नेपाली समाजको पछौटेपनको अन्त्यका लागि अनेकौँ संघर्षका ज्वारभाटा पैदा भएका छन् । संघर्षको नेतृत्व व्यक्तिगत वा सामूहिक अर्थात् संगठित एवं असंगठित शक्तिहरूले गर्दै आएको इतिहास छ । समयको गतिअनुसार संघर्षका रूपहरू पनि पटकपटक फेरिएका छन् । समाज विकाससँगै समाजको चालक शक्तिको रूपमा राजनीतिक दल आफ्नो भूमिका र कर्तव्य निर्वाहमा अग्रसर देखिन्छन् । तथापि नेपाल र नेपाली जनताको सभ्य, समुन्नत समाज निर्माण गर्ने उद्देश्य र सपनाले मूर्तरूप लिन सकेको छैन । यसमा समाजको अगुवा अनि चालक शक्ति दावी गर्ने राजनीतिक दलका नेताहरूको अयोग्यता नै जिम्मेवार रहेको छ । अझ भन्नुपर्दा हाम्रा राजनीतिक दलहरूले अवलम्बन गरेको राजनीतिक आर्दश, सिद्धान्त, नीति र कार्यक्रम समाज अनुकूल नभएर वा लागू गर्ने आँट र साहस भएका नेता कार्यकर्ताको पंक्ति कमजोर भएर हाम्रो समाज अभाव र गरिबीमा मात्र रुमल्लिन अभिशप्त छ । कुनै पनि राजनीतिक दलले समाजको परिवर्तन र जनताको मुक्तिका लागि सफलता हासिल गर्न सक्छ कि सक्दैन भन्ने कुरा मुलत: उसले अपनाएको सिद्धान्तमा निर्भर रहन्छ । सही सिद्धान्तले नै समाजलाई सही बाटोमार्फत अगाडि बढ्न मार्गदर्शन गर्छ । सिद्धान्त सही भएर मात्र पुग्दैन सोहीअनुसारको व्यवहारमा कार्यान्वयन गर्न जरुरी छ । असल र उत्कृष्ट सिद्धान्त व्यवहारबाटै जन्मिन्छ, व्यवहारकै क्रममा विकसित हुन्छ, व्यवहारकै कसीमा परिमार्जित र समृद्ध हँुदै जान्छ । सिद्धान्त र व्यवहारको बीचको असमानताले नै नेपाली समाजको अग्रगतिमा रोक लागेको अवस्था देखिन्छ । तर, पनि सामाजिक रूपान्तरणको लागि अर्थात् समृद्ध र सभ्य समाज निर्माणका खातिर लाखौँलाख युवाहरू निरन्तर प्रयत्नशील छन् । ०४६ सालभन्दा अगाडिको समाजको अवस्था र ०४६ पछि ०६२/६३ सम्मको कालखण्डमा युवापुस्ताको ऊर्जाशील समय समृद्ध र सभ्य समाज निर्माण गर्ने सुन्दर सपना, अटूट विश्वास र उत्कृष्ट अभिलाषाको वरिपरि निरन्तर क्रियाशील देखिन्छ । तर, पनि समाजको गति ठीक ढंगले अगाडि बढेको देखिँदैन । पुन: ०६२/६३ पछिको महान् जनशक्तिले ल्याएको रक्तसंचारले समाजमा साँच्चै परिवर्तन ल्याउने तागत थियो । जोस, जाँगर, उच्च इच्छा शक्तिले भरिपूर्ण भएर सिंगो देश परिवर्तनको लागि तम्तयार थियो । छोटो समयमा नै नेपाल र नेपालीले निराशा र कुण्ठाको अवस्थाबाट मुक्त हुँदै आशा, विश्वास र स्वाभिमानी समाज निर्माणमा विश्वास गरेका थिए । तर, सदियाँैदेखिको अन्याय, अत्याचार, भोक, रोग, गरिबी र असमानताको अन्त्यको प्रतिक्षारत समाज पुन: निराशा र कुण्ठामा जिउन विवस छ, किन ?
उल्लिखित प्रश्न सिर्जित हुनुमा समाजका विविध पक्षहरू जिम्मेवार हुन सक्छन् । सबै पक्षको आत्मगत र वस्तुगत परिपक्वता एवं नेपाली समाजको चरित्र नै धेरथोर जिम्मेवार हुन सक्ला । तर, मूलरूपमा राजनीतिक दल र नेताहरूप्रति नै औँला ठड्याउनु आवश्यक छ । किनकि सामाजिक अभियन्ता, सचेत र अग्रदत्ताको रूपमा राजनीतिक दलहरू नै समाजको मूल चालक शक्ति हो । राजनीति नै सबै नीतिको जननी हो र राजनीतिलाई ठीक ढंगले अंगाल्न र परिचालन गर्न नसक्दा हरेक समाजको नियति यस्तै नै हुनेगर्छ । तसर्थ, सभ्य, समृद्ध समाज निर्माणका लागि राजनीतिलाई सेवानीतिको रूपमा स्थापित गर्न सक्नुपर्छ । साथै कुण्ठा र निराशालाई परास्त गर्नका लागि राजनीतिलाई अगुवाइ र नेतृत्व गर्ने राजनीतिक दलहरूप्रति सचेत नागरिकले प्रश्न बर्साउने, ठीक ट्याकमा हिँडाउन उचित सल्लाह, सुझाव र हस्तक्षेपको समेत अपरिहार्यता देखिन्छ । दलबाहिर रहेका सचेत नागरिकले दिने सुझाव, सल्लाह र सहानुभूतिलाई ठीक ढंगले ग्रहण गर्ने, आलोचनालाई सभ्य र तथ्यसँग सामिप्य बनाउने र सामाजिक परिवर्तनका लागि सहयोगी र विशेष शक्तिको रूपमा लिने संस्कारको विकास गर्नु अपरिहार्य छ । तर, दलबाहिरको पंक्तिको सहानुभूति र शुभेच्छाको तुलनामा दलसँगै आबद्धशक्ति वा निश्चित नेता, कार्यकर्ता र समर्थकको पंक्ति सचेत र संगठित हुन आवश्यक छ । तब मात्र राजनीतिक दलहरू वास्तवमै समाज परिवर्तनको वास्तविक नेता बन्न सक्नेछन् । हामीले देख्दै र भोग्दै आएका छौँ कि राजनीतिक दलहरू ध्वंसका बाहकको रूपमा मात्र चित्रित हुँदै छन् । सामाजिक सुधारका अभियन्ताभन्दा बढी अरू केही प्रतिकको रूपमा जनताको नजरमा रहेको स्थिति छ । तसर्थ, दलका नेता कार्यकर्तामा देखिएको असमानता, सामाजिक गैरजिम्मेवारीपन, दलभित्र ०४६ सालअगाडि स्थापित नेता, कार्यकर्ता, शुभेच्छुक र समर्थकको बोलीचाली, काम गर्ने शैली, सोच्ने र संगठन निर्माण, परिचालन गर्ने तौरतरिका एवं सिकाइ र भोगाई अनि ०४६ देखि ०६३ सम्मका कार्यकर्ताबीचको उल्लेखित तौरतरिकामा व्यापक असमानता विद्यमान देख्न सकिन्छ ।
हरेक पार्टीमा तीन तहका नेता कार्यकर्ताको उपस्थिति र काम गर्ने, सोच्ने शैलीको फरकपनले गर्दा समाजको अन्तरद्वन्दलाई ठीक ढंगले हल गर्न समस्या देखिएको छ । राजनीतिक दलभित्र हुर्किएका गलत संस्कृति, धन, बाहुबल र जसको लाठ्ठी उसको भैँसी भन्ने प्रवृत्ति हावी हुँदै जानु दु:खद अवस्था हो । हरेक पार्टीभित्र ०६२/६३ को जनआन्दोलनपछिका नव–आगन्तुक र नवठालु समूहको उदयले सिंगो आर्दश, त्याग, तपस्या र बलिदान ओझेलमा पर्दै गएको देखिन्छ । जब राजनीतिक दलहरूको मूलमर्म, त्याग, तपस्या र बलिदान नै गलत प्रवृत्तिको सिकार बन्न पुग्छ अनि कसरी समाज परिवर्तनको लक्ष्य साकार हुन सक्छ ? दलका नेता, कार्यकर्ता र सदस्यहरूको मुख्य काम समाजका हर क्षेत्रमा रूपान्तरण गर्नका लागि आफँै पनि सक्रियतासाथ अघि बढ्ने र व्यापक जनतालाई सभ्य र समृद्ध समाज निर्माणका लागि संगठित र परिचालित गर्नु हो । निश्चित सिद्धान्त, नीति, निर्णय र अनुशासनमा प्रतिवद्ध नेता, कार्यकर्ता र समर्थक सदस्यहरूको संगठित शक्ति नै पार्टी हो र सो पंक्ति वास्तवमै व्यापक जनताको मनमस्तिष्कमा हुनु अनिवार्य छ । तब मात्र ‘पार्टीहरूको लक्ष्य र उद्देश्य देश र जनताको सेवा गर्नु हो’ भन्ने तथ्य व्यवहारमा स्थापित गर्न सकिन्छ । वर्तमान अवस्थासम्म आइपुग्दा अधिकांश राजनीतिक दलका नेता र कार्यकर्ताको व्यक्तिगत स्वार्थ पूरा गर्ने साधन, पार्टी र राज्यको शक्तिलाई हतियार बनाएर सीमित स्वार्थ समूहको हित रक्षा गर्ने माध्यमको रूपमा विकसित हुँदै छ ।
उल्लिखित प्रवृत्तिको अन्त्यका लागि सिद्धान्तलाई पार्टीका दस्तावेजहरूमा उल्लेख गरेर मात्र आफैँ समृद्ध र सभ्य समाज निर्माण हुन सक्दैन । सिद्धान्त सजाउने बस्तु होइन यो जीवनमा लागू गर्ने विषय भएको हुनाले जनताका बीचमा लानै पर्छ । सही सिद्धान्त, नीति र विचार आफँै जनताको बीचमा पुग्दैन । पार्टीका नेता, कार्यकर्ता र सदस्यहरू नै महत्त्वपूर्ण माध्यम र साधन हुन । पार्टी पंक्तिले विचारलाई जति छिटो जनताका बीचमा पुर्याउन सक्छन त्यति नै छिटो समृद्ध र सभ्य समाज निर्माणको प्रक्रिया पनि अघि बढ्छ । आमजनताले परिवर्तनको अनुभूति गर्न सक्ने गरी समाजमा विद्यमान विभिन्न खाले शोषण, दमन, उत्पीडन, अन्याय र अत्याचारको अन्त्यका लागि सदा तत्पर रहने, प्रतिस्पर्धामा श्रेष्ठता हासिल गर्न वैध र पारदर्शी श्रोत साधनको उपयोग गर्ने, पारदर्शी जीवनशैली अपनाउने पार्टी पंक्तिले नै वर्तमानको अभिभारा वहन गर्न सक्षम हुनेछ । तब मात्र वर्तमानको निराशा, कुण्ठा आशा र विश्वासमा परिणत गर्न सकिनेछ । राजनीतिक दलहरूप्रतिको वर्तमान धारणामा परिवर्तन आउनेछ र सभ्य र समृद्ध समाजको जग बसाल्न सकिनेछ ।
प्रतिक्रिया