रास्वपासँग संसद अवरुद्ध गर्ने मुद्दा नै छैन : कांग्रेस प्रवक्ता

बागलुङ । सत्ता साझेदार नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले रास्वपाले कुनै मुद्दा बिना नै संसदमा नाराबाजी गरिरहेको बताएका छन् । नेपाल प्रेस युनियन बागलुङले मंगलबार बिहान बागलुङमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले रास्वपाले बिनाकारण संसद् अवरुद्ध पार्ने प्रयास गरिएको बताए । ‘संवैधानिक निकायले कर्मचारीमाथि छानबिन गरिररहेको छ, गृहमन्त्रीलाई आरोपित गरेको पनि छैन,’ उनी भन्छन्, ‘कर्मचारीमाथि अनुसन्धान चल्दा मन्त्रीले राजीनामा दिन थाल्ने हो भने देश चल्न सक्दैन । उहाँहरूको सभापति रवि लामिछाने र अहिले केश नितान्त फरक हो ।’

त्यति बेला गृहमन्त्रीमाथि प्रहरीले छानबिन गर्न नसक्ने भएकाले आफूहरूले संसदीय छानबिन समिति माग गरेको तर गृहमन्त्रीको राजीनामा नमागेको उनले स्मरण गरे । ‘अख्तियार अनुसन्धान आयोग स्वायत्त निकाय हो, यसले कर्मचारीमाथि छानबिन गरिरहेको छ, यसमा गृहमन्त्री ओरोपित हुनुहुन्न,’ उनले भने। प्रवक्ता महतले अहिले सरकारले सही बाटो समातेको र यसलाई गति दिन आवश्यक रहेको बताए । ‘हामी सबैको संकल्प आर्थिक समृद्धि हो र हुनुपर्छ,’ उनले भने, ‘अहिले बजेटले केही संकेत गरेको छ। तर जति हुनुपथ्र्यो त्यो भएको छैन । अब कनिका छरे जसरी बजेट छरेर देशको विकास हुँदैन ।’
गठबन्धन सरकार भएकाले प्रधानमन्त्रीले अलि बढी भूमिका खेल्नुपर्ने बताए ।

प्रतिक्रिया