म्यानमार । थाइल्यान्ड र चीनको दक्षिण भेगमा समेत असर पर्ने गरी शुक्रबार म्यानमारमा गएको शक्तिशाली भूकम्पका कारण निकै ठुलो जनधनको क्षति भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार शुक्रबार म्यानमारको सागाइङ केन्द्रबिन्दु भएर ७ दशमलव ७ म्याग्निच्युडको भूकम्प गएको हो ।
युएसजिएसका अनुसार पहिलो कम्पनको १२ मिनेटपछि ६ दशमलव ४ रेक्टर म्याग्निच्युडको अर्को कम्पन गएको थियो । भूकम्प यति शक्तिशाली थियो कि, जसको धक्का थाइल्यान्डको राजधानी बैंककमा समेत महसुस गरिएको थियो । भूकम्पको केन्द्र म्यानमारको सागाइङबाट १६ किलोमिटर उत्तर पश्चिममा परेको थियो । यसको गहिराइ १० किलोमिटर रहेको अमेरिकी भौगर्भिक सर्वेक्षण निकाय (युएसजिएस) ले जनाएको छ ।
म्यानमारको राजधानी नेपिएडोमा सडकहरू भासिएका छन् । भूकम्पको असर थाइल्यान्ड र चीनको दक्षिण पश्चिममा पनि असर परेको जनाइएको छ । सो भुइँचालोका कारण ज्यान गुमाउनेको संख्या एकिन हुन सकेको छैन । म्यानमारको सैनिक शासनले इन्टरनेटलगायत सञ्चारमा नियन्त्रण गरेका कारण क्षतिको विवरण आउन ढिलाइ भएको बिबिसीले जनाएको छ । यद्यपि भूकम्पमा सयौँ जना मरेको आशंका गरिएको छ ।
थाइल्यान्डमा मात्र एक निर्माणाधीन घर भत्किँदा त्यहाँ कार्यरत ५० मध्ये ४३ जना मजदुर हराइरहेका छन् । थाइल्यान्ड र म्यानमारमा गरी थुप्रै घर ढलेका छन् । बैंककका भत्किएका घरमा लगातार साइरन बजिरहेको छ । बारम्बार परकम्प गएका छन् । ठुलै परकम्पको प्रक्षेपण समेत गरिएपछि यसले धेरैलाई त्रसित बनाएको छ ।
म्यानमारको दोस्रो ठुलो सहर म्यान्डलेमा पनि धेरै घर भत्किएका छन् । राजधानी नेपिएडोसहित म्यानमारका ६ राज्य– सागाइङ, मान्डल्य, साग वे, बागो, इस्टनर्ज सानमा संकटकाल घोषणा गरिएको छ ।
भूकम्पले म्यानमारको मान्डल्यको इरावदी नदीमा रहेको लोकप्रिय अवा पुल पनि भत्किएको बताइएको छ । ताइवान र बंगलादेशका केही भागमा पनि भूकम्पको धक्का महसुस भएको बताइएको छ । भूकम्पले सबैभन्दा बढी क्षति पुगेको सहर म्यानमारको मान्डल्य हो । सहरका धेरै मन्दिर र बौद्धस्थल ध्वस्त भएका छन् ।
त्यसो त म्यानमारमा भूकम्प अन्यत्रभन्दा स्वाभाविक मानिएको छ । सन् १९३० देखि १९५६ बीचमा म्यानमारमा ७ रेक्टर स्केलभन्दा बढीको भुइँचालो ६ पटक गएको थियो ।
अनिश्चित बन्यो थाइल्यान्डमा हुने भनिएको बिमस्टेक
योसँगै थाइल्यान्डमा हुने भनेको बिमस्टेक शिखर सम्मेलन फेरि एकपटक अनिश्त बनेको छ । यसअघि गत भदौ १८ र १९ मा हुने भनिएको छैटौँ बिमस्टेक शिखर सम्मेलन त्यहाँको सरकारले सार्दै चैत २० देखि २२ गतेसम्कमका लागि तोकेको थियो । गत साउन ३० मा थाइल्यान्डको संवैधानिक अदालतले त्यहाँका निवर्तमान प्रधानमन्त्री स्रेथा थाविसिनलाई नैतिक उल्लंघन गरेको ठहर गर्दै पदमुक्त गरेपछि साउन ३२ मा पेतोङतार्न सिनावात्रा प्रधानमन्त्री बनेकी थिइन् ।
त्यसपछि थाइल्यान्ड सरकारले नयाँ सरकार गठन भएसँगै आवश्यक संसदीय प्रतिक्रिया र कानुनी प्रक्रियाहरुले गर्दा समयमै बिमस्टेक शिखर सम्मेलन गर्न नसक्ने जनाएको थियो । त्यसबेला थाइल्यान्ड जाने प्रधानमन्त्री केपी शर्मा ओलीको तयारी अन्तिम समयमा रोकीएको थियो ।
प्रतिक्रिया