‘आबाट आमा’मा विपना

काठमाडौँ । नायिका विपना थापाले गत वर्ष प्रदर्शनमा आएको चलचित्र ‘ह्रस्व दीर्घ’बाट ठुलो पर्दामा ‘कमब्याक’ गरिन् । नायिकाको भूमिका पाउँदै गर्दा चलचित्रबाट दुरी बनाएकी उनले डेढ दशकपछि चरित्र नायिकाका रूपमा ठुलो पर्दामा ‘कमब्याक’ गरिन् ।

उनको कमब्याक सामान्य नै बन्यो । चलचित्रको व्यापार पनि सामान्य नै रह्यो । तथापि यो चलचित्रले विपना पुनः अभिनयमा फर्किएको सन्देश भने दियो । विपना अहिले अभिनयमा नै व्यस्त हुने मनस्थितिमा देखिन्छन् । उनलाई चरित्र नायिकाका रूपमा नै प्रस्ताव आउने गरेको बुझिएको छ ।
उनले अनमोल केसी केन्द्रीय भूमिकामा रहेको चलचित्र ‘जेरी ः अन टप’मा पनि अभिनय गर्ने चर्चा भए पनि उनले धोका पाइन् ।

विपना चन्द्र पन्तको निर्देशन रहने चलचित्र ‘आबाट आमा’मा उनी अनुबन्ध भएकी हुन् । पन्तले बिहीबार सामाजिक सञ्जाल फेसबुकबाट विपना चलचित्रमा अनुबन्ध भएको जानकारी दिएकी हुन् । चलचित्रको छायांकन भदौबाट सुरु हुने निर्देशक पन्तले बताए । उनका अनुसार विपना यो चलचित्रको शीर्ष भूमिकाका लागि अनुबन्ध भएकी हुन् ।

कथा सुन्दा नै आफू भावुक भएकाले यस चलचित्रमा अभिनय गर्ने मनस्थितिमा पुगेको विपनाले सुनाइन् । भनिन्, ‘चलचित्रको कथा दमदार छ । म कथा सुन्दा नै रोएको थिएँ । यो नै म चलचित्रमा अनुबन्ध हुनुको प्रमुख कारण हो ।’

यस चलचित्रका अन्य कलाकार र प्राविधिक चयनको काम बाँकी रहेको निर्देशक पन्तले बताएका छन् । यो चलचित्र आगामी १५ फागुनमा प्रदर्शनमा ल्याउने तयारीका साथ उनी काम गरिरहेका छन् ।

प्रतिक्रिया