नेपाली समाजमा प्रकृतिप्रतिको गहिरो सद्भाव परम्परागत रूपमा नै विद्यमान छ । यहाँका विभिन्न धार्मिक तथा सांस्कृतिक मान्यताहरूले प्रकृतिलाई उच्च सम्मान दिएको पाइन्छ । देशमा रुखबिरुवालाई देवताको रूपमा पूजा गर्ने, नदीनालालाई पवित्र मान्ने र वन्यजन्तुलाई संरक्षण गर्ने प्रचलन सदियौँदेखि चलिआएको छ । यहाँ विभिन्न प्रकारका धार्मिक वनहरू र पवित्र स्थलहरू छन्, जहाँ मानिसहरूले प्रकृतिलाई पूजा गर्छन् ।
प्रकृतिको आँचलमा बसेको सानो तर विविधताले भरिपूर्ण देश नेपाल हिमालदेखि तराईसम्म फैलिएको छ । यस भू–भागमा प्रकृतिले आफ्नो सम्पूर्ण सुन्दरता र संसाधनहरू निःशुल्क रूपमा प्रदान गरेको छ । हिमालय पर्वतदेखि तराईका हरियाली मैदानसम्म विविध भौगोलिक र जैविक सम्पदा पाइन्छ । दिगो विकासको अवधारणा भनेको वर्तमान आवश्यकताहरू पूरा गर्दै भावी पुस्ताका आवश्यकताहरूलाई समेत ध्यान दिने विकास कार्य पनि हो ।
नेपालका संस्कृति, धर्म, जीवनशैली र अर्थतन्त्र प्रकृतिसँग गाँसिएर बसेका छन् । तर आधुनिकताको दबाब, जनसंख्या वृद्धि र अज्ञानताका कारण प्रकृतिप्रतिको यो सद्भाव विस्तार–विस्तारै क्षीण हुँदै गएको छ । यसैले, नेपालले प्रकृतिको संरक्षण र दिगो विकासबीच सन्तुलन कायम गर्नु जरुरी छ । नेपालको भूगोलमा अग्ला हिमाल, गहिरो उपत्यका, उर्वर तराई र विविध वनस्पति तथा जीवजन्तु पाइन्छन् । जसले यसलाई विश्वभरि नै विशिष्ट पहिचान दिएको छ । यसमा पनि भन्ने नै हो भने प्रकृतिसँगको अन्योन्याश्रित सम्बन्ध नेपाली जनजीवनको अभिन्न अंग हो । नेपाली जनताले प्रकृतिलाई सम्मान गर्दै आफ्नो जीवन निर्वाह गरेका छन् । तर, आधुनिक विकासको गतिसँगै प्रकृतिमाथि बढ्दो दबाब र असन्तुलन देखा पर्न थालेको छ । प्रकृतिप्रतिको सद्भावलाई अक्षुण्ण राख्दै दिगो विकासको अवधारणालाई आत्मसात् गर्नु आजको अपरिहार्य आवश्यकता बनेको छ ।
विश्वका १० सबैभन्दा अग्ला हिमालमध्ये ८ वटा नेपालमा अवस्थित छन् । यी हिमशृंखलाहरूले देशलाई मात्र नभई दक्षिण एसियाकै जलवायु र पानीको स्रोतलाई प्रत्यक्ष प्रभाव पारेका छन् । यहाँ विभिन्न प्रकारका पारिस्थितिक प्रणालीहरू पाइन्छन् । जसले गर्दा नेपाल जैविक विविधताको भण्डारको रूपमा परिचित छ । नेपालको भूगोललाई मुख्यतया ३ भागमा विभाजन गर्न सकिन्छः हिमालय क्षेत्र, पहाडी क्षेत्र र तराई क्षेत्र । हिमालय क्षेत्रमा विश्वका सर्वोच्च शिखरहरू जस्तै सगरमाथा, कञ्चनजंघा र ल्होत्से रहेका छन् । यस्तैगरी पहाडी क्षेत्रमा उपत्यका, नदी र उर्वर भूमि पाइन्छन् । यसरी तराई क्षेत्र समतल छ र यहाँ घनाजंगल र कृषियोग्य भूमि रहेको छ ।
विभिन्न प्रकारका हावापानी पाइने भएकाले यहाँ वनस्पति र जीवजन्तुको विविधता पनि धेरै छ । यहाँ दुर्लभ जडीबुटीदेखि लिएर विभिन्न प्रकारका वन्यजन्तु पाइन्छन् । साथै देशमा पाटेबाघ, एकसिंगे गैँडा, हिउँ चितुवा, रातो पाण्डाजस्ता दुर्लभ वन्यजन्तु पाइन्छन् । यहाँ विभिन्न प्रकारका चराहरू, सरिसृपहरू र उभयचरहरू पनि पाइन्छन् । देश जलस्रोतमा पनि विश्वमै ब्राजिल पछि दोस्रो स्थानमा रहेको छ । यसको साथसाथै देशमा धेरै नदीनालाहरू छन् । जुन यहाँको महत्वपूर्ण प्राकृतिक स्रोत हुन् । जसमा कोसी, गण्डकी र कर्णाली यहाँका प्रमुख नदीहरू हुन् । यी नदीहरूले नेपालको कृषि, ऊर्जा उत्पादन र दैनिक जीवनमा महत्वपूर्ण भूमिका खेल्छन् । यहाँका तालहरू र सिमसार क्षेत्रहरूले पनि यहाँको जैविक विविधतामा महत्वपूर्ण योगदान पु¥याएका छन् । राष्ट्रको प्राकृतिक सम्पदा यहाँको संस्कृति र अर्थतन्त्रसँग जोडिएको छ । धेरै मानिसहरूको जीवनयापन कृषि र पर्यटनमा आधारित छ । जुन दुवै प्राकृतिक स्रोतमा निर्भर छन् ।
नेपाली समाजमा प्रकृतिप्रतिको गहिरो सद्भाव परम्परागत रूपमा नै विद्यमान छ । यहाँका विभिन्न धार्मिक तथा सांस्कृतिक मान्यताहरूले प्रकृतिलाई उच्च सम्मान दिएको पाइन्छ । देशमा रुखबिरुवालाई देवताको रूपमा पूजा गर्ने, नदीनालालाई पवित्र मान्ने र वन्यजन्तुलाई संरक्षण गर्ने प्रचलन सदियौँदेखि चलिआएको छ । यहाँ विभिन्न प्रकारका धार्मिक वनहरू र पवित्र स्थलहरू छन्, जहाँ मानिसहरूले प्रकृतिलाई पूजा गर्छन् । त्यसरी नै नेपाली समाजमा प्रकृतिसँग सम्बन्धित धेरै प्रकारका परम्परागत ज्ञान र सीपहरू छन् । यहाँका मानिसहरूले जंगल व्यवस्थापन, जलस्रोतको उपयोग र कृषि प्रणालीमा आधारित धेरै प्रकारका परम्परागत विधिहरू प्रयोग गर्छन् । यी विधिहरूले प्रकृतिलाई नोक्सान नपु¥याइकन दिगो रूपमा स्रोतहरूको उपयोग गर्न मद्दत गर्छन् । यसले गर्दा देशमा धेरै समुदायहरू प्रकृतिमा आधारित जीवन बिताउँछन् । उनीहरूले जंगल, नदी र जमिनलाई साझा सम्पत्तिको रूपमा लिन्छन् र यसको संरक्षणमा मिलेर काम गर्छन् । जसमा सामुदायिक वन व्यवस्थापन यसको एक उदाहरण हो । जहाँ स्थानीय समुदायहरूले जंगलको संरक्षण र उपयोगको जिम्मेवारी लिन्छन् । यसर्थ प्रकृतिसँगको यो सद्भावले नेपालमा दिगो जीवनशैलीलाई बढावा दिएको छ ।
आधुनिक विकासको गतिसँगै नेपालको प्राकृतिक वातावरणमा धेरै चुनौतीहरू थपिएका छन् । यी चुनौतीहरूले यहाँको पारिस्थितिक प्रणालीलाई कमजोर बनाएको छ र दिगो विकासको लक्ष्यलाई हासिल गर्न गाह्रो बनाएको छ । नेपालमा जंगल विनाशको दर उच्च छ । यसले गर्दा भूक्षय बढेको छ, बाढीपहिरोको जोखिम बढेको छ र जैविक विविधतामा ह्रास आएको छ ।
वायु प्रदूषण, जल प्रदूषण र ध्वनि प्रदूषण बढ्दो छ । यसले मानव स्वास्थ्यमा नकारात्मक असर पारेको छ र प्राकृतिक वातावरणलाई नोक्सान पु¥याएको छ । नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेका देशहरूमध्ये एक हो । यहाँ जलवायु परिवर्तनका कारण तापक्रम बढेको छ, वर्षाको ढाँचामा परिवर्तन आएको छ, हिमालहरू पग्लिरहेका छन् र प्राकृतिक प्रकोपको आवृत्ति र तीव्रता बढेको छ ।
देशको अमूल्य निधिका रूपमा रहेको जैविक विविधताको संरक्षण गर्नु हामी सबैको साझा दायित्व पनि हो । प्रकृतिप्रतिको सद्भावलाई कायम राख्दै दिगो विकासको मार्गलाई अवलम्बन गरेर मात्र हामीले भावी पुस्तालाई स्वच्छ, स्वस्थ र समृद्ध नेपाल हस्तान्तरण गर्न सक्छौँ । प्रकृति र विकासबीच सन्तुलन कायम गरेर मात्र नेपालले दीर्घकालीन समृद्धि र कल्याण हासिल गर्न सक्छ । त्यसैले, हामी सबैले मिलेर दिगो विकासका लागि काम गर्नुपर्छ र प्रकृतिसँगको सद्भावलाई अक्षुण्ण राख्नुपर्छ । सरकार, स्थानीय समुदाय तथा निजी क्षेत्रले समन्वयात्मक रूपमा काम गर्न सकेमा नेपालको भविष्य सुरक्षित रहन सक्छ ।
प्रतिक्रिया