काठमाडौंँ । सरकारले उसुका खेलाडी विजय सिञ्जालीलाई ६५ लाख रुपैयाँको पुरस्कारसहित सम्मान गरेको छ । उसुको थाउलो विश्वकपमा नेपालका लागि कास्य पदक जित्न सफल विजयलाई सरकारले ६५ लाख रुपैयाँ पुरस्कार प्रदान गरेको हो । प्रधानमन्त्री केपी शर्माले ओलीले बुधबार एक कार्यक्रमका बीच विजयलाई नगद पुरस्कारसहित सम्मान गरे ।
सरकारले खेलकुद पुरस्कार तथा सम्मान कार्यविधि बनाएरै अन्तर्राष्ट्रिय एरिनामा पदक जित्ने खेलाडीलाई नगद पुरस्कार दिने व्यवस्था गरेको छ । सोही व्यवस्थाअनुसार विजयले पुरस्कार रकम प्राप्त गरेका हुन् । गत वर्ष जापानमा भएको विश्वकपमा थाउलोको चेनसु विधामा विजयले कास्य पदक जितेका थिए । उनले ९ दशमलव ६३६ अंक जोड्दै नेपालका लागि ऐतिहासिक कास्य पदक जित्न सफल भए ।
उनको विधामा प्रतिस्पर्धा गरेका मलेसिया र जापानका खेलाडीले क्रमशः स्वर्ण र रजत पदक जित्न सफल भएका थिए । सन् २०१९ मा नेपालमा भएको साग गेम्समा स्वर्ण पदक जितेका विजय विभागीय टिम आर्मीका खेलाडी हुन् ।
२० देखि २५ फागुनसम्म इरानमा भएको छैटौँ एसियन महिला कबड्डी च्याम्पियन कास्य पदक विजेता खेलाडीहरूलाई जनही १ लाख ५० हजार रुपैयाँसहित सम्मान गरिएको छ । २० देखि २६ असोजसम्म श्रीलंका भलिबल संघको आयोजनामा श्रीलंकामा भएको काभा यु–२० पुरुष भलिबल च्याम्पियनसिपमा रजत पदक विजेता खेलाडीहरूलाई जनही ३ लाख रुपैयाँले सम्मानित गरिएको छ । उनीहरूलाई राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ को व्यवस्था बमोजिम ९ असारको मन्त्रिपरिषद्को बैठकको निर्णयबाट सम्मान तथा नगद पुरस्कार दिइएको हो ।
८ देखि २१ असारसम्म मलेसियामा भएको एसिसी यु–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा सिंगापुरलाई हराएर उपाधि जित्न सफल विपिनप्रसाद शर्मासहितको टोलीलाई प्रधानमन्त्री ओलीले बधाई तथा स्वागत गरेका थिए ।
प्रतिक्रिया