१० बैंकको कर्जा गुणस्तर मूल्यांकन बंगलादेशी कम्पनीले गर्ने

काठमाडौँ । विगत लामो समयदेखि हुन नसकेको नेपालका १० ठुला वाणिज्य बैंकहरूको कर्जा गुणस्तर मूल्यांकन गर्न बंगलादेशी कम्पनी प्राविधिक छनौटमा परेको छ । नेपाल राष्ट्र बैंकले आह्वानमा उक्त कम्पनी छनोट भएको हो । वाणिज्य बैंकहरूको कर्जा गुणस्तर मूल्यांकनका लागि राष्ट्र बैंकले बैंकहरूको लेखापरीक्षणका लागि बंगलादेशको ढाकामा रहेको हौलादर युनुस एन्ड कम्पनी छनौट गरेको छ ।

राष्ट्र बैंकले कर्जा गुणस्तर परीक्षण (लोन पोर्टफोलियो रिभ्यु) का लागि श्रीलंका, भारत र बंगलादेशका ६ वटा अडिट कम्पनीलाई सर्टलिस्टमा राखेको हो । सूचीमा पर्नेमा श्रीलंकाको डिलोइट पार्टनर्स, बंगलादेशको हउलादार युनुस एन्ड कम्पनी छ, भने भारतको केपिएमजी एसुरेन्स एन्ड कन्सल्टिङ सर्भिस, मेहरा र जेकेएसएस एसएसबिडी आई जेभी र भारतीय र नेपाली कम्पनीको ज्वाइन्ट भेन्चर्स एमएसकेएस एन्ड एसोसिएट र एसआरबिए एन्ड बिके अग्रवाल एन्ड कम्पनी थिए । त्यसमा प्राविधिकतर्फ बंगलादेशको हउलादार युनुस एन्ड कम्पनी मात्रै छनौटमा परेको हो । एउटा मात्रै कम्पनी छनौटमा परे पनि राष्ट्रबैंकले आर्थिक प्रस्ताव २५ जेठमा खोल्ने जनाएको छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोषले राखेको थियो अडिट गर्नुपर्ने सर्त

अन्तर्राष्ट्रिय मुद्रा कोषले नेपालका १० वाणिज्य बैंकहरूको कर्जा सम्पत्तिको गुणस्तर मापनका लागि विदेशी कम्पनीबाट अडिट गर्नुपर्ने सर्त राखेको थियो । नेपालले अन्तर्राष्ट्रिय मुद्रा कोषसँग विस्तारित कर्जा सुविधा लिने सम्झौता गरेको छ । सम्झौता पूर्ण कार्यान्वयनका लागि कोषले १० ठुला वाणिज्य बैंकको कर्जा सम्पत्तिको गुणस्तर परीक्षण गर्नुपर्ने उल्लेख थियो । सोही कारण राष्ट्र बैंकले दोस्रोपटक पोर्टफोलियो रिभ्यु गर्नका लागि प्रक्रिया अगाडि बढाएको थियो ।
यसअघि राष्ट्र बैंकले अडिट प्रक्रियाका लागि विदेशी अडिट कन्सल्टेन्सीहरूमा प्रस्ताव आह्वान गरेको थियो भने प्राविधिकतर्फ भारतको केपिएमजी अडिट कम्पनी मात्रै आर्थिक प्रस्तावका लागि छनोट भएको थियो । तर, उक्त कम्पनीले पनि लागत अनुमान र उपलब्ध बजेटभन्दा बढी लागतसहित प्रस्ताव गरेपछि राष्ट्र बैंकले सम्पूर्ण प्रस्ताव नै रद्द गरेको थियो ।

प्रतिक्रिया