सात वर्षदेखि रोकियो बागमती तीर्थयात्रा

काठमाडौं । काठमाडौं उपत्यकाको सभ्यताको स्रोत बागमती नदीको कटुवाल दहबाट वाग्द्वारसम्म १८ कोशको दूरीमा हुने बागमती तीर्थयात्रा यस वर्ष पनि नहुने भएको छ ।

बागमती प्रदूषित भएपछि ४० वर्षदेखि रोकिएको यात्रा पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा डा प्रदीप ढकाल भएका बेला विसं २०७५ र २०७६ मा भएको थियो । यात्रामा गरिनुपर्ने विधि विधानका सबै काम पशुपति आगम घरका पुजारी मदन भट्टले गर्ने परम्परा रही आएको छ ।

१७ दिनको यात्रालाई विसं २०७५ मा सात दिनमा झारेर सम्पन्न गरिएको थियो । विसं २०७६ मा भने नौ दिनको यात्रा गरिएको थियो । विसं २०७७ देखि प्रत्येक वर्ष दिन बढाउँदै १७ दिनसम्मकै यात्रा गर्ने कोषले बताए पनि सात वर्षदेखि यात्रा नै हुन छोडेको छ ।

विसं २०७७ मा कोरोना महामारीका कारण रोकिएको बागमती तीर्थयात्रा त्यसपछिका वर्षमा कोषको अरुचिका कारण हुन नसकेको स्थानीयवासीको गुनासो छ । कोष संस्कृति महाशाखाका निमित्त प्रमुख ईश्वरमान राजभण्डारी यस वर्ष पनि बागमती तीर्थयात्राको कुनै तयारी नभएको बताउँछन् ।

कटुवाल दहबाट वाग्द्वारसम्म हुने यात्राका क्रममा हिमवत्खण्डमा उल्लेख भएका नदी किनारका १६५ तीर्थ स्थानमा स्नान एवं पूजा र दर्शन गरिने परम्परा छ ।

यो यात्रा नेमुनिले चलाएको विश्वास गरिन्छ । यसक्रममा विभिन्न स्थानमा बागमतीको तन्त्र साधनासमेत गरिने आगम घरका भट्ट मदन भट्टले बताए । यात्राले बागमती स्वच्छ राख्न जागरण गर्ने विश्वास गरिएकामा तीर्थयात्रा नै रोकिएपछि बागमती शुद्धीकरणमा अझै समस्या आउने भएको कोषको भनाइ छ ।

प्रतिक्रिया