तरहरा । पूर्वको सुन्दर सहर तरहरामा हुन लागेको राष्ट्रिय कविता प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । २०८२ वैशाख १२ गते शुक्रवारका दिन इटहरीको तरहरामा एक भव्य समारोहबीच हुन लागेको प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजक संस्था श्रीजनसहयोग २०५० समूहका अध्यक्ष सन्तोष श्रेष्ठले जानकारी दिए ।
कवि नारायण पौडेलको स्मृतिमा आयोजित तरहरा राष्ट्रव्यापी खुल्ला कविता प्रतियोगिता–२०८२’ का लागि कविहरूले धमाधम कविता पठाइरहेका छन् ।
प्रथम हुने कविलाई नगद ५१ हजार एक सयसहित पुरस्कृत गरिने
श्री जनसहयोग माध्यमिक विद्यालयमा २०५० सालमा एसएलसी दिएका समूहले आयोजना गर्न लागेको प्रतियोगितामा प्रथम हुने कविलाई नगद ५१ हजार एक सयसहित पुरस्कृत गरिने समूहका अध्यक्ष सन्तोष श्रेष्ठले जानकारी दिए ।
यसैगरी द्वितीय, तृतीय र प्रोत्साहन पुरस्कार दुई जनालाई क्रमशः ४१ हजार एक सय, ३१ हजार एक सय र ११ हजार एक सय प्रदान गरिनेछ । यसैगरी छनोट भएका मध्ये अन्य पाँच जनालाई नगद पाँच हजार एक सयसहित पुरस्कृत गरिने अध्यक्ष श्रेष्ठले बताए ।
कवि र कवितालाई समाजमा अझ परिचित बनाउने र प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रव्यापी कविता प्रतियोगिता आयोजना गर्न लागिएकाले उनको भनाइ छ ।
कविता २०८१ चैत मसान्तम्म पठाउन सकिने
सार्वजनिक सूचनाअनुसार कविता समसामयिक विषयमा, नेपाली भाषामा लेखिएको हुनुपर्ने, गद्य वा पद्यमा रचित बढीमा तीन सय शब्दसम्मको हुनुपर्ने, मौलिक र अप्रकाशितरअप्रसारित हुनुपर्ने, प्रतियोगी कविहरूले हालसालै खिचेको एक प्रति रंगीन फोटो, सम्पर्क ठेगाना र मोबाइल नम्बर कवितासँगै अनिवार्य पठाउनुपर्ने कार्यक्रम संयोजक मुक्तिनाथ घिमिरेले बताए ।
उनका अनुसार प्रतियोगिताका निम्ति प्राप्त भएका कविताहरूलाई विज्ञहरूको तीन चरणको मूल्यांकन पद्धतिबाट छनोट गरी उत्कृष्ट १० कविलाई २०८२ वैशाख १२ गते तरहरामा आयोजना हुने कार्यक्रममा वाचनपश्चात् पुरस्कृत गरिने छ ।
छानिएका उत्कृष्ट १० कविहरू सशरीर उपस्थित भएर कविता वाचन गर्नुपर्ने
नेपाली भाषा, कला, संस्कृति, धर्म र स्थानीय जीवनपद्धतिलाई प्रवर्द्धन गर्दै व्यापक बनाउने इमानदार उद्देश्यले स्थानीय सरकार, संघ संस्था र व्यक्तित्वहरूको सक्रिय सहभागीतामा तरहरामा पहिलोपटक ‘राष्ट्रिय कविता प्रतियोगिता–२०८२’ आयोजना गर्न लागिएको हो ।
देश तथा विदेशबाट नेपाली भाषामा लेखिएर सहभागी भइ छानिएका उत्कृष्ट १० कविता वाचन गरिने तय भएको घिमिरेको भनाइ छ । यस कार्यक्रममा स्थानीय लब्ध प्रतिष्ठित र राष्ट्रिय रूपमासमेत असल कर्मको कारणले चिनिएका व्यक्तित्वहरूलाई सम्मानसमेत गरिने आयोजकले तयारी गरेका छन् ।
खासगरी यो प्रतियोगिता कम्तीमा पाँच वर्ष निरन्तर आयोजना गरिने र आवश्यक तयारीसहित सुरू हुने साहित्यिक–सांस्कृतिक भेला नेपालकै सबैभन्दा ठूलो पुरस्कार राशीसहितको हुने आयोजकको दाबी छ । प्रतियोगिताका लागि करिब ६ लाख रुपैयाँ खर्च हुने आयोजकको भनाई छ ।
प्रतिक्रिया