काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई करिब ८ लाख रुपैयाँ जरिमाना तोकेको छ । महानगरले पूर्वराजा शाहको नाममा पत्र लेख्दै शुक्रबार तिनकुनेमा भएको प्रदर्शनलाई लिएर विभिन्न ९ वटा शीर्षकमा ८ वटा पत्र लेखेर सो रकमको जरिमाना तोकेको हो ।
शुक्रबारको आन्दोलनका क्रममा तिनकुने क्षेत्रमा तोडफोड र फोहोर गरेको लगायत विभिन्न शीर्षकमा पूर्वराजा शाहलाई काठमाडौँ महानगरपालिकाले जरिमाना तोकेको हो । हिंसात्मक आन्दोलनका क्रममा महानगरको दमकलसहित अन्य विभिन्न भौतिक संरचनामा पनि क्षति पुगेको थियो ।
ज्ञानेन्द्र शाह, निर्मल निवास काठमाडौँका नाममा शुक्रबारकै मितिमा ८ वटा बेग्लाबेल्लै पत्र काटेर कुल ७ लाख ९३ हजार जरिमाना तोकिएको हो । जसमा ६ स्थानमा सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेबापत ६ लाख रुपैयाँ जरिमाना तोकिएको छ भने दमकल तथा अग्नि नियन्त्रकहरूमाथि ढुंगामुढा गरी क्षति पुर्याएको भन्दै थप १ लाख ३० हजार रुपैयाँ, तिनकुनेमा रूखबिरुवा तथा रेलिङ तोडफोड गरेको आरोपमा ४० हजार र आइल्यान्डमा भएको तोडफोडबापत २३ हजार रुपैयाँ जरिमाना तोकिएको छ ।
शुक्रबार तिनकुने क्षेत्रमा प्रदर्शनकारीहरूले प्रहरी घेरा तोडेपछि तितरबितर बनाउन प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । त्यसपछि प्रदर्शनकारीहरूले निजी घरमा तोडफोड र आगजनी गरेका थिए । आगो निभाउन गएको काठमाडौँ महानगरको दमकललाई पनि ढुंगा प्रहार गरेका थिए । प्रदर्शनकारीहरूले महानगरका विभिन्न संरचना, दमकल, अग्नि नियन्त्रकहरूमाथि प्रहार गरेकामा महानगरले पूर्वराजा शाहलाई जरिमाना लगाउने निर्णय गरेको हो । महानगर प्रहरी प्रमुख राजु पाण्डेका अनुसार उक्त जरिमाना पत्र आज (आइतबार) कार्यालय समयमा निर्मल निवासमा बुझाउने तयारी छ ।
गत फागुन २५ गते पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौँ आउँदा त्रिभुवन विमानस्थलदेखि स्वागत र प्रदर्शनका क्रममा पनि फोहोर र महानगरका संरचनामा क्षति पुर्याएको भन्दै राप्रपालाई १ लाख रुपैयाँ जरिमाना तोकेको थियो । त्यसबेला पत्र पाउनासाथ राप्रपाका प्रवक्ता तथा सांसद ज्ञानेन्द्र शाहीले महानगर पुगेर जरिमानाबापतको रकम बुझाएका थिए ।
विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आह्वान गरेको प्रदर्शनलाई नवराज सुवेदी नेतृत्वको राजसंस्था पुनस्र्थापना संयुक्त जनआन्दोलन समिति, राप्रपा र राप्रपा नेपालले पनि समर्थन जनाएका थिए । शुक्रबारको घटनापछि प्रसाईं फरार छन् । प्रदर्शनमा पुगेका जनआन्दोलन समितिका सदस्य सचिव राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशम्शेर राणालगायत प्रहरीको नियन्त्रणमा छन् ।
शनिबार अनुगमन, शुक्रबार नै पत्र !
महानगरका अनुसार आन्दोलनबाट तिनकुने–कोटेश्वर–जडिबुटी क्षेत्रमा भएको क्षतिबारे विवरण संकलन गर्ने काम शनिबार भएको थियो । साथै, विवरण संकलन गरी लाग्ने खर्च र सरसफाइको शुल्क पनि पूर्वराजा शाहबाटै असुल गराउने निर्णय भएको थियो । तर, जस लिने र राम्रो काम गर्यौँ भन्ने देखाउन महानगरले बढी हतार गरेको देखिन्छ ।
महानगरले ज्ञानेन्द्रलाई गरेको जरिमाना पत्र शनिबार नै सार्वजनिक भयो, त्यसमाथि शुक्रबारकै मिति राखेर । शुक्रबार ४ बजेर २५ मिनेटपछि शनिबार बिहान ७ बजेसम्म सो क्षेत्रमा कफ्र्यु थियो । त्यसबेला विवरण संकलन गर्न सक्ने अवस्था थिएन । शनिबार विवरण संकलन गरेर जरिमाना निर्धारण गरेकामा शुक्रबारकै मिति किन राखियो ? भन्ने प्रश्नमा महानगरका प्रहरी प्रमुख पाण्डेले विवरण संकलनको काम शनिबार गरे पनि पत्रकै मितिलाई आधार मान्नुपर्ने बताए ।
उक्त जरिमाना पत्र आज (आइतरबार) मात्र निर्मल निवास पुर्याउने तयारी महानगरले नै गरिरहँदा शनिबार नै सो विवरणको पत्र सार्वजनिक गर्नुले उक्त कदम ‘पपुलारिटी’का लागि भएको आकलन गरिएको छ । विशेष गरी सरकारी पत्रहरू सम्बन्धति निकायमा पेस नगरी सार्वजनिक गर्न पाइँदैन ।
प्रतिक्रिया