भिजिट भिसा प्रकरणमा रास्वपाले भन्यो– प्रमाणित भए गृहमन्त्री लेखक जेल जानुपर्छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृहमन्त्री रमेश लेखकको भिजिट भिसा प्रकरणमा संलग्न प्रमाणित भए उनी जेल जानुपर्ने बताएको छ । गृहमन्त्री लेखकले आफ्नो संलग्नता पुष्टि भए राजनीति छाड्ने भनेर दिएको अभिव्यक्तिको कुनै अर्थ नभएको रास्वपाले बताएको हो ।

आइतबार बसेको पार्टीको केन्द्रीय समिति बैठकपछि कार्यवाहक प्रवक्ता मनिष झाले गृहमन्त्रीले भिजिट भिसा प्रकरणमा आफ्नो संलग्नता प्रमाणित भए राजनीति छाड्छु भनेर दिएको अभिव्यक्तिको कुनै अर्थ नभएको भन्दै प्रमाणित भए जेल जानुपर्ने र त्यसवेला राजनीति स्वाभाविक रूपमा छोडिने बताए ।

त्यसैगरी रास्वपाले १३ जेठमा बस्ने प्रतिनिधिसभाको बैठक सामान्य तरिकाले चल्न नसक्ने बताएको छ । केन्द्रीय समितिको बैठकपछि प्रतिक्रिया दिने क्रममा कार्यवाहक प्रवक्ता झाले अब बस्ने प्रतिनिधिसभाको बैठक सामान्य नहुने बताए ।

मंगलबार गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफू माथि उठ्का प्रश्नको जवाफ दिने बताएका छन् । रास्वपा कार्यवाहक झाले त्यस दिनको रणनीति के हुने ? अहिले नै नभन्ने तर सहज अवस्था नहुने संकेत गरे । प्रवक्ता झाले गृहमन्त्री लेखकले गृहमन्त्रीको बोलीप्रति प्रतिवाद गर्दै प्रमाणित भए राजीनामा दिने नभई जेल जानुपर्ने बताए ।

प्रतिक्रिया