काठमाडौँ । उज्वेकिस्तानमा आयोजित एएफसी महिला एसियाली कप छनोटमा आएको विविध विवादको विषयमा नेपालसँग सरोकारवाला निकायले आफ्नो धारणा सार्वजनिक गरेका छन् । बुधबार प्राविधिक निर्देशक हरि खड्का, सहायक प्रशिक्षक राजेन्द्र तामाङ, एसियन कप छनोट प्रतियोगितामा नेपाली टोलीकी नेतृत्व गरेकी सरिला श्रेष्ठ, टिम व्यवस्थापक विन्द्रा देवान र सहायक प्रशिक्षक भगवती थापा, गोलरक्षक प्रशिक्षक सुरज कुमारले धारणा सार्वजनिक गरे ।
पत्रकार सम्मेलनमा एन्फा कार्यकारी समिति सदस्य सरिला श्रेष्ठले प्रशिक्षक प्याट्रिक डे वाइल्डले कप्तानको नाम नदिएका कारण आफूहरूले कप्तानको नाम पठाउनुपरेको बताइन् । व्यवस्थाप विन्द्राले आफूले धेरैपटक सोधे पनि उत्तर नदिएको र ९० मिनेटभित्र नामावली दिनुपर्ने र कप्तानको नाम इंगित नगरेसम्म पूर्व कप्तान एन्जिलाको नाम प्लेइङ ११ मा नभएको कारण सिनियारिटीको अधारमा रेनुका नगरकोटीको नाम राखेको बताइन् ।
पत्रकार सम्मेलनमा बोल्दै सरिलाले नेपाली टोलीको व्यवस्थापकीय कमजोरी भएको नबताउँदै हेड अफ डेलिगेट तथा अन्य सुविधामा अपुग नभएको प्रस्ट पारिन् । आइस उपलब्ध नगराएको भन्ने आरोप नै झुटो भएको पनि व्यवस्थापक देवानले बताइन् । प्रशिक्षकको भनाइलाई आधार मान्दै अफिसियल दिनभन्दा २ दिनअघि उज्बेकिस्तान नेपाली टोली पुगे पनि प्रशिक्षकले सही ढंगले त्यसको उपयोग नगरेको बताइएको छ । गोलरक्षक प्रशिक्षक तामाङले पनि मुख्य प्रशिक्षक प्याड्रिड डी वाइल्डीको मुड स्विङ हुने समस्या रहेको बताए ।
प्राविधिक निर्देशक खड्काले टोलीको कप्तान छान्ने जिम्मेवारी प्रशिक्षकको हुने बताएका छन् । ‘भिडियो देखाउँदा पनि त्यसमा कप्तान को हो भनेर लेखिएको थिएन, हामीले मैदानमा जानेबेला पनि सोध्यौँ तर उहाँले भन्नुभएन, त्यसपछि हामीले सिनियर खेलाडी रेनुका नगरकोटी देखेर उहाँलाई कप्तान राखेर टिम लिस्ट एएफसीलाई पठायौँ’, सरिलाले भनिन् ।
खेल सुरु हुनुअघि रेनुकालाई आर्मब्यान्ड लगाउन खोज्दा प्रशिक्षकले बल रोकेर साम्बा कप्तान भएको बताएको आरोप श्रेष्ठको छ । ‘सावित्रालाई कप्तान बनाउँदा आफूहरूलाई कुनै आपत्तिको विषय थिएन, नेपालमै हुँदा भनेको भए पनि समस्या थिएन, प्रशिक्षकले किन यस्तो गर्नुभयो थाहा भएन ।’ ‘त्यसपछि टिम लिस्टमा अर्कै कप्तान भएपछि कारबाही हुन्छ कि भनेर प्रश्न गर्दा उहाँ आफैँ चर्किन थाल्नुभयो, म्याच कमिसनरले पनि यस विषयमा प्रश्न उठाएपछि उहाँले कसैको पनि कुरा सुन्नुभएन’ उनले अगाडि भनिन् । म्याच कमिसनरले धेरैपटक प्रश्न उठाउँदा पनि प्रशिक्षक वाइल्डले वास्ता नगरेको श्रेष्ठले बताइन् ।
प्रतिक्रिया