पूर्वी नेपालको सौन्दर्य र संस्कृतिमा आधारित चलचित्र ‘ऊनको स्वीटर’ प्रदर्शन हुँदै

काठमाडौं । चलचित्र ‘ऊनको स्वीटर’ मा पूर्वी नेपालको सुन्दरता, संस्कृतिलाई देख्न पाइने अभिनेता विपिन कार्कीले बताएका छन् । चलचित्रको श्रव्यदृश्य (ट्रेलर) सार्वजनिक गर्दै अभिनेता कार्कीले चलचित्रमा ‘गुरुङसेनी’ युवती र ‘काफ्ले ब्राह्मण’ युवकबीचको प्रेम सम्बन्धमा आउने जातीय अन्तर्विरोधको कथा समेटिएको बताए ।

उनले भने, ‘गीतसंगीतझैँ सरल र सहज कथामा चलचित्र बनेको छ, यसले दुई दशक अगाडिको समयमा फर्काउँछ र त्यसबेलाको एउटा ग्रामीण परिवेशसँग परिचित गराउँछ, यो चलचित्र हेर्नेसँगै अनुभूति गर्ने किसिमको बनेको छ ।’

उनले पछिल्लो समय आइरहेका भन्दा नितान्त भिन्न भूमिकामा आफू चलचित्रमा देखिने बताए । उक्त चलचित्रका निर्देशक नवीन चौहानले चलचित्रमार्फत आफूले कल्पना गरेको संसारलाई दर्शकसम्म पुर्याउन लागेको बताए ।

‘मैले सोचेको एउटा संसारलाई चलचित्रको पर्दामा ल्याएको छु, यो पात्र र यहाँको परिवेश मेरो कल्पना र यथार्थ हुन्, गीतसंगीतमार्फत् कथा भन्दै गर्दा यसपटक ठूलो पर्दामा आएका छौँ’, उनले भने ।

पूर्वी नेपालको पाँचथर जिल्लामा छायांकन गरिएको चलचित्रमा अभिनेता कार्कीसँगै अभिनेत्री मिरुना मगर, परीक्षा लिम्बू, विल्सनविक्रम राई, सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बालगायतका कलाकारले अभिनय गरेका छन् । अभिनेत्री मगरले उक्त चलचित्रमा आँखालाई शीतलता, कानलाई कर्णप्रिय संगीतसहित पाँचथरको एक समाजको कथालाई देखाइएको बताइन् ।

‘बाल्यकाल नै विदेशमा बितेकाले होलो, यसपटक छुटै संसारमा बाच्न पाएँ, मैले आफ्नो पात्र अनुसारको भूमिका सफलतापूर्वक पूरा गरेकी छु, चलचित्रले गुरुङ–मगर र बाह्मण समुदायको संस्कृति र आपसी सद्भावलाई झल्काउने कोशिस गरेको छ’, अभिनेत्री मगरले भनिन् ।

उक्त चलचित्रमा गीतसंगीत निर्देशकको भूमिका गायक सुजन चापागाईंले निर्वाह गरेका छन् । उनले चलचित्रमा काम गर्दा नयाँ अनुभव सँगालेको बताए । निर्माण पक्षका अनुसार यही वैशाख २६ मा नेपालसहित विदेशमा समेत सो चलचित्र प्रदर्शन हुनेछ ।

प्रतिक्रिया