थ्रेसहोल्डको अडानबाट पछि हट्दैनौ: कोइराला

Sushil Koirala 4पोखरा, ५ जेठ  । कांग्रेस सभापति सुशील कोइरालाले आफूहरू आगामी संविधानसभामा सभासद्को संख्या र थ्रेसहोल्डसम्बन्धी अडानबाट कुनै हालतमा पछाडि नहट्ने बताएका छन् । संविधानसभाको आकार र थ्रेसहोल्ड एक प्रतिशत राख्नुपर्ने विषयमा एमाले र काग्रेसबीच समान धारणा रहेको कोइरालाको भनाइ छ ।
नेपाल पत्रकार महासंघ कास्कीले शनिबार बिहान पोखरामा आयोजना गरेको स्वर्गीय दयाशंकर पालिखे स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार सम्मान समारोहलाई सम्बोधन गर्दै कोइरालाले यस्तो बताएका हुन् । ‘पहिले भएको सहमतिबाट अब हामी कुनै हालतमा पछाडि हट्दैनौँ । यसमा एमाले र कांग्रेस एक ठाउँमा छौँ,’ उनले भने, ‘एकीकृत माओवादी र मधेशी मोर्चा सहमतिबाट भाग्दै छन्, जनताको अभिमतको कदर गर्दै यो विषयमा उनीहरू सहमतिमा आउनै पर्छ ।’
उनले कात्तिक अन्तिम साता वा मंसिरको पहिलो साता जुनसुकै हालतमा चुनाव भएरै छाड्ने दाबी गर्दै यसमा शंका नगर्न सबैलाई आग्रह गरे । उनले चार दलीय सिन्डिकेट तोड्दै नेकपा–माओवादी अध्यक्ष मोहन वैद्य नेतृत्वको ३३ दलीय मोर्चा र फोरम अध्यक्ष उपेन्द्र यादव नेतृत्वको मधेसी मोर्चालाई समेत विश्वासमा लिएर अगाडि बढ्ने बताए । देशब्यापी रूपमा जनताले चुनावको प्रतिक्षा गरेको उल्लेख गर्दै उनले कांग्रेसप्रति जनलहर उर्लेको दाबी गर्दै अबको चुनावमा लोकतन्त्रविरोधि शक्ति पराजित हुने धारणा व्यक्त गरे ।
कोइरालाले देश अहिले राष्ट्रियताका दृष्टिले सबैभन्दा कमजोर अवस्थामा रहेको उल्लेख गर्दै यस विषयमा उच्चस्तरीय राजनीतिक समितिमा आफूले कुरा उठाएको जानकारी दिए ।
प्रधानन्यायाधीश खिलराज रेग्मीलाई सरकार प्रमुख बनाउनु र पछिल्लो पटक पूर्वमुख्यसचिव लोकमानसिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा नियुक्त गर्नु डिजाइनअन्तर्गत भएको टिप्पणीसमेत गरे । उनले यी दुवै विषयलाई आाफ्नो पार्टीले चुनौतिका रूपको लिएको उल्लेख गरे ।
अन्य दलले संविधानसभा चुनाव कांग्रेस नेतृत्वको सरकारले गर्नुपर्ने भन्दै गरेका बेला प्रधानन्यायाधीश रेग्मीलाई सरकारको नेतृत्व दिनुपर्ने प्रस्ताव एकाएक आउनु र आाफूहरूले रोक्न खोज्दाखोज्दै पनि कार्कीलाई अख्तियारप्रमुख नियुक्त गरिनुमा कुनै न कुनै प्रकारको डिजाइनले काम गरेको उनको भनाइ थियो । ‘म किन दबाबमा परे भन्ने विषयमा पहिले नै भनिसकेको छु, त्यो पत्रपत्रिकामा आइसकेकाले बोलिरहनुपरेन,’ उनले भने, ‘कांग्रेसलाई नेतृत्व दिने भनिरहेकाहरू ब्याक हटेर किन प्रधानन्यायाधीश नेतृत्वका कुरा गरे ? विरोधका बीच किन कार्की नियुक्त भए, त्यो कुनै न कुनै डिजाइनअनुरूप भएको छ ।’ उनले कसले कस्तो डिजाइन गरेको भन्नेचाहिँ खुलाएनन् ।

प्रतिक्रिया