आइसिसी क्रिकेट “थ्री”अन्तर्गत नेपाल अमेरिकासँग ९४ रनले पराजित

cकाठमाडौं, १७ वैशाख । उच्च मनोबलका साथ आइसिसी वल्र्ड क्रिकेट लिग डिभिजन ‘थ्री’ खेल्न बर्मुडा पुगेको नेपाली टोलीले पराजयबाट आफ्नो अभियान थालनी गरेको छ । आइतबार नेपाली समयनुसार राति बर्मुडाको समरसेट क्रिकेट क्लब ग्राउन्डमा भएको खेलमा नेपाल अमेरिकासँग ९४ रनको विशाल अन्तरले पराजित भएको हो । अमेरिकाको जितमा बायाँ हाते ओपनर स्टिभन टेलरले बनाएको १६२ रनको इनिङ नै निर्णायक साबित भयो ।

प्रतियोगिताका लागि ‘फेभरिट’ टोलीका रूपमा हेरिएको नेपालले टस जितेपछि कप्तान पारस खड्काले अमेरिकालाई पहिले ब्याटिङको निम्तो दिएका थिए । अमेरिकाले ५० ओभर पूरा खेलेर ६ विकेटको क्षतिमा ३६६ रनको विशाल योगफल खडा गरेको थियो । नेपाली बलिङको कमजोरीको फाइदा उठाउँदै म्यान अफ दी म्याच टेलरले सन्जम रेग्मीको बलमा क्याच आउट हुनुअघि १०२ बल खेल्दै १२ छक्का र त्यत्ति नै चौका प्रहार गर्दै आफ्नो शतकीय इनिङ पूरा गरेका थिए । उनले पहिलो विकेटका लागि ओर्लान्डो बाकर(३७ रन) सित मिलेर १२५ रनको साझेदारी गरेका थिए । अमेरिकी इनिङमा टेलरबाहेक टिमोरी एलनले नटआउट ६७ रन बनाए ।
जितका लागि प्रतिओभर ७.३२ रनको औसतले ३६७ रनको लक्ष्य पाएको नेपाल कुनै पनि बेला त्यसको आसपासमा पनि देखिएन । सम्पूर्ण टिम २७२ रनमा अलआउट भयो । टिमस्कोर केवल ५ छदा ओपनर अनिल मण्डल निजी स्कोर ० मै बोल्ड हुँदै पेभेलियन फर्किए । अर्का ओपनर सुवास खकुरेल २३ रन बनाएर दोस्रो विकेटका रूपमा टिमस्कोर २९ हुँदा क्याचआउट भए । ज्ञानेन्द्र मल्ल ९ रनमा रनआउट भए । पारस, शरद भेषवाकर र शक्ति गौचनले स्कोरलाई सम्मानजनक अवस्थासम्म पुर्‍याउन निकै प्रयास गरे । भेषवाकरले ६ छक्का र ४ चौकासमेत प्रहार गरेका थिए । तर, पारस ७३, भेषवाकर ७२ र गौचन ३९ रन बनाएर आउट भएपछि नेपालका सबै सम्भावना समाप्त भए ।
प्रदीप ऐरी १४ रन, विनादे भण्डारी ४, वसन्त रेग्मी ७, सन्जम रेग्मी १४ रनमा आउट भए । अमृत भट्टराई ० मा नटआउट रहे भने नेपालले ४९.५ ओभरमा अलआउट हुँदा १० वाइडसहित कुल १७ अतिरिक्त रन पाएको थियो ।
अमेरिकाले आठजना बलर प्रयोग गरेको थियो जसमध्ये एनसी म्याग्रेलले ३, इएच हचिन्सन र मुहम्मद गौसले २–२ तथा बीएस बार्ट्लेले १ विकेट लिए । त्यसअघि अमेरिकी ब्याट्सम्यानले नेपाली बलरलाई खुलेर मैदानको चारैतिर प्रहार गरे । एलन र म्याग्रेलले सातौं विकेटका लागि ९३ रनको नटआउट सोझेदारी गरेका थिए । एक विकेट लिन सफल रहेका शक्ति गौचन सबैभन्दा महँगो साबित भए जसले ९ ओभरमा ८१ रन खर्चिए । सबैभन्दा किफायती बलिङ वसन्त रेग्मीले गर्दै १० ओभर ४६ रनमात्र दिएर २ विकेट लिए । अमृत र सन्जमले पनि १–१ विकेट हात पारे । अमेरिकाले १ नोबल र ६ वाइडसहित २१ रन अतिरिक्त पाएको थियो ।
यसअघि दुई टोलीबीच भएका आठ खेलमध्ये नेपालले ४ मा जित, २ हार र २ बराबरी खेलेको थियो । सोमबार नेपालले युगान्डाविरुद्ध खेल्दै छ । आइतबार नै भएको अर्को खेलमा युगान्डाले बर्मुडालाई ११४ रनले पराजित गरेको थियो । त्यसैगरी ओमानले इटालीलाई १२५ बल बाँकी छदै ७ विकेटले पराजित गरेको थियो ।
(एजेन्सीको सहयोगमा)

प्रतिक्रिया