काठमाडौँ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले ‘लोन टु भ्यालु’ रेसियो न्यूनतम ७० प्रतिशत बनाउन माग गरेको छ । शुक्रबार नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वले नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा.विश्वनाथ पौडेलसँग गरेको भेटमा यस्तो माग गरेको हो ।
नाडाले गभर्नर पौडेलसँगको भेटमा मौद्रिक नीतिमार्फत अटोमोबाइल क्षेत्रका समस्या समाधान गर्न माग गरेका थिए । नाडाका अध्यक्ष चौधरीले नेपालको अटोमोबाइल उद्योगको समग्र सुधारका लागि तत्काल कार्यान्वयनका लागि ५ बुँदे सुझावहरू गभर्नरलाई दिएका छन् ।
अटोमोबाइल उद्योग, नेपालको राजस्व, रोजगारी, प्रविधि स्थानान्तरण र दिगो विकास लक्ष्यसँग प्रत्यक्ष सम्बन्धित रहेको भन्दै यसलाई सबल बनाउन नीति, वित्त र व्यवहारबीच सन्तुलन अत्यावश्यक रहेको बताए ।
वित्तीय पहुँच अभाव, विद्युतीय तथा प्रिमियम सवारी साधनमा कर्जाको अवरोध, कर्जा नीतिमा देखिएको असमञ्जस्यता र निष्पक्ष वित्त प्रणालीका लागि नियमनको आवश्यकताका विषयमा गभर्नरसँग छलफल भएको नाडाले जनाएको छ । नाडासँगको भेटमा गभर्नर डा. पौडेलले नाडाको सुझावहरूलाई गम्भीरताका साथ लिइने बताउँदै आवश्यक विषयहरूमा छलफल गरी समन्वयसमेत गरिने आश्वासन दिए ।
प्रतिक्रिया