काठमाडौं । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी आन्दोलनको हिंसात्मक घटना प्रकरणमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई ३ लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।
आज मंगलबार काठमाडौं जिल्ला अदालत काठमाडौंका न्यायाधीश तारादेवी महर्जनको एकल इजलासले मिश्रलाई ३ लाख धरौटीमा छाड्न आदेश दिएको सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए ।
उनी अज मंगलबार नै बिहान काठमाडौं जिल्ला अदालतमा हाजिर भएका थिए । चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनपछि जेठ ११ गते सरकारी वकिलको कार्यालय काठमाडौंले मिश्रसहित ६१ जनाविरूद्ध राज्यविरूद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराध कसुरमा मुद्दा दायर भएको थियो ।
त्यसमध्ये ११ जनाविरूद्ध आपराधिक उपद्रव र बाँकी ५० जनाविरूद्ध राज्यविरूद्धको कसुरमा मुद्दा दायर भएको थियो । ५० जनामध्ये ३९ जना मात्रै अदालतमा उपस्थित भएका थिए ।
मिश्र नवराज सुवेदी संयोजक रहेको ‘संयुक्त जनआन्दोलन समिति’ मा सदस्य सचिवसमेत थिए । उनलाई प्रहरीले चैत १५ गते घटनापछि त्यही साँझ पक्राउ गरी हिरासतमा राखेको थियो ।
त्यसविरूद्ध उनकी श्रीमतीले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । जेठ २ गते सर्वोच्चका न्यायाधीशहरू कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको इजलासले हाजिर जमानीमा छाड्न आदेश दिएको थियो । मिश्र अधिवक्ताहरू श्यामबहादुर शाही र बसन्त ब्लोनको रोहबरमा छुटेका थिए ।
तर मुद्दा दायर गर्न जाँदा प्रहरीले मिश्रलाई सम्पर्क गर्ने प्रयास गरेको थियो । उनी सम्पर्कविहीन भएपछि प्रहरीले अधिवक्ता शाही र ब्लोनलाई जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसन्धान अधिकृतले २५–२५ हजार रुपैयाँ जरिवाना समेत गरेको थियो । उक्त निर्णयविरूद्ध सर्वोच्च पुगेका शाही र ब्लोनले कार्यान्वयन नगर्न अन्तरिम आदेश पनि लिइसकेका छ न्।
मुद्दा दर्ता गर्दा उपस्थित भएका समितिले तोकेका ‘कमाण्डर’ दुर्गा प्रसाईंसहित ३९ जनाको आदेश गत बिहीबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले गरेको थियो । उक्त इजलासले बिहीबार मध्यराति प्रसाईंसहित ७ जनालाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको थियो ।
बाँकीलाई धरौटी माग गर्ने आदेश भएको थियो । आदेशपछि सोमबार राप्रपाका सांसद एवं महामन्त्री धवलशम्शेर राणा अदालतमा उपस्थित भएका थिए । अदालतमा उपस्थित भएका उनलाई अदालतले ३ लाख धरौटीमा छाड्न आदेश दिइसकेको छ । उनी पनि धरौटी बुझाएर छुटिसकेका छन् ।
गत चैत १५ गते राजावादीको हिंसात्मक आन्दोलनमा एक पत्रकारसहित दुई जनाको मृत्यु भएको थियो भने काठमाडौंका विभिन्न स्थानमा आगजनी, तोडफोड र भाटभटेनी सुपरमार्केटमा लुटपाट समेत भएको थियो ।
प्रतिक्रिया