काभ्रे । मनसुनजन्य प्राकृतिक विपद्को जोखिमलाई ध्यानमा राख्दै काभ्रे, सिन्धुली र रामेछाप जिल्लाका सुरक्षा समितिहरूको निर्णय अनुसार बीपी राजमार्गमा रात्रीकालीन सवारी सञ्चालन पूर्णरूपमा बन्द गरिने भएको छ ।
गृह मन्त्रालयको समन्वयमा शुक्रबार बसेको अन्तर जिल्ला समन्वयको बैठकले यस्तो निर्णय लिएको हो । सो निर्णय अनुसार आज असार ७ गते शनिबार साँझ ६ः३० बजेदेखि बिहान ५ः०० बजेसम्म बीपी राजमार्ग हुँदै सञ्चालन हुने सबै यात्रुबाहक निजी तथा सार्वजनिक सवारी साधनहरु सञ्चालनमा रोक लगाइएको छ ।
यो नियम १५ दिनसम्म लागू हुनेछ । मनसुनको जोखिमबाट नागरिकको सुरक्षा पहिलो प्राथमिकता दिन यस्तो निर्णय गरिएको बताइएको छ । यो असार २१ गते सम्म राजमार्ग बन्द रहने निर्णय गरिएको बताइएको छ ।
काभ्रेपलाञ्चोक, सिन्धुली र रामेछापका सुरक्षा प्रमुखहरूको उपस्थितिमा भएको निर्णयमा उल्लेख छ कि हालसालैको लगातारको वर्षाले पहिरो, सडक अवरोध र दुर्घटनाको सम्भावना बढेकाले सावधानीस्वरूप सवारी सञ्चालनमा रोक लगाइएको हो ।
विशेषतः बीपी राजमार्गको अत्यन्त संवेदनशील भू–भागहरूमा रातको समयमा दुर्घटना बढ्ने जोखिम उच्च देखिएको भन्दै जनजीवनको सुरक्षा र आपत्कालीन जोखिम न्यूनीकरण गर्न यस्तो व्यवस्था गरिएको बताइएको छ ।
सवारी साधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह
प्रहरीले सवारी साधन चालक, यात्रु, यातायात व्यवसायी र स्थानीय प्रशासनलाई उक्त निर्णयको पालना गर्न र आवश्यक परेको खण्डमा वैकल्पिक मार्गहरू प्रयोग गर्न आग्रह गरेको छ ।
यस अवधिमा अत्यावश्यक सेवा बाहेकका सबै सवारीलाई रातिको समयमा बीपी राजमार्ग प्रयोग नगर्न निर्देशन दिइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी मिनबहादुर घलेले जानकारी दिए ।
प्रतिक्रिया