अवसर कर्म, दायित्व र लगनशीलताले हाम्रो आगामी बाटो निर्धारण गर्दछ । विना कारण कार्य सम्भव छैन । कार्यलाई सबल र सशक्त कारणले बनाउँछ । त्यसमा बहुविध पक्ष जोडिएका हुन्छन् । हाम्रो विचार, चेतना, संस्कृति, समाज, सामाजिक मनोवृत्ति, नीतिगत व्यवस्था, राज्यको अर्थप्रणाली, श्रमसंस्कृति, मानवीय धर्म, आचरण, व्यवहार, इमानदारितालगायतका पक्ष यसैसँग जोडिएर आएका हुन्छन् । प्रस्तुत लेखमा नेपाली ललितकलाको सशक्तीकरण एवं सबलीकरणमा ‘राष्ट्रिय ललितकला प्रदर्शनी’ले प्रत्यक्ष, परोक्ष रूपमा कस्तो भूमिका निर्वाह गरेको छ ? र राष्ट्रिय ललितकला प्रदर्शनीको प्राप्ति के हो ? यसका बारेमा छोटो चर्चा गर्ने प्रयत्न गरिएको छ ।
राष्ट्रिय ललितकला प्रदर्शनीको ललितकला संस्था (नाफा) देखि कै ऐतिहासिक पृष्ठभूमि रहे तापनि नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान ऐन २०६४ बाट स्वायत्त निकायका रूपमा वि.संं. २०६७ मा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको स्थापनापछि हरेक वर्ष हुँदै आएको देखिन्छ । नेपाली ललितकला क्षेत्रमा राष्ट्रिय ललितकला प्रदर्शनीको आफ्नै विशिष्ट महत्त्व रहेको छ । यो देशका सातै प्रदेशको कलाको खोजी र उजागरमा लागेको छ । यसले नेपाली ललितकलाकर्मीहरूलाई एउटै प्रदर्शनीकक्षमा जोडेको छ । यही २०८२ जेठ १५ गतेदेखि हुने राष्ट्रिय ललितकला प्रदर्शनी १४ औँ प्रदर्शनी हो ।
कला ललितयुक्त, सौन्दर्यात्मक अभिव्यक्ति हो । कला विचार, चेतना र चिन्तन हो । यो समाज र संस्कृतिको जग हो । सभ्यताको आधार भूमि हो । यसमा धर्म, दर्शन, जनजीवन, संस्कृति, प्रकृति, जीवनदर्शन, राजनीति, समाजका सामाजिक, राजनीतिक, आर्थिक, शैक्षिक, सांस्कृतिक, धार्मिक, लैङ्गिक, वर्गीयलगायतका विविध पाटाहरू मुखरित हुन्छन् । यसले मानिसलाई सिर्जनशील, गतिशील, चेतनशील बनाउन मद्दत गर्दछ । मान्छेको सिर्जनशील, गतिशील स्वभावलाई अझ तिखार्न सहयोग पुर्याउँछ । कल्पनशीलताको अभिवृद्धि गर्दछ । आलोचनात्मक क्षमताको विकासमा जोड दिन्छ । सिप, सिर्जना, रोजगार, उत्पादनसँग ललितकला जोडिएको हुन्छ अर्थात् देशको सांस्कृतिक, आर्थिक, वैचारिक, सामाजिक, राजनीतिक सुदृढीकरण र सबलीकरणमा समेत प्रत्यक्ष एवं परोक्ष रूपले ललितकलाको अहं भूमिका हुन्छ ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान ऐन २०६४ ले ललितकला भन्नाले ‘चित्रकला, मूर्तिकला, लोककला, हस्तकला, शिल्पकला, वास्तुकला र अन्य सिर्जनात्मक कला सम्झनुपर्छ’ भनी परिभाषित गरेको छ । यिनै ललितकलाको विधा तथा उपविधाहरूको उजागरका लागि राष्ट्रिय ललितकला प्रदर्शनी हुने गरेको पाइन्छ । त्यसै गरी प्रज्ञा–प्रतिष्ठानको काम, कर्तव्य र अधिकारमा “नेपाली ललितकलाको संरक्षण, संवर्धन, प्रवर्धन तथा सर्वाङ्गीण विकास’ का लागि “ललितकलाको सङ्कलन, संरक्षण, संवर्धन, अध्ययन, अनुसन्धान’, ललितकलासम्बन्धी विषयमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका गोष्ठी, कार्यशाला, सम्मेलन, प्रदर्शनी, महोत्सव तथा प्रतियोगिता अयोजना गर्ने” भनिएको छ । यसैका जगमा राष्ट्रिय प्रदर्शनी तथा प्रतियोगितात्मक कार्यक्रमका रूपमा राष्ट्रिय ललितकला प्रदर्शनी गरिएको देखिन्छ ।
२०८० को राष्ट्रिय ललितकला प्रदर्शनी र त्यसपछिका प्रादेशिक ललितकला प्रदर्शनी र राष्ट्रिय ललितकला प्रदर्शनीलाई प्रस्तुत लेखको सन्दर्भमा हेर्दा २०८० को राष्ट्रिय ललितकला प्रदर्शनी ‘म, मेरो देश र मेरो सिर्जना’को मूल मर्ममा सिर्जना भएको पाइन्छ । प्रस्तुत सिर्जनाबाट प्रतिष्ठानले अवलम्बन गर्न खोजेको कला, कलाकार, माटो, भूगोलप्रतिको स्नेह भाव देखिन्छ । यसले कला र कलाकारको विकासमा जोड दिएको छ । देश माटो र भूगोल मात्र होइन, देशभित्र संस्कृति, प्रकृति, जनजीवन, जीवनदर्शनका विविध पाटा आउँछन् । त्यसैको उजागर २०८० को राष्ट्रिय ललितकला प्रदर्शनीको लक्ष्य रहेको देखिन्छ । देशको समृद्धि र विकासमा जोड दिइएको पाइन्छ । यसलाई नेपाली ललितकलाको सबलीकरण र सशक्तीकरणका रूपमा हेर्नुपर्दछ । प्रस्तुत प्रदर्शनीको मूल नाराले नै देशमा कला पर्यटनको विकासमा जोड दिएको छ । हाम्रा कला, सिर्जना र सिपमा परिष्कार खोजेको छ । कुनाकन्दरामा लुकेका कलाको खोजी गरेको छ । सिप, सिर्जना र कलालाई उत्पादन, रोजगार र अर्थतन्त्रसँग जोडेर प्रदर्शनी आएको देखिन्छ ।
त्यसै गरी ‘कला कलाका लागि मात्र होइन कला जीवनका लागि हुनुपर्छ’, कला समाजका लागि हुनुपर्छ भन्ने चिन्तन–दर्शन अवलम्बन गरी २०८० देखि किनारीकृत कला र कलाकारको उत्थानका लागि प्रादेशिक स्तरबाटै छनोट गरी राष्ट्रिय ललितकला प्रदर्शनीमा समावेश हुने व्यवस्थाबमोजिम देशका सातै प्रदेशमा ‘प्रादेशिक ललितकला प्रदर्शनी’ को थालनी भएको देखिन्छ । जसको उद्देश्य सामाजिक रूपान्तरण ः ललितकलाको अभियान रहेको छ । प्रस्तुत उद्देश्यमा केन्द्रित भई सिर्जना भएका ललितकलाका समसामयिक÷परम्परागत चित्रकला, मूर्तिकला, शिल्पहस्तकला, वास्तुकला, लोककला, बहुआयामिक तथा अन्य सिर्जनात्मक कलाले देशको सांस्कृतिक, आर्थिक, वैचारिक रूपान्तरणमा महŒवपूर्ण भूमिका खेलेको छ । देश, समाजलाई गतिशील, चिन्तनशील, रचनात्मक, सिर्जनशील बनाउन ललितकलाको महत्त्वपूर्ण भूमिका हुन्छ । प्रतिष्ठानले देशको सङ्घीय संरचनाअनुरूप देशका सातै प्रदेशमा २०८० मा पहिलो पटक गरेकोे प्रादेशिक ललितकला प्रदर्शनी जो राष्ट्रिय ललितकला प्रदर्शनीको मूल ढोका पनि हो । यसबाट छानिएका कलाकृति मात्र राष्ट्रिय ललितकला प्रदर्शनीमा समावेश हुने व्यवस्था रहेको छ । यसले दूरदराजमा रहेका कलासाधना गरिरहेका कलाकारको पहिचान र पहुँचमा मद्दत गरेको छ । सीमन्तकृत र किनारीकृत स्रष्टालाई राज्यको मूलधारमा ल्याउने प्रयास गरेको छ । नेपालको मौलिक रैथाने कलाकोे खोजी गरेको छ । कलाको संरक्षण र संवर्धनमा योगदान पु¥याएको छ । कलाको ज्ञान, सिप, शैलीको पुस्तान्तरणमा जोड दिएको छ । नव र अग्रज पुस्तालाई एकै थलोमा जोडेको छ । नवप्रतिभा पुस्ता र अग्रज पुस्ताका ज्ञान, सिप, शैलीशिल्प, प्रविधि, अनुभव र अनुभूतिहरूको सामञ्जस्य गरेको छ । प्रदेश र स्थानीय तहमा ललितकलासम्बन्धी जागरण ल्याएको छ । ललितकला शिक्षा तथा सिप सिकाइमा प्रशासनिक निकाय, सङ्घसंस्था, राजनीतिक, सामाजिक, व्यक्तित्वहरूमा जनचासो बढेको छ । प्रादेशिक तथा स्थानीय तहमा ललितकलासम्बन्धी कार्यक्रमहरू हुन थालेका छन् । केन्द्रिकृत रहेको राष्ट्रिय ललितकला प्रदर्शनीको विकेन्द्रीकरण गरी प्रादेशिक स्तरमा हुनुले तत् क्षेत्रमा ललितकलाको सबलीकरणको वातावरण सिर्जना गरेको छ । राष्ट्रिय ललितकलाको लक्ष्य मूलतः नेपाली ललितकलाको अध्ययन, अनुसन्धान, प्रदर्शनी, गरी नेपाली कलाको स्वकीय मौलिकताको जगेर्ना, संरक्षण, संवर्धन, प्रवर्धन र विकास रहेको देखिन्छ ।
त्यसै गरी अग्रज कलाकारहरूलाई सम्मान गरी आमन्त्रितका रूपमा र अप्रतियोगी कलाकारका रूपमा सहभागी हुन चाहनेलाई सोहीअनुसारको व्यवस्था प्रदर्शनीमा गरिएको पाइन्छ । प्रतियोगीमध्येबाट सर्वोत्कृष्ट, राष्ट्रिय विधागत, प्रादेशिक सर्वोत्कृष्ट, प्रादेशिक विधागत, नवप्रतिभा पुरस्कारको व्यवस्थाले कलाकारमा उत्साह र हौसला थपेको छ । पुरस्कारमा परम्परित ढङ्गबाट हुने केन्द्रीय धङधङीमा भुईँचालो गएको छ । मोफसल, किनारीकृत, सीमान्तकृत समुदाय, क्षेत्रका कला र कलाकार पनि उत्कृष्ट सिर्जनाबाट पुरस्कृत र सम्मानित हुने व्यवस्था भएकोे छ । जो देशको सङ्घीय संरचनाले निर्माण गरेको सकारात्मक पाटो हो ।
राउटे समुदायको रैथाने मौलिक शिल्पहस्तकला, लोककला, मूर्तिकलालाई राज्यको मूल धारमा ल्याउने काम राष्ट्रिय ललितकला प्रदर्शनीले गरेको छ । त्यसै गरी सुदूरपश्चिम, लुम्बिनीका थारु लोककला, लुम्बिनीका अवधी लोककला, मधेसको मिथिला, भोजपुरी कला, मूर्तिकला, कोसीका लोककला, हस्तकलालगायतका विधाहरू पनि स्वकीय मौलिकतासहित देखा परेका छन् । तिनको संरक्षण, संवर्धन, प्रवर्धन र विकासको काम भएको छ ।
विभिन्न स्थानीय तहहरूमा पर्यटन प्रवर्धनका लागि चित्रकला कार्यशाला हुन थालेका छन् । त्यसै गरी संस्कार, संस्कृति, जनजीवन, दर्शन झल्किने भित्तेचित्र लेखनको वातावरण सिर्जना भएको छ । प्रदेशका पर्यटन इकाईबाट मूर्ति, चित्र सिर्जनाका कामहरू विभिन्न स्थानमा हुन थालेका छन् । राजनीतिक आन्दोलन, ऐतिहासिक विरासत, सांस्कृतिक इतिहास, नेपाली जीवनशैली झल्किने कला उद्यान, सङ्ग्रहालय, बन्न थालेका छन् । यी कार्यहरूमा पनि राष्ट्रिय ललितकला प्रदर्शनीको परोक्ष भूमिका रहेको वस्तुसत्यलाई नकार्न मिल्दैन ।
राष्ट्रिय ललितकला प्रदर्शनीले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक वैशिष्ट्ययुक्त नेपालीहरूमाझ सद्भावको संस्कृति, सहिष्णुता र सहअस्तित्व कायम गरेको छ । मानवीय हार्दिकता र सहृदयता प्रकट गरेको छ । यसले युगीन विचार चिन्तनलाई आत्मसाथ गर्ने प्रयत्न गरेको छ । देशको सांस्कृतिक, आर्थिक, राजनीतिक, सामाजिक रूपान्तरणमा प्रत्यक्ष तथा परोक्ष रूपले सशक्त भूमिका खेलेको छ । सामाजिक सद्भाव, समन्वय र सहअस्तित्व, सामाजिक सहिष्णुतालाई अझ घनीभूत बनाएको छ । सामाजिक जागरण, सांस्कृतिक पहिचान र आर्थिक सबलीकरणका लागि पनि यसले अहं भूमिका खेलेको पाइन्छ ।
राष्ट्रिय ललितकला प्रदर्शनीकै सन्दर्भमा प्रतिष्ठानद्वारा नेपाली ललितकलाका विविध क्षेत्रमा महत्त्वपूर्ण योगदिने व्यक्तिव्यक्तित्व, सङ्घसंस्थालाई प्रदान गरिने अरनिको राष्ट्रिय ललितकला प्रज्ञा सम्मान, सहिद कलाकारका नाममा स्थापित सहिद कलाकार अनिलकुमार लामा स्मृति पुरस्कार र सहिद कलाकार बाबुराम लामा स्मृति पुरस्कार, राष्ट्रिय ललितकला पत्रकारिता, लेखन, कला प्रवर्धन सम्मानलगायतले ललितकलाकर्मीहरूलाई आशा, उत्साह जगाएको छ । उहाँहरूप्रति सम्मानभाव व्यक्त गरेको छ । यसलाई कला सशक्तीकरणमा राष्ट्रिय ललितकला प्रदर्शनीको महत्त्वपूर्ण पाटाका रूपमा लिनुपर्दछ ।
विभिन्न जातजाति, समुदायका पहिचान झल्काउन ललितकलाको संरक्षण तथा संवर्धनमा राष्ट्रिय ललितकला प्रदर्शनीले जोड दिएको छ । त्यसै प्रादेशिक ललितकला प्रदर्शनी र राष्ट्रिय ललितकला प्रदर्शनीका माध्यमबाट लोकपक्षीय कलाको उत्थानमा प्रतिष्ठान लागेको छ । विधागत फराकिलो आयामको प्रस्तुति राष्ट्रिय ललितकला प्रदर्शनीमा हुन्छ । यसमा नेपालका विविध समुदायको उपस्थिति, सहभागिता र संस्कृतिको साझाकरण भएको पाइन्छ । सीमान्तकृत, अल्पसङ्ख्यक, भौगोलिक प्रतिनिधित्व, लैङ्गिक, जातीय सहभागिताको विशिष्ट नमुना देख्न सकिन्छ । मानवीय चेतनाको प्रसारण, श्रमसंस्कृतिको मूल्यबोध, मानवीय संवेदनाको प्रकटीकरण, ललितकलाको प्रचार–प्रसार, स्वरोजगार, गतिशील, सिर्जनशील, व्यावहारिक कुशलतालाई राष्ट्रिय ललितकला प्रदर्शनीले उजागर गर्न मद्दत गरेको छ । दिगो विकासको प्राप्तिलाई सहयोग, राष्ट्रिय समृद्धि, नेपाली राष्ट्रिय गौरव, स्वाधीनता, स्वाभिमान, सामाजिक, सांस्कृतिक, आर्थिक जागरण र रूपान्तरणका लागि ललितकला क्षेत्रमा पर्याप्त मात्रामा लगानीको आवश्यकता अपरिहार्य छ ।
कला सिर्जनाको आफ्नै मूल्य, वैचारिकता, अस्तित्व, सर्जकत्व हुने भएकाले यसलाई ठेक्कापट्टा प्रणालीमा गराउने परम्परा शोभनीय देखिँदैन । त्यसैका नतिजाहरू हुन् : सामाजिक सञ्जालमा भाइरल कलाकृतिहरू । यसका लागि राज्यको आधिकारिक निकायबाट सरकारी स्तरमा सिर्जना हुने संरचनालाई नियमनको खाँचो देखिन्छ ।
ललितकलाको पुनर्जागरण, नेपाली ललितकला र कलाकारको खोजी, दूरदराजमा रहेका मौलिक कलालाई स्थानीय तह, प्रदेश र केन्द्र हुँदै अन्तर्राष्ट्रिय मञ्चसम्म पु¥याउन सहयोग र नेपाली कलको संरक्षण, संवर्धन, प्रवर्धन, विकास एवं कला पर्यटनको अभिवृद्धि राष्ट्रिय ललितकला प्रदर्शनीबाट भएको छ । देशको सभ्यता, संस्कृति, जीवनदर्शन, समाज आदिको प्रतिबिम्ब कलामा मुखरित हुन्छ । ललितकला देशको अर्थतन्त्रको आधार हो । कला पर्यटनको जग हो । नेपाली ललितकलाको सशक्त सबलीकरण, संरक्षण, संवर्धन, प्रवर्धन र विकासका लागि राज्यका तर्फबाट कला सिर्जनाका लागि आवश्यक पर्ने कच्चापदार्थको सहज उपलब्धता र कच्चापदार्थ प्राप्तिमा रहेको कानुनी, नीतिगत झन्झिटिलो परिपाटीको संशोधन अपरिहार्य छ । अग्रज पुस्ताका ज्ञान, सिप र अनुभवलाई नवपुस्तामा हस्तान्तरण गर्नु आवश्यक छ ।
नेपाली ललितकलाको अवस्था, यसले ग्रहण गरेको आयाम, यसका प्राप्तिहरू, यसमा शैली, शिल्प र बान्कीमा देखिएका परिवर्तनहरू, यसको मूल्याङ्कन, मापन, शक्ति, सामथ्र्य र सीमाको समेत द्योतन हुने आधिकारिक प्रदर्शनी पनि प्रादेशिक ललितकला प्रदर्शनी तथा राष्ट्रिय ललितकला प्रदर्शनी हो । स्थानीय तथा प्रादेशिक स्तरमा गठन भएका सांस्कृतिक संरचनाहरूलाई सबल र सशक्त बनाई जगैदेखि कला उत्थानमा लाग्दा कलाको मौलिकता र स्थानीय पहिचान मुखरित हुन्छ । यसतर्फ सङ्घीय, प्रादेशिक र स्थानीय सरकारको समन्वयात्मक खाका आवश्यक हुन्छ ।
नेपाली सभ्यता, संस्कृति, दर्शन, जनजीवनको उजागर नेपाली ललितकलाको संरक्षण, संवर्धन, प्रवर्धन र विकासमा जोड दिनु वाञ्छनीय छ । नेपाली ललितकलाले देशको अर्थतन्त्रमा परोक्ष एवं प्रत्यक्ष रूपले सशक्त भूमिका खेलिरहे तापनि यस क्षेत्रमा राज्यको लगानी न्यून देखिन्छ । देशको सांस्कृतिक अर्थतन्त्रको जग ललितकला भएकाले नेपाली सांस्कृतिक वैभवको विकास र कला पर्यटनको अभिवृद्धिका लागि पूर्वाधारको कार्य अपरिहार्य छ । त्यसै गरी ललितकला शिक्षाको महत्त्व र गाम्भीर्य राज्यका तीनै सरकारले बुझ्नु जरुरी छ ।
प्रतिक्रिया