भारत र पाकिस्तानमा रहेका नेपालीको सुरक्षाबारे संसदमा चासो

काठमाडौँ । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा शून्य समयमा सांसदहरुले भारत–पाकिस्तानबीच चलेको द्वन्द्वमा नेपाली नागरिकहरुको अवस्थाबारे सरकारको ध्यानाकर्षण गराएका छन् । सांसदहरुको ध्यानाकर्षणपछि सभामुख घिमिरेले सुरक्षालगायत पर्न सक्ने सम्भावित समस्याहरूप्रति आवश्यक व्यवस्थापन गर्न÷गराउन ‘रुलिङ’ गरेका छन् ।

संसदमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले छिमेकी राष्ट्र भारत र पाकिस्ताबीचको तनावका कारण नेपाल र नेपालीलाई पर्नसक्ने प्रभावबारे सजकता अपनाउन तथा पाकिस्तानमा अध्ययनरत विद्यार्थीको उद्धार गर्न सरकारसँग माग गरेका थिए भने नेकपा (एकीकृत समाजवादी) का सांसद शेरबहादुर कुँवरले भारतमा विभिन्न पेसा व्यवसायमा रहेका लाखौँ नेपाली नागरिकको सुरक्षामा ध्यान दिन सरकारको ध्यानाकर्षण गराए । सांसद बीना जैसवाल तथा सरस्वती सुब्बाले पनि भारत र पाकिस्तानबीचको तनावका कारण नेपालमा पर्नसक्ने असरबारे आफ्ना धारणा राखेका थिए ।

सभामुखको रुलिङ

प्रतिनिधिसभा सदस्यहरुले भारत–पाकिस्तानमा रहेका नेपालीको सुरक्षाका बारे सरकारको ध्यानाकर्षण गराएपछि त्यसपछि सभामुख देवराज घिमिरेले पनि सरकारको ध्यानाकर्षण गरेका छन् । ‘भारत र पाकिस्तानबीच सिर्जित अवस्थालाई दृष्टिगत गर्दै त्यहाँ बस्ने सम्पूर्ण नेपालीको सुरक्षालगायत पर्न सक्ने सम्भावित समस्याहरूप्रति आवश्यक व्यवस्थापन गर्न÷गराउन नेपाल सरकारको म ध्यानाकर्षण गराउँछु,’ सभामुख घिमिरेले भनेका छन् ।

यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले भारत र पाकिस्तानको तनावग्रस्त क्षेत्रबाट नेपाली विद्यार्थीको उद्धार गर्न माग गरेकी छन् । परराष्ट्र र शिक्षा मन्त्रालयलाई पत्र लेखेर सांसद श्रेष्ठले विद्यार्थीको उद्धार गर्न माग गरेकी हुन् । सांसद श्रेष्ठको उक्त पत्रमा भनिएको छ, ‘पाकिस्तानमा मानवीय क्षति बढ्दै गएको अवस्थामा त्यहाँ अध्ययनरत विद्यार्थीहरूले आफ्नो ज्यानको सुरक्षा गरिदिन र नेपाल फर्किने वातावरण बनाइदिन आग्रह गर्दै हामीलाई पत्र लेखेका छन् । पाकिस्तानको लाहोर, फैसलावाद, बाहावलपुर, मुल्तान, कराँची, सियालकोट, सहिवल जस्ता ठाउँहरूमा एमबीबीएस पढ्न गएका ८० भन्दा बढी नेपाली विद्यार्थीहरू रहेका छन् ।’

पहिलो असर हवाइ उड्डयनमा

भारत–पाकिस्तान तनावले नेपालको अन्तर्राष्ट्रिय हवाइ उडान प्रभावित भएको छ । नेपालबाट विशेष गरी पश्चिमतर्फ उड्ने कैयौँ विमानहरूलाई अहिले आउजाउ गर्न समय र खर्च थपिएको छ । अन्तर्राष्ट्रिय विमान कम्पनीहरूले पाकिस्तानको आकाशमार्ग छलेर आफ्ना सेवा सञ्चालन गर्न थालेका छन् । नेपालमा पश्चिमतिरबाट (खाडी क्षेत्रबाट आउने) आउने विमानहरू इरान, इराक, अफगानिस्तान, पाकिस्तान र भारत हुँदै सिमराको आकाशबाट पस्ने गर्थे भने पश्चिमतिर जाँदाचाहिँ कुनै सिमरा, दिल्ली, कराँची, अफगानिस्तान हुँदै अनि कुनै महेन्द्रनगर हुँदै भारत पसेर त्यही मार्ग हुँदै जाने गर्थे ।


नेपालकै विमानसेवाहरू वायुसेवा निगम र हिमालयन एअरलाइन्सले पनि युएई, साउदी अरब तथा कतारमा उडान गर्छन् । तिनले प्रयोग गर्ने मार्ग पनि उही हो । अबचाहिँ भारतको मुम्बई पुगेर त्यहाँबाट अरब सागर र ओमान हुँदै जानेआउने हुन थालेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले बताएको छ । हाल दैनिक आउने १५ र जाने १५ वटाजति उडानहरूलाई असर परेको छ ।

घुमाउरो आकाशमार्ग प्रयोग गर्दा समयका साथै इन्धनको पनि धेरै उपभोग हुन जाने भएकोले लाखौँ रुपैयाँ बढी खर्च हुने अवस्था आएको छ । हाललाई टिकटको मूल्य नबढे पनि धेरै यस्तै अवस्था लम्बिए भाडादर बढ्न सक्ने आँकलन गरिएको छ ।

त्यस्तै, नेपालले भारतबाट आयात गर्ने प्रमुख बस्तु इन्धन हो । भारत–पाकिस्तान तनावले इन्धन आयात पनि प्रभावित हुने पक्का छ । केही समयका लागि मौज्दात राखे पनि तनाव लम्बिए नेपाली बजारमा इन्धनको अभाव हुन सक्ने बताइएको छ ।
भन्सार विभागका अनुसार यस वर्ष ४६ अर्ब ५८ करोड ७० लाख ६७ हजार रुपैयाँको ४१ करोड ५ लाख ९३ हजार ६२८ हजार किलोलिटर एलपी ग्याँस, ९१ अर्ब २६ करोड ३ लाख ४१ हजार रुपैयाँको १० लाख १३ हजार ३७५ किलोलिटर डिजेल र ४७ अर्ब ७७ करोड ६४ लाख ४ हजार रुपैयाँको ५ लाख ४७ हजार ५७४ किलोलिटर पेट्रोल आयात भएकोे छ । चालु आर्थिक वर्षको ९ महिनामा १४ अर्ब ६४ करोड १४ लाख ७१ हजार रुपैयाँको १ लाख ६० हजार २१३ किलोलिटर हवाई इन्धन आयात भएको छ ।

०००

परराष्ट्र मन्त्रालयले भन्यो– ‘पाकिस्तानस्थित नेपाली विद्यार्थीको सम्पर्कमा रहेका छौँ’


परराष्ट्र मन्त्रालयले भारत र पाकिस्तानबिच उत्पन्न तनावका कारण समस्यामा परेका पाकिस्तानस्थित नेपाली विद्यार्थीको सहयोगका लागि सम्पर्कमा रहेको जनाएको छ । मन्त्रालयले शुक्रबार अपराह्न एक सूचना जारी गर्दै नेपाली विद्यार्थीसँग सम्पर्कमा रहेको र आवश्यक सहयोगका लागि पाकिस्तानस्थित नेपाली दूतावास सक्रिय रहेको जनाएको छ ।


परराष्ट्रद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हालै विकसित घटनाक्रमका सन्दर्भमा पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थी एवं अन्य नेपालीहरूको सुरक्षा तथा हित सुनिश्चित गर्नेतर्फ नेपाल सरकार पूर्ण रूपमा सचेत छ । यसका निमित्त पाकिस्तानस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका सम्पूर्ण विद्यार्थी एवं नेपालीहरूसँग निरन्तर सम्पर्कमा रही काम गरिरहेको छ ।’


यससम्बन्धमा तत्कालै थप कुनै सहयोग आवश्यक परेमा नेपाली विद्यार्थी तथा उनीहरूका अभिभावक, आफन्त एवं त्यहाँ रहेका नेपालीले इस्लामावादस्थित नेपाली दूतावासलाई सम्पर्क गर्ने सक्ने परराष्ट्र जनाएको छ । परराष्ट्रले पाकिस्तानमा रहेका नेपालीलाई तत्काल कुनै सहयोग आवश्यक परेमा दूतावासका तृतिय सचिव वृन्दा सुवेदीलाई ९२–३३१३२९३११९ नम्बर र आर्सलान मेहमुदलाई ९२–३४०५१७४२६१ नम्बरमा फोन गर्न अनुरोध गरेको छ ।

सुरक्षासम्बन्धी निर्देशन पालना गर्न भारतमा रहेका नेपालीलाई दूतावासको आग्रह


भारतस्थित नेपाली दूतावासले पनि शुक्रबार विज्ञप्ति जारी भारतमा रहेका नेपालीहरुलाई सचेत गराएको छ । नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले भारतमा रहेका नेपालीहरूलाई भारत सरकारको आधिकारिक निकायबाट जारी भएका सुरक्षासम्बन्धी निर्देशनहरूको पालना गर्न विज्ञप्तिमार्फत आग्रह गरेको छ । पहलगाममा भएको आतंकवादी हमलापछि विकसित घटनाक्रमहरूलाई मध्यनजर गर्दै भारतमा रहेका नेपालीहरूलाई सचेत र सुरक्षित रहन भारत सरकारले जारी गरेका निर्देशनहरूको पालना गर्न आग्रह गरिएको छ ।

दूतावासले भारतमा रहेका नेपालीलाई संकटकालीन अवस्थामा सुरक्षित र आपत्कालीन सेवा प्राप्त हुन सक्ने नजिकको स्थानको पहिचान गर्न पनि अनुरोध गरेको छ । कुनै आपत्कालीन अवस्था आएमा नयाँ दिल्लीस्थित राजदूतावास र नेपाली महावाणिज्य दूतावास कोलकत्तामा आवश्यक समन्वय र सहजीकरणको लागि सम्पर्क गर्न समेत सूचनामा भनिएको छ ।

प्रतिक्रिया