वैदेशिक रोजगारीबाट फर्किएर बाख्रापालनबाट वार्षिक ८ लाख कमाउँदै राई

इलाम । जिल्लाको माङसेबुङ गाउँपालिका–२ चत्नबस्तीका युवा ३८ वर्षीय रबिन राईले बाख्रापालन व्यवसायबाट मनग्य आम्दानी गरिरहेका छन् । पैसा कमाउन विदेश जानुपर्छ भन्ने सोचलाई चुनौती दिँदै उनले बाख्रापालन व्यवसायबाट उदाहरणीय सफलता हात पारेका छन् ।

संयुक्त अरब इमिरेट्समा ५ वर्ष पसिना बगाएका राईले अहिले आफ्नै गाउँमा व्यावसायिक बाख्रापालनबाट वार्षिक ८ लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् । उनले वैदेशिक रोजगारीबाट फर्केर २०७८ सालदेखि व्यावसायिक बाख्रापालन सुरु गरेका हुन् ।

‘विदेशको दुःख सम्झेर गाउँमै केही गरौँ भन्ने अठोटका साथ बाख्रापालन व्यवसाय सुरु गरेको हुँ’, राईले भने, ‘२ वटा बोयर जातका पाठापाठीबाट सुरु गरेको व्यवसाय आज आत्मनिर्भरताको स्रोत बनेको छ ।’

विदेशमा दिनरात दुःख गरेका राई आफ्नै थातथलोमा गरिएको व्यवसायबाट औधी सन्तुष्टि मिलेको बताउँछन् । बर्सेनि थप्दै व्यवसाय बढाएका उनले अहिले मासुका लागि खसी र ब्याडका लागि बोका पाल्दै आएका छन् ।

हाल राईको खोरमा २८ वटा बोयर जातका खसी र ब्याड बोकाहरू छन् । अघिल्लो महिना मात्रै २० वटा ठुला खसी बिक्री गरेका थिए । उनका अनुसार बोयर जातका खसीबोकाको बजारमा राम्रो माग छ । पाठापाठी एउटाको मूल्य १ लाखदेखि १ लाख १० हजार रुपैयाँसम्म पर्छ ।

उनले खोर पनि व्यवस्थित बनाएका छन् । साना ठुला बोका तथा खसीहरू अलगअलग राख्न छुट्टाछुट्टै कोठा छन् । यसरी अलगअलग राख्दा उमेरअनुसार खसीबोकालाई दानापानी खुवाउन र विभिन्न रोगबाट बचाउनसमेत सकिने राईको भनाइ छ ।

राईले व्यवसायसँगै १५ रोपनी जमिनमा घाँस खेतीसमेत गरेका छन् । बाख्रालाई आवश्यक पर्ने घाँसको जोहो गर्न उनले बडहर, किम्बु, निमारोलगायत डाले तथा नेप्पियर, सुपरनेप्पियर, रेडनेप्पियरलगायत भुँइ घाँससमेत लगाएका छन् ।

उनले उत्पादन गरेका खसीबोका किन्न व्यापारीहरू घरैमा आउने गरेका छन् । ‘बजार खोज्दै हिँड्नु पर्दैन, व्यापारीहरू आफैँ आउँछन्’, उनले सुनाए । इलाम बजारसहित झापा, मोरङ र सुनसरीलगायका व्यापारीहरूले लैजाने गरेको उनको भनाइ छ ।

उनी विदेशमा बस्दा पाएको दुःख र भोगेको समस्यालाई सम्झेर गाउँघरमै व्यवसायमा लागेको बताउँछन् । ‘विदेशमा धेरथोर पैसा त कमाइन्छ, तर परिवारसँग बस्न पाइँदैन’, उनी भन्छन्, ‘परिवार नै छैन भने पैसाको के काम, भनेर गाउँमै व्यवसायमा लागेको हुँ ।’ उनले पैसा कमाउन विदेश नै जानुपर्छ भन्ने भाष्यलाई अन्त्य गर्नका लागि पनि स्वदेशमा नै आफ्नो व्यवसायलाई निरन्तरता दिने बताउँछन् ।

राई विदेशिने युवाहरूलाई गाउँमै सम्भावना खोज्न सुझाव दिन्छन् । युवाहरूलाई विदेश पलायनबाट रोक्न व्यवसाय गर्न इच्छुक कृषकलाई सरकारले सहुलियतमा कर्जा तथा प्रोत्साहनका कार्यक्रम आवश्यक रहेको उनको भनाइ छ ।

प्रतिक्रिया