महिला टी– २० विश्वकप एसिया छनोट : नेपालले बहराइनलाई ९ विकेटले हरायो

काठमाडौं । महिला टी– २० विश्वकप एसिया छनोटअन्तर्गत आज भएको दोस्रो खेलमा नेपालले बहराइनलाई ९ विकेटले हराएको छ ।

आज शनिबार वर्षाको कारण ५–५ ओभरमा घटाइएको खेलमा बहराइनले दिएको ४२ रनको लक्ष्य नेपालले ४.२ ओभरमा एक विकेट गुमाएर पूरा गर्यो । नेपालले यस जितसँगै अंक तालिकाको शीर्ष स्थानमा पनि उक्लिएको छ ।

नेपालको जितमा ओपनर कविता कुँवरले ११ बलमा ४ चौकासहित १८ रनको योगदान दिइन् । अर्की ओपनर सम्झना खड्काले १० बलमा १३ रन बनाइन् । त्यसैगरी कप्तान इन्दु वर्मा ५ बलमा ७ रन बनाउँदै नटआउट रहिन् । कविता भने रनआउट भएकी थिइन् ।

त्यसअघि टस जितेर पहिलो ब्याटिङको निम्तो पाएको बहराइनले एक विकेट गुमाएर ४१ रन बनाएको थियो । बहराइनका लागि दिपिका रसंगिकाले १३ बलमा नटआउट ३४ रन बनाइन् । उनले ६ चौका र एक छक्का प्रहार गरिन् ।

थरान्गा गजनायाकेले ३ र जेनाब फाजिलले २ रन बनाए । नेपालका लागि पुजा महतोले एक मात्र विकेट लिएकी थिइन् । अन्तिम ओभरमा दिपिकाले सबनम राईलाई १ छक्का र ३ चौकासहित २० रन प्रहार गरेपछि बहराइनले बलियो लक्ष्य प्रस्तुत गरेको थियो ।

नेपाल र हङकङको पहिलो शुक्रबार खेल वर्षाले रद्द भएको थियो भने बराबर अंक बाँडेका थिए । नेपालको ३ अंक पुग्दा हङकङको एक अंक छ । अब नेपालले मंगलबार हङकङ र बिहीबार बहराइनसँग खेल्नेछ ।

प्रतिक्रिया