सहिदको सम्मानमा समुदायले बनाएको सानदार स्कुल

महोत्तरी । विद्यार्थीले भरिभराउ कक्षाकोठा । प्रत्येक कक्षामा स्मार्ट बोर्ड । शिक्षकहरू प्रयोगात्मक सिकाइमा व्यस्त । रातो सर्टमाथि टाई, कालो पाइन्ट र साथमा परिचयपत्र भिरेका संस्कारित र अनुशासित विद्यार्थी । झट्ट हेर्दा निजी विद्यालय जस्तो लाग्ने यो दृश्य महोत्तरी, बर्दिवास नगरपालिकाको सुदूर उत्तरी गाउँ खयरमारास्थित सामुदायिक विद्यालयको हो । खयरमारास्थित सहिद विशालकुमार मा.ल.ग.दि.स. आधारभूत विद्यालयले विद्यार्थी र अभिभावकलाई त आकर्षण गरेकै छ, जिल्लाका अन्य सामुदायिक विद्यालयहरूको प्रेरणासमेत बनेको छ ।

यस विद्यालयले पछिल्लो ४ वर्षमा सिकाइ उपलब्धिमा ठुलो फट्को मारेको छ । २०७९ सालमा ६७ प्रतिशत सिकाइ उपलब्धि हासिल गरेको विद्यालयले २०८१ मा आइपुग्दा ७९ प्रतिशत हासिल गरेको विद्यालयले जनाएको छ । २०८२ सालमा ८०.२० प्रतिशत सिकाइ उपलब्धि हासिल गर्ने लक्ष्य लिएको प्रधानाध्यापक सुमन गौतमले बताए । ‘अर्को वर्ष नगरकै उत्कृष्ट बन्ने लक्ष्यमा छौँ,’ उनी भन्छन् ।

प्रयोगात्मक कक्षामा जोड दिने यो विद्यालयका विद्यार्थी अतिरिक्त क्रियाकलापमा पनि उत्कृष्ट छन् । जिल्ला स्तरका धेरै प्रतियोगितामा उत्कृष्ट नतिजा ल्याउने यो विद्यालयले केही समयअघि नगर स्तरीय शैक्षिक महोत्सवमा कलाकृतितर्फ नगरका ५२ विद्यालयमध्ये नै उत्कृष्ट स्थान हासिल गरेको थियो ।

तत्कालीन माओवादी विद्रोहमा सहादत प्राप्त गरेका परिवारका १५ जना छोराछोरी पढाउने गरी २०६७ सालमा स्थापना भएको यो विद्यालयमा अहिले भव्य संरचना छ । ४५० जनाभन्दा बढी विद्यार्थी छन् । झन्डै १ किलोमिटर आसपास रहेका दुइटा निजी र एउटा सामुदायिक विद्यालयसँग प्रतिस्पर्धा गरिरहेको छ ।

युद्धका क्रममा सेनाको निशानामा परेका ७ जना माओवादी कमान्डरहरूको सम्झनामा यो विद्यालय खोलिएको हो । ‘विशाल’ भनिने शेरमान कुँवर, ‘कुमार’ भनिने मोहनचन्द्र गौतम र ‘मा.ल.ग.दि.स.’ अर्थात् मानबहादुर स्याङ्तान, लक्ष्मण देवकोटा, गंगामायाँ स्याङ्तान, दीपा कार्की र सरला देवकोटाको सम्मानमा विद्यालय खोलिएको हो । सिन्धुलीका स्थायी बासिन्दा विशालले खयरमारालाई कर्मथलो बनाउँदै युद्धमा सहभागी भएका थिए भने अन्य ६ जना खयरमाराकै बासिन्दा थिए ।

बढ्दै अभिभावकको भरोसा

नजिकै निजी र सामुदायिक विद्यालय भए पनि यस विद्यालयले विद्यार्थी अभाव झेल्नुपरेको छैन । शैक्षिक सत्र २०८१ मा २५७ जना विद्यार्थी रहेको यस विद्यालयमा अहिले सयभन्दा बढी नयाँ विद्यार्थी भर्ना भएका छन् । विद्यालय व्यवस्थापन समितिका अनुसार अहिलेसम्म ३५८ जना भर्ना भइसकेका छन् भने अझै भर्ना गर्ने क्रम जारी छ । ४०० भन्दा बढी विद्यार्थी नलिने योजनामा विद्यालय छ ।

‘अहिले केही शिक्षक अपुग छन् । हामीले नगरपालिकासँग माग गरेका छौँ,’ प्रधानाध्यापक गौतमले भने, ‘समुदायको अपेक्षा र भरोसा कायम राख्न विद्यार्थी संख्या ४०० मा सीमित राखेर पढाइलाई अब्बल बनाउनेछौँ ।’ नजिकै रहेको पुरानो लक्ष्मीनारायण माध्यमिक विद्यालयमा विद्यार्थी घट्दै जाँदा नयाँ भनिएको यो विद्यालयले भने पढाइ गुणस्तर र प्रयोगात्मक सिकाइलाई मुख्य पुँजी बनाएर थप विश्वास आर्जन गरिरहेको छ ।

पहिले थामिनसक्नु विद्यार्थी हुने लक्ष्मीनारायणका ७० प्रतिशत विद्यार्थीको रोजाइ यही विद्यालय बनेको छ । सहरमा समेत सामुदायिक छाडेर निजी विद्यालयमा पढाउने अभिभावकको संख्या बढिरहेका बेला ग्रामीण क्षेत्रको यो विद्यालयमा विद्यार्थी भर्ना सीमित गर्नुपरिरहेको छ । खयरमारा खोला किनार नजिकको करिब २ कठ्ठा जग्गामा निर्मित ४ कोठे भवन अपुग भएपछि अहिले अर्को भवन निर्माणकै चरणमा छ ।

शैक्षिक अवलोकन गर्नेको संख्या बढ्दै

समाजसेवी सहिदको नाममा खोलिएको यो विद्यालय एक्लो होइन, मधेसमा यसरी खोलिएका विद्यालय बग्रेल्ती छन् । तर, कतिपय विस्थापन भइसके भने कतिपय अस्तित्व बचाउनै धौधौ अवस्थामा छन् । माओवादीले १० वर्षसम्म सञ्चालन गरेको सशस्त्र विद्रोहसमेतको बलमा देशको शासन व्यवस्था नै परिवर्तन भयो । माओवादीका शीर्ष नेताहरू सर्वहाराबाट विलासी जीवनभोग गर्ने अवस्थामा पुगे । तर, उनीहरूलाई त्यो सान र शौकतमा पु¥याउने सहिदहरूलाई भने बिर्सिएका छन् ।

खयरमाराका स्थानीयले भने तिनै सहिद परिवारका १५ जना बालबालिकालाई लिएर विद्यालय खोले, र जिल्लाकै अब्बलमध्येकै बनाउने अभियानमा छन् । यो विद्यालय आमविद्यालयभन्दा केही फरक पनि छ । ७ जना सहिदको नाममा स्थापना भएको सम्भवतः देशकै पहिलो विद्यालय अवलोकनका लागि आउनेहरू पनि उत्तिकै छन् । हेर्न आउनेहरूले प्रशंसा गरिदिँदा हामीलाई झन् उत्साहित बनाएको छ,’ व्यवस्थापन समिति अध्यक्ष गौतम भन्छन्, ‘समुदायको साथ भएमा जस्तोसुकै परिवर्तन पनि गर्न सकिने रहेछ ।’

नेताहरूले जनयुद्ध बिर्सिंदै गएका बेला यो विद्यालयले त्यो त्याग र बलिदानलाई जीवन्त राखेको स्थानीय बताउँछन् । ‘जनयुद्धकै बलमा सत्तामा पुगेकाहरू विलासी जीवनमा रमाउँदा जनयुद्धको इतिहास नै मेटिने क्रममा छ,’ स्थानीय रामविनयले भने, ‘यो विद्यालय जनयुद्धको सम्मान गर्नेहरूको आस्था मात्र होइन, गुणस्तरीय जीवनका लागि एउटा पाठशाला पनि हो ।’

चुरे फेदीको बस्ती खयरमारा माओवादी विद्रोहको आधार इलाका हो । सो क्षेत्रमा अहिले पनि सहिद परिवारको दुःख, तत्कालीन शाही सेनाले बर्बरतापूर्वक हत्या गरेको ठाउँ, बंकर, युद्ध कौशल सिक्ने र लुकेका ऐतिहासिक घरलगायत युद्धकालीन थुप्रै अवशेष भेटिन्छन् ।
माओवादी विद्रोहमा सहादत प्राप्त गरेका खयरमाराका ७ जनाको सम्झना जीवन्त राख्न सुमन गौतम र शम्भु गौतमले लामो प्रयास गरे । उनीहरूकै अथक प्रयासपछि विद्यालय स्थापना हुन सकेको स्थानीय बताउँछन् । युद्धमा मारिएका कुमार अर्थात् मोहनचन्द्र गौतमका भतिज सुमन विद्यालयका प्रधानाध्यापक छन् भने व्यवस्थापन समिति अध्यक्ष शम्भु उनका सहोदर भाइ हुन् ।

प्रतिक्रिया