काठमाडौं । आइसिसी टी–२० विश्वकप महिला एसिया क्षेत्र छनोटअन्तर्गत नेपाल सुपर–३ मा प्रवेश गरेको छ । शुक्रबार हङकङ र बहराइनबीच अन्तिम लिग खेल वर्षाका कारण हुन नसक्दा नेपाल सुपर–३ मा प्रवेश गरेको हो ।
बिहीबारको खेलमा बहराइनलाई ६ विकेटले हराएसँगै नेपालको सुपर–३ मा पुग्ने सम्भावना जीवित भएको थियो । नेपालले ४ खेलमा २ जित, १ हार र १ रद्द खेलले ५ अंक जोड्यो ।
हङकङ र बहराइनको खेल वर्षाले रद्द हुँदा ४ खेलमा हङकङको पनि ५ अंक पुग्यो । नेपालले २ खेल जितेको र हङकङले मात्र १ खेल जितेका कारण नेपाल अंक तालिकाको शीर्ष स्थानमा रह्यो । बहराइनको ४ खेलमा २ अंक छ ।
छनोटमा सहभागी भएका ९ टिमलाई ३ समूहमा विभाजन गरिएको थियो । हरेक समूहको विजेता सुपर–३ मा प्रतिस्पर्धा गर्ने प्रावधानअनुसार नेपाल, युएई र थाइल्यान्डले सुपर ३ खेल्नेछन् । सुपर थ्रीमा सबैले एकअर्कासँग १ पटक खेल्नेछन् भने पहिलो चरणको अंक पनि जोडिनेछ । शीर्ष २ टोलीले ग्लोबल छनोटमा स्थान बनाउने छन् ।
प्रतिक्रिया