सत्यता नै न्यायको आधार

पद भनेको गहन जिम्मेवारीले थिचिएको अर्काले गरेको अन्यायलाई न्यायमा परिणत गराउन राज्यको सिर्जनासँगै कल्पना गरिएको एक कर्तब्यबोधक ठाउँ हो । यसको ठुलो महत्व समाजको मुर्खतापूर्ण चिन्तनले एवं सामन्ती स्वभावले मात्र बनाएको हो ।

रुद्रप्रसाद पाठक

यो जगतको सत्यस्वरूप तथा आनन्द स्वरूप नै न्याय हो । न्याय जहिले पनि गुणी तथा न्यायिक व्यक्तिमा अन्तरनिहित भएको मानिन्छ । त्यसैले पूर्वीय न्याय पद्दतीमा हिमालय पर्वतदेखि कन्याकुमारीसम्मको क्षेत्रमा सत्य मेवः जयतेः, सत्यम् बदः, धर्म चरः, सत्येनः रक्षते धर्मोः भनिएको हो । सत्यको कारण ले नै पृथ्वी टिकेकी छन् । सत्यकै कारण सूर्य तातो छ र सत्यकै कारण हावा बहन्छ । अतः सबै कुरा सत्यमै आधारित छन् ।

यसकारण विद्धता, चलाखी, छट्टुपन, कपटपन सनकपन स्वार्थपनलाई न्यायिक वैधता नदिएको हो । यद्यपि विद्वानलाई पुजनीय मान्ने संस्कारको विकास भएको छ । यसरी भारतीय उपमाहाद्विपमा प्रचलनमा ल्याइएको उक्त सिद्धान्त तत्वदर्षि ऋषिहरूले ठुलो त्याग, साधना, पवित्रताबाट हात पारेका हुन् । भारतको सर्वोच्च अदालतको न्यायधीशको कुर्चीमा ‘यतोः धर्मम् ततोजयः’ भनी लेखिएको हुन्छ । सत्यमा कुनै पनि प्रकारको कपट, षड्यन्त्र अहंकार केही पनि नभई प्रकृतिको शान्त सौम्य स्वभाव अन्तरनिहित रहेकाले यसको नै जित हुन्छ भनी निकालेको न्यायको अन्तिम निष्कर्ष हो । यसमा अहिलेसम्म न कुनै विवाद छ न यसबाट कसैलाई हानि हुन्छ न यो कसैको पक्ष वा विपक्षमा छ । त्यसैले सत्यको अभावमा विलासितापूर्ण मोहित चलाखीपूर्ण र स्वार्थपूर्ण जीवनले न्यायको अमृतपान संसारलाई दिन प्रायः असंभव हुन्छ । यसकारण सत्तपात्र हुनु र विद्वान हुनु फरक फरक विषय मानिएका हुन् ।

आफ्नै चेतना नभएका दायाँ बायाँ गर्न नसक्ने प्राणी बनस्पतिले आफ्नो शाश्वत स्वभाव कहिल्यै छोडन सक्दैनन् । त्यसकारण तिनले अन्याय गर्न सक्दैनन्, तिनले गर्ने हरेक घटना प्रकृतिक वा प्रकृति प्रद्दत्त मानिन्छन् । मानिस भने चेतनशील भएकाले यो सत्यको पालना गर्नु अनिवार्य छ अथवा प्राकृतिक नियमको पालना गर्नुपर्दछ । प्रकृति प्रदत्त चेतना शक्ति मानिसलाई मात्र वरदान स्वरूप प्राप्त भएकोले यसको आधारमा नै न्याय अन्याय ठिक बेठिक छुट्याउने क्षमता प्राप्त भएको छ । यो प्रकृति प्रदत्त चेतना शक्तिको समुचित प्रयोगको सम्बन्धमा नै विभिन्न साहित्य, निबन्ध, विधि कानुन, कविता, दर्शन, मत, गीत, संगीत, संस्कार, विभिन्न चिकित्सा पद्दतीको विकास भएको छ । तैपनि मानिस चेतना तत्वको पूर्ण प्रयोगबाट भने सधैँ चुक्दै आएको छ ।

भारतीय समाजमा एक भनाइ छ, ‘झुट बोले तो कौवा काटे ।’ यसको नेपाली अर्थ हो झुटा बोलेपछि दुःखको बाटो सोझिन्छ । यसर्थ यहि झुट कार्य असत्य कार्य वा चेतना तत्वको पूर्ण प्रयोग गर्नबाट चुकेकै कारण अन्यायका विभिन्न स्वरूपहरूको जन्म हुन गई फेरी त्यसै सत्यको प्राप्ती वा प्राकृतिक अवस्थामा फर्कनका लागि मानव समुदायले ठूलो मूल्य चुकाउनुपरेको छ । यसकारण प्राकृतिक कानुन वा न्याय वा सत्य जे भने पनि मानिसले कहिल्यै छोड्नै नसकिने न्याय हो । मानव सभ्यताको इतिहास घटना परिघटनाले पनि यो कुरा पुष्टि गरिरहेको छ । द्वन्द्वको शास्त्रले पनि यहि कुरा बताइरहेको छ । मानव अधिकारको विश्वव्यापी घोषणापत्र (सन् १९४८) यसको प्रत्यक्ष प्रमाण हो ।

अति महत्वाकांक्षा, अहंकार, असहिष्णुता, अविवेक लगायतका कारण उत्पन्न भएको विश्वयुद्ध असंख्य धनजनको विनास लिलापछि पुनः मानवअधिकारको विश्वव्यापी घोषणापत्रमा आएर टुंगियो । त्यो पनि शक्तिको इशारामा शक्ति सन्तुलनको स्वार्थको भाषामा लेखिएर । नागरिक तथा राजनीतिक अधिकार पँुजीवादी मुलुकको तथा सामाजिक आर्थिक अधिकार साम्यवादी शक्तिको इशारालाई बढी जोड दिएर लेखिनु यसको प्रत्यक्ष प्रमाण तथा दुर्भाग्यपूर्ण अवस्था पनि हो । ज्ञान वा न्यायका सूत्रहरू साधना एवं त्यागको इसारामा होइन कि शक्तिको इसारामा लेखिनु सोचनीय विषय छन् । जबकी त्यो भन्दा पहिला नै मानवअधिकारको विश्वव्यापी घोषणापत्र भन्दा महान मानव जातिको कल्याणका लागि अति आवश्यक ज्ञान एवं न्यायका सूत्रहरू विकसित अवस्थामा थिए । तर ती सत्य प्राकृतिक न्यायको कुरालाई मानव समुदायले उल्लंघन, अपमान, अपेक्षा भाव एवं त्यसमाथि मुर्खता गर्यो ।

फलस्वरूप ठुलो धनजनको विनाशको मूल्य चुकाएर फेरी त्यसैमा फर्कन बाध्य भयो । अझ पनि पुनः उही स्वार्थ उच्च महत्वाकांक्षा इतिहासबाट केही नबुझेजस्तै एकअर्कामाथि विश्वास गुमाएजस्तै आआफ्नो स्वार्थलाई लादने दाउमा पुनः मानव सभ्यताको उच्चतम विन्दुमा पुग्नतिर होइन, अणु बम, परमाणु बमजस्ता मानव सभ्यतालाई नष्ट गर्ने हतियारको प्रतिष्पर्धाबाट आफू शक्तिशाली बन्ने होडबाजी गरि मानव सभ्यतालाई चुनौती दिने मुर्खता गरिरहेको छ ।

जंगली सभ्यतामा प्रकृति प्रदत्त रूपमा केबल खानका लागि तैपनि भोक लागेको अवस्थामा एक प्राणीले अर्को प्राणीको हत्या गर्नेबाहेक अन्य अवस्थामा खानकै लागि हिंसा हुन नै सक्दैन । तर मानिस भने खानकै लागि चोरी, ठगी, बलात्कार, हत्या, हिंसा आतंक अनुचित प्राकृतिक दोहन मच्चाइरहेको छ । यही चेतना शक्तिको समुचित प्रयोग गर्न नसकेर अनुचित रूपमा प्रकृतिको दोहन, चोरी, ठगी, बलत्कार हत्या, हिंसा आतंक प्रतिशोध गरेर ठुलो मूल्य चुकाइरहेको छ । सुखको चाहना मानिसको नैसर्गिक अधिकार भए पनि प्राकृतिक न्याय वा सत्यलाई नै उल्लंघन गरेकै कारण पृथ्वी लोकका सम्पूर्ण मानवलगायत प्राणी बनस्पतिले धेरै प्रकारका कठिनाइ बेहोर्नु परिरहेको छ ।

एक मानिसमाथि अर्कोको विश्वास छैन चलाखीको भरमा सामाजिक जीवन चलेको छ । जसको कारण संविधान र कानुनले अधिकार दिए पनि स्वच्छन्द रूपमा हिँडडुल गर्ने बोल्ने व्यवहार गर्ने काम मानिसले गर्न सकिरहेको छैन । मानिसको जीवन स्वतन्त्रताको अधिकार अपहरणमा परेको जस्तै छ । विवाहजस्तो पवित्र कर्म सम्बन्ध विच्छेदमा परिणत भएको छ । खासगरी मानिसहरूमा अभाव गरिबी, न्यायमा पहँुचको अभाव, चेतना लगायतका कारण आत्महत्याको क्रम चलेको छ । अनुचित प्राकृतिक दोहनले वनजंगलको विनास भई पानीका मूल सुक्न थालेका छन्, हिमालमा हिउँको मात्रा घट्दो अवस्थामा छ । पारिस्थितिक प्रणालीमा असन्तुलन, अति वृष्टि अनावृष्टिको क्रम बढ्दो छ । अपवित्र मानिसहरूको हातमा सत्ता भएर नै हुन सक्छ, भ्रष्टाचारजस्तो अति गम्भीर अपराधको जरो समात्न नसकिरहेको अवस्था छ । फलस्वरूप एकको कारणले अर्को गरिब, निराश वा अभावसित बाँच्नुपर्ने अवस्थाको सिर्जना भएको छ । भौतिक कुराको अपवित्र प्रतिस्पर्धाले समाज झन् वर्गीय असन्तुलनको अवस्थामा गइरहेको छ ।

पद भनेको गहन जिम्मेवारीले थिचिएको अर्काले गरेको अन्यायलाई न्यायमा परिणत गराउन राज्यको सिर्जनासँगै कल्पना गरिएको एक कर्तब्य बोधक ठाउँ हो । यसको ठुलो महत्व समाजको मुर्खतापूर्ण चिन्तनले एवं सामन्ती स्वभावले मात्र बनाएको हो । प्रकृतिको नियमले पृथ्वी ग्रहको २ ९ प्रतिशत मात्र भूभागमा बसोबास गर्ने सम्पूर्ण मनुष्यको खास आवश्यकता मूलभूत तत्व एकै भए पनि भूगोल, सभ्यता, भाषा, संस्कार, रहनसहन, धर्म, चेतना, दृष्टिकोण, सोचाइ स्वार्थ आदिमा विविधता बनाएको छ । यो प्रकृतिको नियम हो वास्तविक तथ्य हो । यी सम्पूर्ण विविधताका बीचमा प्रकृतिले कुनै भेदभाव गरेको छैन । यसकारण यो विविधताको असल अभ्यास गर्ने त्यसको अनुसरण गर्ने अझ राम्रो बनाउने प्रथम दायित्व स्वयं व्यक्ति समुदाय समाजको हुन्छ । विविधता बीचको सन्तुलन बचाउन जागरण ल्याउने उत्प्ररित गर्ने लगायतको दोस्रो दायित्व राजनीतिको हुन्छ । यसको उल्लंघनको अन्तिम फैसला गर्ने अधिकार भने न्यायालयमा नै रहेको हुन्छ ।

यसकारण हामी सबैले आआफ्नो ठाउँबाट प्राकृतिक न्याय अनुरूप आफ्नो कर्तव्य गर्दै गयौँ, सत्यको चिन्तन गर्दै गयौँ भने हामी सबका सब न्यायाधीश बन्दछौँ । अनि यो धर्ति स्वर्गजस्तो न्यायपूर्ण बन्छ, त्यहाँ खुसी आनन्द सिर्जनशीलताबाहेक अन्य कुनै कुरा भेटिँदैन । राज्यले न्यायालय गठन गरेर न्याय गर्ने कुरा बाध्यताले गर्नुपरेको हो भन्ने कुराको मर्म बुझौँ । संसारमा सिर्जना भएका हरेक शास्त्रहरूको अन्तिम सार पनि त्यही हो । असल व्यक्तिको अभ्यास घरपरिवारबाटै हुने गर्दछ । सबै नागरिकमा न्यायको निजत्व स्थापना गरी सभ्य न्यायिक एवं सिर्जनशील समाजको निर्माणको अभ्यास संस्कार वा त्यसको अभिमुखीकरण घर परिवारबाट नै प्राप्त हुने हुँदा घरपरिवारलाई नै न्यायालयको अर्को रूप बनाउनेतिर लाग्ने कि ?

(लेखक अधिवक्ता हुन्)

प्रतिक्रिया