णय सुनाउँछे ।
पार्कमा जति मानिसको चाप हुनुपथ्र्यो त्यो छैन । हाम्रा लागि यो स्वस्थकर हुन जान्छ । रोडको किनारमा लहरै फौजी पोजिसनमा केही रूख छन् । तीनवटा काठका चियरहरूलाई अगाडि राखेर । चियरहरूमा पहेँला पातहरू समयप्रति गुनासा गर्दा हुन् । कुर्सीमा बस्दै भन्छु, ‘अँ अब तिमीसँग योजना के—के छ बताऊ ।’
मध्याह्नको चिसो हावा आउँछ हामीलाई खोज्दै । अगाडिको कपालपछाडि मिलाएर राख्दै बाल्केस बोल्छे ‘हामी अब चाँडै विवाह गर्नेछौँ । लगभग—लगभग यसका लागि हामीले पूरै तयारी गरिसकेका छौँ । अबको केही महिनापछि मेरो नयाँ फ्लाटमा तिमीसँग हाम्रो भेट हुनेछ ।’
‘तिमीसँग योजनाका अरू लस्कर छन् । यो त भइरहेका नजिकका योजना हुन्, हैन ?’ म हाँस्छु । बाल्केस हाँसो छाड्दै भन्छे, ‘हैन हाम्रो भेट नभएको ६ महिना मात्र हो ।’
म उसको कुरामा थप्दै भन्छु, ‘यो ६ महिना निकै समयलाई धकेलेर बितेको हुनुपर्छ ।’
बाल्केस यति बोल्न आवश्यक ठान्छे ‘भुल्ने मस्तिष्क सधैँ अतीतको प्यारो हुन्छ ।’ उनको बाँगो हाँसो छँदै छ ।
अगाडिको बाटो हेर्दै भन्छु, ‘हो वास्तवमै यो ६ महिना लामो समय भएर बितेछ ।’
बाल्केसले पूरै हाँसो छाडी । हामी केहीबेर नबोलेरै बस्छौँ । केही पहेँला पात गुनासामा हाम्रा वरिपरि थपिन्छन् वा अन्तिम खुसी मनाउँछन् ।
‘अँ उसको दिन कसरी बित्दै छ ?’ चुप लाग्न नसकेर बाल्केस बोल्छे ।
‘कम्तीमा हाम्रो दिनमा एकपटक भेट हुन्छ । तर, छोटो समयका लागि ।’ म भन्छु ।
‘मेरो कुरा पनि पक्कै हुँदो होला ।’ बाल्केस चियरमा आफ्ना खुट्टा हल्लाउँछे । हामी बसेको दाहिनेतिरबाट फेरि हामीलाई खोज्दै चिसो हावा आउँछ, म हावातिर फर्किदिन्छु र भन्छु, ‘म सुरु गरिदिन्छु ।’
‘के ?’ बाल्केसको छोटो आवाज ।
बाल्केसतिर हेर्दै भन्छु ‘सम्बन्धमा पूर्णविराम लाग्छ कसरी ? ऊ खराब छैन । भन्दै थियो तिमीसँग भेट भयो भने जरुर बोलाउने छु ।’
बाल्केस मलाई लापरबाही हेर्छे र भन्छे ‘म पनि त्यति खराब छैन । जरुर उसँग बोल्नेछु ।’ अन्तमा हाँसो छाडिदिई ।
मैले भने, ‘त्यो त धेरै राम्रो । हाम्रो सधैँ बेलुका भेट हुन्छ । तिमी आउन सक्छौ ।’
‘म आउने छैन’ बाल्केस चाँडो बोल्न सक्छे । देखाई । म छक्क पर्दै बाल्केस हेर्छु । यसको उसलाई प्रवाह छैन । अन्तमा भन्छु ‘मेरो संगतमा सबैभन्दा मूर्ख भेटिएका तिमी हौ ।’
बाल्केस मेरो कुरालाई धक फुकाएर हाँसिदिन्छे र भन्छे, ‘मलाई यसले खुसी ल्यायो ।’
म नबुझेर बाल्केसलाई हेर्छु ‘के ?’
‘कमसेकम सम्झनलाई विशेष स्थानमा मलाई राखेका रहेछौ ।’ म नबुझेरै फेरि हेर्छु । फेरि थप्छे ‘मुर्ख केटीको पहिलो स्थानमा ।’ फेरि खित्का छाडी । यसमा हाँस्नुपर्ने ? हाँसोले धेरै कुरालाई गौण बनाउने पो हुन् कि ? हामी चुपचाप बस्छौँ । दुईपल्ट हामीलाई खोज्दै फेरि हावा आयो । केही पहेँला पात थपिए हाम्रा वरपर ।
‘अरू बाँकी बताऊ, उसको बारेमा ।’
फेरि बाल्केस मलाई बोल्न लगाउँछे । मलाई उसको एकोहोरो प्रश्नमा झर्को लाग्छ र भन्दिन्छु ‘तिमी किन उसको बारेमा मसँग सधैं सोधिरहन्छौ ? आफैँ उसलाई भेट्दा मैले दिएको उत्तरभन्दा अरू बुझ्न सक्छौ ।’ टुंग्याइदिन्छु ।
‘तिमीबाट उसको बारेमा जान्न मलाई मन पर्छ ।’ बाल्केसले पनि टुंग्याई । म छक्क परेँ । म धेरै गलत बुझ्छु क्यारे । बचाऊ गर्दै भने, ‘हामी केको बारेमा कुरा गर्दै थियौँ ?’ बाल्केसले थोरै हाँसी र अगाडि हेर्दै भनी, ‘त्यसो भए छोडिदेऊ । तिमीले भनेको छायाँको बारेमा कुरा गर न,’ म अझ छक्क परेँ, धेरै कुरा बुझ्नु पनि हुँदैन । अन्तमा भनेँ, ‘मैले बुझिनँ त ।’
बाल्केसले मलाई एकपल्ट हेरी । आँखाको पनि हात हुँदो रहेछ । एक झापट सम्झेँ । अगाडि हेर्दै बाल्केस बोल्छे, ‘तिमीले एक बसाइमा भनेको हैन ? छायाँ बन्नलाई पहाड उभिनु नपर्ने कुरा । घामको अगाडि उभिनु नपर्ने कुरा । अरू के—के कुरा गथ्र्यौ मलाई सम्झाउन ।’ म बेवास्ता गर्दै भन्छु, ‘अब जाऊ, ढिलो हुनसक्छ ।’
बाल्केसले मलाई निकैबेर हेरिन् । मैले मेरो अगाडि खसेका पात गनेँ– एक…दुई….।
‘तिम्रो छायाँको कुरा आजभोलि देखिन छाड्यो ?’ अन्तमा बाल्केसले यति व्यंग्य छाड्न भ्याई ।
‘हैन’ म भन्छु, ‘सबै छायाँ अमूर्त हुन्छन् । तिमी भन्छौ अमूर्त छुन सकिन्न । छुन नसक्नुमा नै मज्जा छ र अब हामी दुवै मिलेर भनौँ, ‘छायाँको कुरा नगरेर नै हामी स्वस्थकर छौँ ।’ म कुरा टुंग्याइदिन्छु । बाल्केस मलाई आफ्नो आँखा हुत्याउँछे । म सधैँ उसको आँखाको भाषा बुझ्दिनँ । धेरै कुरा बुझ्नु पनि हँुदैन र मसँगै बाल्केस चुपचाप विस्तारै हिँड्न थाल्छे । हाम्रो छायाँ बादलमाथि पानी बोकेको गह्रौँ बादल…।

प्रतिक्रिया