गड्सेरा ‘धुवाँमुक्त गाविस’ घोषित

धनगढी, १८ चैत । डोटीमा गड्सेरा गाविसलाई धुवाँमुक्त गाविस घोषणा गरिएको छ । सदरमुकाम सिलगढीबाट करिब एक दिनको पैदल दूरीमा रहेको गड्सेरा गाविसलाई शुक्रबार जिल्लाकै पहिलो धुवाँमुक्त गाविस घोषणा गरिएको हो ।

गाविसका सबै घरपरिवारले आधुनिक चुलो बनाएर प्रयोग गर्न थालेपछि औपचारिक कार्यक्रम गरेर धुवाँँमुक्त गाविस घोषणा गरेको जिल्ला ऊर्जा विकास अधिकृत रमेश महर्जनले बताए ।
पाँच सय ३८ घरधुरी रहेको गाविसमा सबै घरपरिवारले आधुनिक चुलो बनाएर प्रयोग गर्न थालेपछि घरभित्रको वातावरण सफासुग्घर र समयको पनि बचत भएको स्थानीयले बताए । गाउँघरका सबैले आधुनिक चुलो बनाएर प्रयोग गर्न थालेपछि गड्सेरा जिल्लाकै पहिलो धुवाँमुक्त गाविस हुनपुगेको गाविस सचिव शेरबहादुर विष्टले बताए ।
‘आधुनिक चुलोको प्रयोगसँगै वनजङ्गल मासिने क्रम पनि रोकिएको छ र पहिले एकभारी दाउराका लागि पूरै दिन बिताउनुपर्ने अवस्था रहेकोमा आधुनिक चुलोको प्रयोगसँगै त्यसको अन्त्य भएको छ’ सचिव विष्टले भने । आधुनिक चुलोको प्रयोगले वनजंगल जोगिएको र धुवाँबाट हुने विभिन्न रोगबाट स्थानीयले मुक्ति पाएसँगै वातावरण सफासुग्घर हुनपुगेको विष्टले बताए ।
सुरुमा आधुनिक चुलोको प्रयोग गर्न अप्ठेरो भए पनि प्रयोग गर्दै जाँदा सजिलो लाग्न थालेको गृहिणीहरू बताउँछन् । ‘बानी नपरेसम्म रकेट चुलोको प्रयोग गर्न अप्ठेरो लाग्थ्यो तर प्रयोग गर्दै जाँदा यो सरल र फाइदाजनकसमेत सिद्ध भएको छ, परम्परागत चुलोमा खाना पकाउँदा धेरै दाउरा चाहिने र आँखा दुख्ने तथा घरको भित्ता र लुगा चाँडो फोहोर हुने समस्या थियो तर आजकाल समस्या टरेको छ’ दीपा बमले भनिन् ।
डोटीस्थित नवीकरणीय ऊर्जा सेवा केन्द्रका क्षेत्रीय संयोजक टेकबहादुर बलायरले गड्सेरा सुदूरपश्चिमको दोस्रो धुवाँमुक्त गाविस भएको बताए । यसअघि अछामको हात्तिकोट गाविसमा आधुनिक चुलो बनाएर प्रयोग गरी हात्तिकोटलाई पहिलो धुवाँमुक्त गाविस घोषणा गरिएको थियो ।
गड्सेरालाई सन् २०१४ सम्म खुला दिसामुक्त गाविस घोषणा गर्ने कार्यक्रम रहेको भए पनि त्यसअगावै सबै घरपरिवारले चर्पी बनाइसकेकाले आगामी तीन महिनाभित्र खुला दिसामुक्त गाविस घोषणा गरिने गाउँ खानेपानी तथा सरसफाई समन्वय समितिका संयोजकसमेत रहेका गाविस सचिव विष्टले बताए ।

प्रतिक्रिया