खाद्यान्न उत्पादन घट्ने

काठमाडौं, ३ जेठ ।  चालु आर्थिक वर्षमा प्रमुख खाद्यान्न बाली (धान, गहँु, मकै, कोदो, जौ, फापर) को उत्पादन घट्ने भएको छ । यसवर्ष ढिलो तथा कमजोर मनसुनका कारण उत्पादन घट्ने कृषि विकास मन्त्रालयले जनाएको छ । पश्चिम तथा पूर्वी तराईका केही जिल्लामा उत्पादन घटेको र पहाडी तथा हिमालीका अधिकांश जिल्लामा उत्पादन बढेको तथा केही जिल्लामा गतवर्षकै अवस्थामा रहेको कृषि विकास मन्त्रालयका प्रवक्ता प्रभाकर पाठकले जानकारी दिए । उन्नत बीउ, मलजस्ता प्रविधिका कारण यसको उत्पादकत्वमा खासै वृद्धि हुन नसकेको उनले बताए ।
कृषि विकास मन्त्रालयअन्तर्गतका विभाग, क्षेत्रीय तथा केन्द्रीय निर्देशनालयहरू, जिल्लास्थित कार्यालयहरूबाट प्राप्त साप्ताहिक वालीनाली स्थिति, बालीकटानी तथा महाशाखासमेत मन्त्रालयबाट गरिएको क्षेत्रगत निरीक्षण एवं प्राविधिक समितिको रायसुझावसमेतको आधारमा प्रारम्भिक अनुमान  गरिएको मन्त्रालयले जनाएको छ । गतवर्षदेखि विश्व खाद्य कार्यक्रम डब्लुएफपी तथा एफएओ नेपाल र कृषि विकास मन्त्रालयबीच विविध विषयका अतिरिक्त बालीनाली स्थितिसम्बन्धी सूचनाहरू परस्परमा आदान–प्रदान गर्ने सहमति भए अनुसार त्यहाँबाट प्राप्त सूचनासमेतलाई आधार प्रारम्भिक अननुमानित प्रतिवेदन तयार गरेको पाठकले बताए । आव ०६९/७० मा नेपालको कुल खाद्यान्न उत्पादन (धान, गहुँ, मकै, कोदो, जौ, फापर) अघिल्लो वर्षको तुलनामा करिब ७ लाख २० हजार मेट्रिकटन अर्थात करिब ८ प्रतिशतले घट्न गई गतवर्षको ९४ लाख ५८ हजार मेट्रिकटनबाट ८७ लाख ३८ हजार मेट्रिकटन हुने प्रारम्भिक अनुमान गरिएको छ । साथै यसवर्ष खाद्यान्न बालीले ढाकेको कुल क्षेत्रफलसमेत गतवर्षको तुलनामा करिब १ लाख ४० हजार हेक्टर घट्न गई ३३ लाख ४४ हजार हेक्टर पुग्न गएको अनुमान गरिएको छ ।
चालु आवमा धानको उत्पादन गतवर्षको तुलनामा करिब ११ प्रतिशत घटी करिब ४५ लाख ४ हजार मेट्रिकटन हुने प्रारम्भिक अनुमान गरिएको छ । धानको उत्पादन घट्नुको मुख्य कारण ढिलो तथा कमजोर मनसुन रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै मकै बालीको उत्पादन गतवर्षको तुलनामा करिब ८ प्रतिशतले घट्न गई १९ लाख ९९ हजार मेट्रिकटन उत्पादन हुने प्रारम्भिक अनुमान गरेको छ । कोदो बालीअन्तर्गत चालु आवमा दुई प्रतिशतले कमी आई ३ लाख ५ हजार मेट्रिकटन मात्र रहने प्रारम्भिक अनुमान छ । कोदोबालीमा उन्नत बीउ, मलजस्ता प्रविधिको प्रयोग गर्ने चलन कम भएका कारण यसको उत्पादकत्वमा खासै वृद्धि हुन नसकेको अनुमान गरिएको छ । गहुँ बालीको उत्पादन गतवर्षको तुलनामा मात्र २ प्रतिशतले वृद्धि भई १८ लाख ८२ हजार मेट्रिकटन हुने पूर्व अनुमान गरिएको छ ।
यसवर्ष समय समयमा हिउँदे वर्षा तथा हिमपातसमेत भएकाले उत्पादनमा वृद्धि भएको अनुमान छ । यसवर्ष अधिकांश पूर्वी तराईका जिल्लाहरूमा गहुँबालीको क्षेत्रफल घटेका कारण समग्र क्षेत्रफलमा समेत केही कमी देखिएको थियो । पश्चिम तथा पूर्वी तराईका केही जिल्लामा उत्पादन घटेको छ भने पहाडी तथा हिमाली अधिकांश जिल्लामा उत्पादन बढेको तथा केही जिल्लामा गतवर्षकै अवस्थामा रहेको पाइएको मन्त्रालयले जनाएको छ । त्यसैगरी फापरमा बाली देशका करिब ५० वटा जिल्लामा १० हजार ६ सय ८१ हेक्टर क्षेत्रफलमा खेती गरिएको छ भने उत्पादन १० हजार ५६ मेट्रिकटन तथा उत्पादकत्व ९ सय ४२ केजी प्रतिहेक्टर रहेको छ । जौ बालीको क्षेत्रफल यसवर्ष करिब ४ प्रतिशतले बढेको र उत्पादन करिब ६ प्रतिशतले बढ्ने पूर्व अनुमान छ । जौको उत्पादन बढनुमा मध्य तथा सुदूरपश्चिमी पहाडमा यसवर्षको राम्रो हिउँदे वर्षा तथा समय–समयको हिमपात कारणको रूपमा देखिएको जनाएको छ । जौको उत्पादन करिब ३७ हजार मेट्रिकटन मात्र रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया