किम्फ चलचित्र महोत्सव जेठमा

काठमाडौँ । अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) को २२औँ संस्करण हुने भएको छ । महोत्सव काठमाडौँमा १४ देखि १८ जेठसम्म महोत्सव आयोजना हुनेछ । यसपटक किम्फ ठमेलस्थित क्युएफएक्स छाया सेन्टर, एस्ट्रेक पार्क र जिएए हलमा आयोजना हुने निर्माणटिमले जनाएको छ । ‘खण्डित आवाज, जोडिँदै कथाहरू’ नाराअन्तर्गत ३० देशका ६५ भन्दा बढी चलचित्र प्रदर्शन हुनेछन् ।


किम्फले अन्तर्राष्ट्रिय छनोटमा संसारभर प्रशंसा बटुल्न सफल भएका चलचित्रहरू विशेषगरी नेपाली दर्शकका लागि ल्याएको छ । त्यससँगसँगै नेपाली चलचित्रहरूको छनोटमा स्वदेशी प्रतिभाले बनाएका चलचित्रहरू प्रदर्शन हुनेछन् जसले समकालीन नेपालको कथा देखाएका छन् ।

‘यसपालिको चलचित्र र कार्यक्रमहरूमार्फत नेपाली दर्शकहरूलाई मनोरञ्जन गराउनका साथसाथै नेपाली समाजलाई असर पार्ने विषयहरूमा संवाद सुरू होस् भन्ने हाम्रो उद्देश्य रहको छ’, किम्फ फाउन्डेसनको अध्यक्ष रम्यता लिम्बूले भनिन् ।

‘बिट्विन द माउन्टेन एन्ड द स्काइ’ नामक डकुमेन्ट्रीको प्रदर्शनीसँगै किम्फ सुरू हुनेछ । नेपालमै पहिलोपटक प्रदर्शन हुन लागेको जेरेमी पावर रेगिम्बलद्वारा निर्देशित यस डकुमेन्ट्री चलचित्रले सिएनएन हिरो जितेकी समाजसेवी म्यागी डोएनको व्यत्तिगत जीवनलाई नजिकबाट देखाउँछ ।

नेपाल–चीन मित्रताको ७०औँ वार्षिकोत्सवको उपलक्ष्यमा किम्फले सिजांग प्यानोरमामा चलचित्रहरू प्रदर्शन गर्दै छ जसले नेपाल र चीनको भाषिक र सांस्कृतिक भिन्नता भए पनि २ देशबीचको समानता झल्काउनेछ ।
यसपालिको संस्करणमा निर्णायकमण्डलका रूपमा चलचित्र र टेलिशृंखला निर्देशकहरू नवीन सुब्बा (नेपाल), मार्टिन हेसेनोह्रल (अस्ट्रिया), यिङ्की चेन (चीन) सँगसँगै पत्रकारिता र सञ्चार प्राध्यापक छुन झान र चलचित्र प्रोग्रामर जिना ली (दक्षिण कोरिया) रहेका छन् । निर्णायकमण्डलले अन्तर्राष्ट्रिय श्रेणीमा रहेका उत्कृष्ट आख्यान (४ छनोट), उत्कृष्ट वृत्तचित्र (१४ छनोट), उत्कृष्ट छोटो आख्यान (११ छनोट) र उत्कृष्ट छोटो वृत्तचित्र (१३ छनोट) रोज्ने छन् । नेपाली चलचित्रमध्ये उत्कृष्ट वृत्तचित्र ६ र उत्कृष्ट आख्यान ११ चयन गर्नेछन् ।

अन्तर्राष्ट्रिय श्रेणीमा उत्कृष्ट वृत्तचित्रका लागि १ हजार ५०० अमेरिकी डलर, उत्कृष्ट छोटो वृत्तचित्रका लागि १ हजार अमेरिकी डलर, उत्कृष्ट आख्यानका लागि १ हजार ५०० अमेरिकी डलर, उत्कृष्ट छोटो आख्यानका लागि १ हजार अमेरिकी डलर, उत्कृष्ट माउन्टेन र एडभेन्टर्सका लागि १ हजार अमेरिकी डलर तथा उत्कृष्ट इसिमोड पर्वतीय चलचित्रलाई १ हजार अमेरिकी डलर पुरस्कृत गरिनेछ ।

नेपाली चलचित्रमध्ये उत्कृष्ट वृत्तचित्र, उत्कृष्ट आख्यान र दर्शकहरूले सर्वाधिक रूचाएको चलचित्रलाई सबैलाई १ लाख रूपैयाँ पुरस्कार दिइनेछ । यो वर्ष केयू उदीयमान चलचित्रकर्मीलाई पनि १ हजार अमेरिकी डलर दिइनेछ ।

प्रतिक्रिया