विश्वकप क्रिकेट लिग–२ : नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिला बलिङ गर्दै

काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा आज नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिला बलिङ गर्ने भएको छ । स्कटल्यान्डको डुन्डीमा रहेको फोर्थहिल क्रिकेट मैदानमा नेदरल्याण्ड्सका कप्तान स्कट एडवाडर्सले टस जितेर ब्याटिङ रोजेका हुन् ।

नेदरल्यान्डविरुद्ध नेपालले बलिङको निम्तो पाएको हो । उक्त खेल नेपाली समयअनुसार आज दिउँसो ३ः४५ बजे सुरु हुने छ । लिग–२ को आफ्नो चौथो खेलअन्तर्गत त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपाल लगातार दोस्रो जितको लक्ष्यमा रहेको छ । यसअघि सोमबार भएको पहिलो खेलमा नेपालले घरेलु टोली स्कटल्यान्डलाई एक विकेटले हराउँदै विजयी भएको थियो ।

यस शृङ्खलाको उद्घाटन खेलमा नेदरल्यान्ड्स पनि सुखद् सुरुवातको लक्ष्यमा रहेको छ । नेपाल र नेदरल्यान्ड्सबीच हालसम्म पाँच एकदविसीय अन्तराष्ट्रिय खेल भएका छन् । जसमा नेदरल्यान्ड्सले तीन खेलमा जित हासिल गर्दा नेपालले दुई खेलमा जित हासिल गरेको छ ।

विश्वकप लिग–२ मा २० खेल खेलेको नेदरल्यान्ड्स २६ अंकका साथ दोस्रो स्थानमा छ । तेह्र खेल खेलेको नेपाल आठ अंकका साथ सातौँ स्थानमा छ । आठ टोली सहभागी लिग–२ आइसिसी विश्वकप २०२७ को छनोट प्रतियोगिता हो ।

सन् २०२७ सम्म चल्ने यस लिगको अन्तिममा शीर्ष चारमा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा सिधै स्थान बनाउने छ । पुछारमा रहने चार टोलीले भने विश्वकप छनोट प्लेअफ खेल्नुपर्ने छ ।

नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेलसहित उपकप्तान दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, अनिलकुमार शाह, भीम सार्की, आरिफ शेख, गुलशन झा, बसीर अहमद, ललितनारायण राजवंशी, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, नन्दन यादव रहेका छन् ।

प्रतिक्रिया