प्रजनन् उमेरका महिलालाई वैदेशिक रोजगारीमा जान निरुत्साहित गर्ने राज्यको अघोषित नीति छ । राज्यको यो अघोषित नीतिलाई अन्यथा लिन मिल्दैन । तर महिलालाई स्वदेशमै रोजगारीको सुनिश्चित गरियो भने अबैध रूपमा महिला बिदेसिने समस्या समाधान हुन्छ । यसका लागि महिलालाई उद्यमशील बनाउनु पर्छ ।
युवा नयाँ प्रविधि प्रयोग गर्न रुचाउँछन् । छिटो छरितो सेवा चाहन्छन् । घरमै बसीबसी सबै खाले वित्तीय सेवा चाहन्छन् । यो सुविधा दिन अब सबै सहकारी तयार हुनुपर्छ । भविष्यमा सहकारी धान्ने जनशक्ति भनेका आजका युवा नै हुन् । आज सहकारीमा युवाको आकर्षण बढाउन सकिएन भने सहकारीको भविष्य सुनिश्चित छैन । निश्चित अवधिपछि सहकारीको अस्तित्व समाप्त हुन्छ । त्यस हिसाबले पनि आज देशभरका सहकारीले युवा सदस्यहरूलाई सहकारीमा आबद्ध गराउन युवा लक्षित कार्यक्रम, शिक्षा, तालिम साथै प्रविधि प्रयोगलाई विस्तार गर्नुपर्ने अनिवार्य भएको छ ।
नयाँ प्रविधिसँग युवा उमेरसमूहका सदस्यहरूले सहजै खेल्नसक्ने भएकोले पनि सहकारीमा युवा सदस्यको सहभागिता बढ्न सहयोग पुग्छ । युवाहरूलाई व्यावसायिक तालिम दिएर स्वरोजगार बन्न अभिप्रेरित गर्ने काम सहकारीले गर्न सक्छ ।
हाल नेपालको करिब २ करोड ९२ लाख नागरिकमध्ये करिब २० दशमलव ८ प्रतिशत १६ देखि २५ वर्ष उमेर समूहका छन् भने ४० दशमलव ६८ प्रतिशत जनसंख्या १६ देखि ४० वर्ष उमेर समूहका छन् । युवा कुनै पनि देशको ठुलो सम्पत्ति हो भन्ने कुरा सर्वविदितै छ । राष्ट्रनिर्माण तथा सामाजिक सुधारमा युवाहरूको भूमिका धेरै महत्वपूर्ण छ । युवा जनसंख्याको अधिकांश हिस्सा खाडी र मलेसियामा सस्तोमा श्रम बेच्न वाध्य छन् । जसमध्ये ९० प्रतिशत पुरुष युवा छन् । स्वदेशमा रहेका युवामध्ये करिव ७० प्रतिशत महिला युवा छन् ।
नेपालमा हाल प्रत्येक वर्ष करिब ५ लाख श्रमशक्ति रोजगारीका लागि बिदेसिँदै आएका छन् । वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकहरू पनि अधिकांश पुरुष नै छन् । प्रजनन् उमेरका महिलालाई वैदेशिक रोजगारीमा जान निरुत्साहित गर्ने राज्यको अघोषित नीति छ । राज्यको यो अघोषित नीतिलाई अन्यथा लिन मिल्दैन । तर महिलालाई स्वदेशमै रोजगारीको सुनिश्चित गरियो भने अबैध रूपमा महिला बिदेसिने समस्या समाधान हुन्छ । यसका लागि महिलालाई उद्यमशील बनाउनु पर्छ । उद्यमशील बनाउन सकियो भने उत्पादन तथा रोजगारी वृद्धि गर्न सकिन्छ ।
उद्यमशीलता विकासका लागि पहिलो कुरा समाजलाई उद्यमशीलतातर्फ उत्प्रेरित गर्नुपर्छ । त्यसपछि राज्य र सहकारी क्षेत्र स्वयंले लगानी र आवश्यक तालिम तथा प्रविधिको व्यवस्था गर्नुपर्छ । राज्यको मुख्य काम उद्यमशीलताका लागि नीतिगत, कानुनी, पुँजी, प्रविधि, शिक्षा तालिम र नवपवर्तनमा सहजीकरण गर्नु हो । राज्यका ३ वटा खम्बामध्ये यो काम सबैभन्दा प्रभावकारी रूपमा सम्पन्न गर्ने भनेको सहकारीले नै हो । अन्य २ खम्बामध्ये निजी क्षेत्रले त गर्दै गर्दैन । सरकारी क्षेत्रले पनि सहकारीले जस्तो प्रभावकारी रूपमा महिलालाई उद्यमशील बनाउन सक्दैन ।
युवाहरूसँग आफ्नो मात्र होइन, समुदाय र विश्वलाई नै परिवर्तन गर्ने रचनात्मकता, क्षमता हुन्छ । विश्व युवा विकास सूचकमा नेपाल १४५औँ स्थानमा छ । दक्षिण एसियाली देशहरूमा पनि नेपालको युवा सूचक कमजोर छ । नेपालको बेरोजगार युवाशक्ति आर्थिक उत्पादन र सीपसँग जोडिएको छैन । युवाहरूलाई स्वदेशमै उद्यमशीलता विकासतर्पm आकर्षित गर्न आवश्यक ज्ञान, सीप र धारणा दिनुपर्ने आवश्यकता छ । सामान्य घरायसी खर्च जुटाउन विदेशमा सस्तोमा श्रम बेच्न वाध्य त्यस्ता युवाहरूलाई सहकारी अभियानमा आवद्व गराउनु पर्छ ।
उद्यमशिलतालाई ३ भागमा बाँडेर हेर्नुपर्छ । उद्यमी, उद्यम र उद्यमशीलता । उद्यमी भनेको व्यक्ति हो जसमा उद्यमशीलताको जोश हुन्छ । उद्यम भनेको त्यो जोश कार्यान्वयन गर्ने अभियान हो र उद्यमशीलता भनेको त्यो अभियान संस्थागत गर्ने प्रक्रिया हो । उद्यमी व्यक्ति जसलाई अवसर चाहिन्छ । त्यो अवसरले उसलाई त्यो सोच र जोश दिन्छ । अवसर ३ अवस्थाका हुन्छन् । शिक्षाको अवसर, लगानी वा स्रोतसाधनको अवसर र बजार पहुँचमा पुग्ने अवसर । जागिर खोज्ने शिक्षा दिएर उद्यमी जन्मदैन ।
एउटा निश्चित परिधिभन्दा बाहिर सोच्ने, समस्यामा नअल्झिने तर समाधानको बहस गर्ने शिक्षा चाहिन्छ । गुनासो गर्ने तर उपाय नखोज्ने, बहस गर्ने तर मन्थन नगर्ने, त्यस्तै अनि जागिर खोज्ने र जोखिम नलिने । उद्यमशीलताका लागि लगानीमा पनि हामीले केही सुधार गर्नु आवश्यक छ । सफल उद्यमीलाई फकाइ–फकाइ पैसा दिने बैंकले उद्यम सुरु गर्न खोल्नेलाई पैसा दिँदैनन् । बैंकले पनि सानो तर नवीनतम उपाय पत्याउँदैनन् । त्यसमा पनि महिलालाई त पत्याउँदै पत्याँउदैनन् । त्यसैले सहकारीको आवश्यकता परेको हो ।
उद्यम भनेको उत्पादन मात्रै होइन बजार पनि हो । उत्पादनलाई खपत गर्नका लागि हाम्रो देशमा सहज अवस्था छैन । सहकारीमार्फत सहज अवस्था सिर्जना गर्न सकिन्छ । उद्यमका लागि अवसर चाहिन्छ । अवसरले उद्यमीलाई त्यो सोच र जोश दिन्छ । सहकारी भनेको अवसर हो ।
सीप, स्रोत र अवसर खोजिदिने सहजकर्ताको भूमिका सहकारीले निर्वाह गर्न सक्छ । जस्तै, घरमा हामी तरकारी बनाउँछौँ, बनाउने सीप चाहिन्छ, स्रोत चाहिन्छ । खानका लागि घरपरिवारका सदस्य हुन्छन् । हाम्रो घरका व्यक्तिलाई हामीले कहिल्यै मलाई १० रुपैयाँ बराबरको अचार थपिदिनु त भन्दैनौँ किनकी त्यहाँ सीप छ, स्रोत पनि लागेको छ तर त्यो बजार होइन । तर, त्यस्तै तरकारी हामीले पसल, ठेला वा होटलमा भए, भात बाँकी छ एक बटुको मासु थपौँ न भन्दा सित्तैमा नपाइएला, किनकी त्यो बजार हो । बजारमा सीप, स्रोत साथसाथै आर्थिक मूल्य पनि हुन्छ । सहकारीले उत्पदान र बजारलाई जोड्ने काम गर्छ ।
प्रतिक्रिया