पटक–पटक म्याद थप्दा पनि अधुरै

सुर्खेत, २७ वैशाख । २८ जनाको क्षमता भएको जिल्ला कारागार सुर्खेतमा हाल एक सय ३७ कैदी छन् । निर्माणाधीन भवन दुईपटक समय थप्दा पनि निर्माण सम्पन्न नहुँदा वर्षांैदेखि कोचाकोच गरेर बस्न बन्दीहरू बाध्य छन् । शान्ति तथा पुनर्निर्माण मन्त्रालयद्वारा सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयमार्फत निर्माणकार्य थालिएको कारागारको भवन दुईपटक म्याद थप्दा पनि अधुरै छ । दोस्रोपटक म्याद थपिएअनुसार गत असार मसान्तसम्म भवन निर्माण गरिसक्नुपर्ने थियो ।
सम्झौताअनुसार झुप्रा खोलामा गत भदौमा पक्की पुल निर्माण भइसक्नुपर्ने हो । साटाखानी र जर्बुटा गाउँ विकास समितिबीच पर्ने झुप्रा खोलामा पक्की पुल गत १६ जेठभित्र सम्पन्न गरिसक्ने सम्झौता भएको थियो । मध्यपश्चिमाञ्चल सडक डिभिजन कार्यालय नं. ४ ले सो पुल १६ जेठभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरेको थियो । तर, हालसम्म ५० प्रतिशत पनि काम सम्पन्न हुन सकेको छैन । सडक डिभिजन कार्यालयले ०६७ भदौ १८ गतेदेखि ०६९ जेठ १६ सम्म निर्माण गरिसक्नेगरी ठेक्का लिएको थियो ।
त्यस्तै, सोही सडकअन्तर्गत कल्याण र साटाखानी गाउँ विकास समितिको सिमामा पर्ने चिंगाड खोलामा निर्माण गर्नुपर्ने पक्की पुल समय बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन । सो पुल मध्यपश्चिमाञ्चल सडक डिभिजन कार्यालय सुर्खेतले गत १६ जेठसम्म निर्माण गरिसक्नुपर्ने सम्झौता भएको थियो । निर्माणकार्य सुरु भएको दुई वर्ष बितिसक्दा पनि खोलाको एक छेउमा पिलर निर्माण र अर्कोछेउमा जग निर्माणबाहेक अन्य काम हुन सकेको छैन ।
समयमै सम्पन्न हुन नसकेका विकास आयोजनाका केही उदाहरण मात्रै हुन्, यी । जिल्लामा सञ्चालित थुप्रै विकास निर्माणका आयोजना पटक–पटक समय थप्दा पनि सम्पन्न हुन सकेका छैनन् । सम्झौताअनुसार ठेकेदारले काम नगर्नु, सम्बन्धित निकायले अनुगमन नगर्नु, स्थानीय राजनीतिक दल तथा नागरिकले समेत बेवास्ता गर्नाले केठेदारले मनपरी गर्दै आएका छन् । यस्ता आयोजना समयमै सम्पन्न नहुँदा लागत बढ्ने गरेको छ ।
शान्ति तथा पुनर्निर्माण मन्त्रालयले द्व्रन्द्वकालमा क्षति भएका भौतिक संरचना पुनर्निर्माणको काम ठेकेदारहरूको लापरवाहीका कारण समयमै सम्पन्न हुन नसकेको स्थानीय शान्ति समिति सुर्खेतका संयोजक मोहन थापाले बताए । उनका अनुसार पुनर्निर्माण सुरु गरिएका जिल्लाका थुप्रै आयोजना सम्पन्न भएका छैनन् । निर्माण सम्पन्न भएका केही आयोजना समयमै हस्तान्तरण हुन सकेका छैनन् ।
समयमै काम सम्पन्न नगर्ने ठेकेदारलाई हटाई नयाँलाई जिम्मा दिनु वा कारबाही गर्नुको सट्टा आयोजना सम्पन्न नहुँदै पूरै रकम भुक्तानी गर्ने र पटक–पटक म्याद थप्नाले विकास निर्माणमा ढिलाइ हुनुका साथै व्ययभारसमेत बढ्ने गरेको स्थानीयवासी बताउँछन् । शान्ति मन्त्रालयले निर्माणकार्य अघि बढाएका आयोजना मात्र होइन, जिल्लाका अन्य ठूला योजना पनि वर्षौदेखि सम्पन्न हुन सकेका छैनन् ।
चौकुनै सिमेन्ट उद्योग सञ्चालनका लागि ०६५ सालमा सुमार्गी निर्माण कम्पनीलाई ठेक्का दिइएको थियो । हालसम्म सञ्चालनमा आइसक्नुपर्ने सो उद्योग सुरु अझै भएको छैन । उद्योग सञ्चालनसम्बन्धी विषय अहिलेसम्म प्रतिनिधिमण्डलका भेटघाट र मागपत्रमा सीमित छन् । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालनिकट मानिने सुमार्गीले प्रचण्डकै आडमा उद्योग निर्माणमा ढिलाइ गरेको आरोप लाग्दै आएको छ । यस्तै, छिन्चु–जाजरकोट सडक, सोही सडकखण्डस्थित राकमको भेरी नदीमा पर्ने पक्की पुल, सुर्खेत–जुम्ला सडकलगायत ठूला आयोजना पनि समयमै सम्पन्न हुन सकेका छैनन् ।

प्रतिक्रिया