ओलीहरूबाट चल्दैन, दोस्रो पुस्ता तयार छैन

नेपालको राजनीतिमा नैतिकताको अभाव मात्र होइन, संकट परेको कुरा आजको सच्चाइ हो । नेपालको वर्तमान राजनीतिलाई तरलताको छालले हल्लाइरहेको जगजाहेर छ । राजावादीहरूले राजसंस्था पुनःस्थापना, संघीयता खारेजी, धर्मसापेक्ष राज्यका निम्ति अराजक आन्दोलन गरिरहेका छन् भने गणतन्त्रवादीहरूको स्वार्थको राजनीतिले जनतामा निराशा छाइरहेको छ । जसलाई प्रतिक्रियावादी, पुनरूत्थानवादी र यथास्थितिवादीहरूले गणतन्त्रप्रतिको वितृष्णा र असफलता हो भन्ने भाष्य निर्माण गर्न खोज्दैछन् ।

वास्तवमा आजको निराशा, कुसाशन, बेराजगारी, महंगी, आक्रोश र विरोधको जड वर्तमान संघीय व्यवस्था होइन । गणतन्त्रका मसिहा ठान्ने केही नेताहरूको अक्षमता, दम्भ, घमण्ड, भ्रष्टमतिका कारण गणतन्त्र बदनाम हुँदैछ भन्ने कुरा लुकाएर लुक्छजस्तो लाग्दैन । अर्कातर्फ घामजस्तै सत्यलाई लुकाउनु अराजनीतिक हुन्छ ।

हामीले अघिल्ला लेखहरूमा पनि लेखेका थियौँ, ‘वर्तमान समस्या समाधानको निम्ति पहिलो पुस्ताका नेताहरूले पार्टी सत्ता र राज्य सत्तामा बस्ने रहर त्यागेर ठाउँ खालि गर्ने हो भने अवस्था ठिक हुनथाल्छ ।’ बिडम्बना नै भन्नुपर्छ हाम्रो पहिलो पुस्ताका नेताहरू मसानघाट नपुगेसम्म नछोड्ने कसम खाइरहेका छन् । आफूबिना यो संसारको गति रोकिन्छ भन्ने महाभ्रममा छन् उनीहरू । दुःखका साथ भन्नुपर्छ गणतन्त्र ल्याउनमा अहम् भूमिका खेलेको पहिलो पुस्ताबाट अब मुलुक चल्दैन । यति आलोचित र बदनामित हुँदासम्म पनि पहिलो पुस्ताले आँखा खोलेको छैन ।

त्यस्तै दोस्रो पुस्ताका नेताहरू पहिलो पुस्ताका नेताहरूको दास बनिरहेका छन् । पहिलो पुस्ताका नेताहरूको चाकरी दोस्रो पुस्ताका नेताहरूको दिनचर्या बनिरहेको छ । हामी तयार भइसक्यौं पनि नभन्ने, पहिलो पुस्ताबाट चल्दैन पनि नभन्ने, जनतामा नेपाली कम्युनिष्ट आन्दोलन र लोकतन्त्रप्रति वितृष्णाको ग्राफ बढिरहेको ठोस् विश्लेषण गर्न पनि नसक्ने नेपाली राजनीतिको दोस्रो पुस्ता सबैभन्दा असफल पुस्ताका रूपमा दर्ज हुँदैछ । यो निकै दुःखको कुरा हो । दोस्रो पुस्ताका नेताहरू न जनताको बीचमा प्रिय छन्, न त कार्यकर्ता पंक्तिमा । केवल पार्टी नेतृत्वको जयजयकार गर्ने र बाहिर ठिकठाक चलिरहेको गलत, मिथ्याङ्कीय रिपोर्टिङ गर्ने काममा व्यस्त छन् । उनीहरूलाई नेताको ‘एस म्यान’ बन्न पाएकोमा गर्व छ । आफ्नो विवेक बन्धकी राखेर ‘एस म्यान’ बन्नुहुन्न भन्ने चेतना छैन । मुखनेर कार्यकर्ताहरूले नमस्कार गरे पनि पछाडी कुरा काटेको उनीहरूलाई पत्ता हुने कुरा भएन । आलोचना गर्नेलाई कर्नरमा पार्न उनीहरू सफल छन् ।

महाधिवेशनमा नेतृत्वलाई पुनः दोहो¥याउनेमा न्वारानको बल लगाएर उनीहरू नै लाग्छन् । नेतृत्व पनि केही साथीहरूले अहिले नै छोड्नुहुन्न भन्नुभयो, त्यसैले म पुनः अध्यक्ष बने भनेको हामीले सुनेकै छ । खासमा दोस्रो पुस्ताले संघीय गणतन्त्रको रथ हाँक्नुपर्ने थियो । उही पुस्ता असफल बनेपछि मुलुक कसरी बन्छ ? वर्तमान व्यवस्थाकाप्रति आशावाद कसरी सिर्जना हुन्छ ? सुन्दा तितो लाग्न सक्छ– जनताले पहिलो पुस्ताका नेताहरू माधव नेपाल, प्रचण्ड, देउवा र ओलीहरूलाई गाली गरिरहेका छन् । तर, उनीहरूभन्दा खराब दोस्रो पुस्ताका नेताहरू छन् । स्वार्थको निम्ति दोस्रो पुस्ताका नेताहरू ‘जेसुकै गर्न तयार हुन पुस्ताका’ रूपमा दर्ज भएको छ । भ्रष्टाचार, अनियमितता जस्ता कार्यक्रममा पहिलो पुस्ताका नेताहरूको नीतिगत रूपमा जोडिए पनि प्रत्यक्ष संलग्नता देखिंदैन । तर, दोस्रो र तेस्रो पुस्ताका अधिकांश नेताहरूको जीवनशैली, खानपान, उठबस, बिलासी जीवन, महंगो रवाफका साथै नचाहिने काममा उनीहरू जोडिएका छन् । यति भन्दैगर्दा पहिलो पुस्ताका नेताहरू निष्ठावान् छन् भन्न खोजिएको अर्थ नलागोस् । ओलीहरूबाटै दोस्रो पुस्ताले राजनीति सिकेको हो । दोस्रो पुस्ता दाइदिदी र कमरेडहरूबाट तेस्रो पुस्ताले राजनीतिक सिकेको हो । यो त एक प्रक्रिया न हो, जो चलिरहन्छ । अघिल्लो पंक्ति र व्यक्तिबाट तल्लो तहका व्यक्तिहरूले सिक्छन् । अघिल्लो पुस्ताले जेगर्छ, जस्तो राजनीति गर्छ, पछिल्लो पुस्ताले पनि उस्तै राजनीति गर्न सिक्छ । अर्थात मुहानअनुसार खोला बग्छ ।

दिवस मनाएर गणतन्त्र जोगिंदैन

१५ जेठ २०८२ का दिन नेपालमा वंशीय शासन सत्ताको निर्मूल गरेको दिन हो । राणाको छोरा जन्मिदै जर्नेल जन्मिन्थ्यो । राजाको छोरा त्योभन्दा माथि हुन्थ्यो । अर्थात राजाको छोरा जन्मिदै राजकुमार जन्मिन्थ्यो । राणा र शाहहरूको अत्याचार भोगेका मानिसहरू छन् । कैयन कथाहरू लेखिएका छन् । तर, पढ्ने र सुनिदिने नयाँ पुस्ता भएन । खैर, त्यस्तो रामराज्यका मालिक र तिनका दास, रैतीहरूका निम्ति आजको दिन कालो दिन हो । तर, प्रतिस्पर्धा गरेर, अरूभन्दा योग्य दरिएर राज्यको मुख्य पदमा पुग्ने व्यवस्था भनेको गणतन्त्र हो ।

जसका पक्षधरका निम्ति सुनौलो र ऐतिहासिक दिन हो । उक्त ऐतिहासिक दिनलाई केवल उत्सवका रूपमा मनाएर मात्र व्यवस्था जोगिंदैन भन्ने कुरा भुल्नु हुँदैन । गणतन्त्र ठूलठूला कमजोरीले मात्रै कमजोर बन्छ भन्ने कुरा भ्रम हो । जस्तै शरीरको एउटा कानले सुन्न छोड्यो भने खास असर पर्दैन भन्ने लाग्छ । जसले यो ब्यथा भोगेर बाँचिरहेको हुन्छ त्यसलाई थाहा हुन्छ, कति समस्या हुन्छ भनेर । हो ठिक यस्तै गणतन्त्रमा नेताहरूले ठूलै गल्ती गरेर मात्र बिग्रिने होइन । प्रधानमन्त्री हुँदाको समयमा विभिन्न मन्त्रालयले ल्याएका फाइलहरूको अध्ययन नै नगरी हस्ताक्षेर गरेपछि त्यो नीतिगत भ्रष्टाचार हुन्छ । हेर्दा र सुन्दा प्रधानमन्त्रीलाई त्यत्रो फाइल पढ्ने फुर्सद कहाँ हुन्छ भनिएला । तर, त्यसले कालान्तरमा पार्ने प्रभाव र असरबारे अहिले भोगिरहेका नेताहरूलाई थाहा होला । त्यसैले कुरा साना गर्ने काम ठूल्ठूला गर्दै जाने हो भने मुलुक बन्छ । कुरा ठूला गर्ने, काम सिन्को नभाँच्ने हो भने मुलुक बन्दैन भन्ने कुरामा सायदै दुइमत नहोला ।

ठिक र बेठिकको श्रृङ्खला तोड्नुपर्छ

हिजो राणाहरू बेठिक, शाहहरू ठिक भनेर आन्दोलन भए । पछिल्लो समय शाहहरूलाई बेठिक भनियो । लोकतन्त्रका निम्ति लडेका बाहुन, क्षेत्री, दलित, जनजाती नेताहरूलाई ठिक भनियो । यसरी जातीय रूपमा ठिक र बेठिक भन्नुभन्दा पनि नश्लीय चेतनाको कुनै पनि शासन ठिक हुँदैन भन्ने सत्यलाई आत्मसातसँगै स्वीकार गर्नुपर्छ । जातीय थर मिलेपछि क्षमता, योग्यता केही नचाहिने र जात वा थर नमिल्दा वित्तिकै योग्य र राम्रो मान्छे पनि कर्नरमा पारिहाल्ने काम जातीय चेतनाको उपज हो ।

नेपालको राजनीतिक इतिहासले वंशवादले शासन गरेको देखाउँछ । गणतन्त्रमा कताकता बाहुन क्षेत्रीहरूको बाहुल्य रगजग बढी हो कि भन्ने देखिन्छ । एकाधबाहेक राजनीतिक दल, संगठन, सरकारी कार्यालय, सार्वजनिक संस्थानको नेतृत्वमा बाहुन र क्षेत्रीहरूको बाहुल्य देखिन्छ । वर्तमान व्यवस्था कुरूप कसैबाट बनेको छ भने त्यो बाहुन क्षेत्रीहरूबाटै बनेको छ । जसले राज्यसत्ता र पार्टी सत्ताको भूमिका पाएका छन् वा लिएर बसेका छन् उनीहरूले यसबारेमा आत्मसमीक्षा गर्नुपर्छ । हिजो राणा र शाहहरूको आफन्तवाद, नश्लीय चरित्र आजका बाहुन क्षेत्रीहरूले देखाउन मिल्छ ? यदी मिल्छ भने हिजोका राणा, शाहहरू र गणतन्त्रका बाहुन क्षेत्रीहरूबीच के फरक भयो ? लोकतन्त्र, गणतन्त्र, समाजवादको झण्डा र नारामुनि बसेर जातीय, नश्लीय, पक्षपात, आफन्तवादको भूमरीमा फस्न मिल्छ ? कदापी पनि मिल्दैन । थर मिल्दा साइनो गाँस्ने र थर नमिल्दा टाढैबाट हाँस्ने गर्नु विचार र सिद्धान्त बाहिरको कुरा हो । गणतन्त्रप्रति आक्रोश र वितृष्णा जन्मिनलाई ठूलै कारण नभएर यस्तै स–साना कुराहरूले काम गरिरहेका छन् कि भनेर सोच्ने हो कि ?

अन्त्यमा एक वाक्यमा भन्दा ओलीहरूबाट चल्दैन । मतलव मुलुक र पार्टीको नेतृत्वमा दलित, महिला, मधेशी, जनजातीहरू आउनुपर्छ । ओलीहरूको आफन्तवाद, गुणवाद, फुटवाद, नालायकीले हद पार गरिसक्यो । अर्कातर्फ पहिलो पुस्ताका नेताहरूको सच्चिने समय घर्किसक्यो । मान्छेहरूले गाली गर्न पनि लायक रहेनन् भनिसके । अहिलेलाई दोस्रो पुस्ताका नेताहरूले आफूलाई सच्याउनु पर्छ । पार्टी सत्ता र राज्यसत्ताको नेतृत्व लिन तयार भइसकेको आधार जनताका बीचमा पेश गर्नुपर्छ । पहिलो पुस्ताका नेताहरूले बाटो खाली गर्नुपर्ने र दोस्रो पुस्ताका नेताहरूले नेतृत्व लिन तयार हुनुपर्ने आजको वास्तविक आवश्यकता हो । यसलाई नजरअन्दाज गर्दै अझैँ पनि गल्ती गर्दै जाने हो भने अवस्था झन् जटिल बन्ने देखिन्छ । वर्तमान व्यवस्था अरू कोही नभएर गणतन्त्रका नेताहरूकै कारण खतरामा छ । आचरण, व्यवहार, स्वार्थ नबदली सुखै छैन । वर्तमान व्यवस्था बाँच्ने भनेको हाम्रा आचरण गणतन्त्रसँग मिल्ने खालका भएपछि मात्रै हो ।

प्रतिक्रिया