छत्रेश्वरी देवीको मन्दिर नेपालका शक्तिपीठहरूमध्ये बली नचढाइने एक मात्र शक्ति पीठ हो । छत्रेश्वरीमा सर्वप्रथम अष्टभैरवले पूजा आराधना गरेकाले कुनै पनि अवसरमा बली चढाइने गरिँदैन ।
देशव्यापी भ्युटावर निर्माणको लहरपछि पर्यटनको विकासका लागि भन्दै धार्मिक स्थलहरूमा विशाल मूर्ति, अग्लो त्रिशूल, ठूलो घण्ट र ठूलो शंख निर्माण गर्न कतिपय पालिकाले प्राथमिकतासाथ बजेट छुट्याउने गरेका छन् । यसले केही हदसम्म पर्यटकलाई आकर्षण गर्दै स्थानीय धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाको संरक्षणलाई पनि सघाएको छ । पर्यटन विकासका लागि भएका सम्पदा र मठ मन्दिरहरू संरक्षण गर्नु राम्रो कुरा हो । तर त्यसको संरचना र इतिहास नै बिग्रने किसिमले निर्माण कार्य गर्न भने रोकिनु पर्दछ ।
कर्णाली प्रदेशको सल्यान पर्यटनका लागि ऐतिहासिक कोट धार्मिक महत्वले पहिचान भएको खैरावाङ र छत्रेश्वरी भगवती, कोटमौलाको कालिका, पिपलनेटामा रहेको शिव गुफा र कमलाक्षी मन्दिर धेरै मानिस तीर्थाटनका लागि पुग्ने ठाउँ हुन् । यो बाहेक आजभोलि कुपिण्डे तालमा पनि धेरै आन्तरिक पर्यटकहरू पुग्ने गर्दछन् । छत्रेश्वरी देवीको मन्दिर र शंखमूलको शंखपार्क पछिल्लो समय पर्यटकहरूको रोजाइमा पर्ने गरेको छ ।
सल्यान प्राकृतिक सौन्दर्य, जैविक विविधता र ऐतिहासिक तथा सांस्कृतिक सम्पदामा धनी जिल्ला हो । यहाँको शंखमूलमा कुनैबेला पानीले मिल चल्दा गीत नै बनेको थियो । ‘पानीले मिल चल्यो शंखमूलैमा…’ भन्ने भाकाको गीत राप्तीको सेरोफेरोमा गुन्जिन्थो । २०३२ सालमा स्थानीय बासिन्दा हुमबहादुर कवरले लंकिनी खोलाबाट कुलो बनाएर पानीमिल सञ्चालन गरेका थिए । त्यो बेला पानी मिल नौलो भयो र त्यो हेर्नकै लागि टाढाटाढाका मानिसहरू शंखमूल पुग्न थाले । कवर भारतको हिमाञ्चल प्रदेशमा काम गर्दथे । उनले पहिलोपटक पानी मिलको प्रविधि शंखमूलमा भित्र्याएका थिए ।
त्यो शंखमूल अहिले शंखपार्कमा परिवर्तन भएको छ । पार्कले गर्दा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ । नेपालकै ठूलो शंख निर्माण गरिएको यो पार्कमा पुगेर ठूलो शंखको अगाडि उभिएर फोटो खिच्ने पर्यटकको संख्या धेरै हुन्छ । सेल्फी खिच्ने र टिकटक बनाउन दैनिकजसो आउने पर्यटकहरूले पालो नै पर्खनु पर्दछ । इतिहासमा रुचि राख्ने पर्यटकहरूले शंखमूलको इतिहास खोज्ने प्रयास गर्दछन् । श्रीस्वस्थानी व्रतकथामा सल्यानको शंखमूलको वर्णन गरेको पाइन्छ ।
शंखमूल नजिकैको पहाड छत्रेश्वरीमा सतिदेवीको शेष अंग पतन भएपछि महादेवले शंखमूलको कुण्डमा स्नान गरी कैलाश पर्वततर्फ गएको श्रीस्वस्थानी कथा छ । यसैलाई आधार मानी अहिले पार्कभित्र महादेवले सतिदेवीलाई बोकेको मूर्ति पनि निर्माण गरिएको छ । पार्कमा परम्परागत मौलिक प्रकृतिको खरले छाएको घर पनि निर्माण गरिएको छ । पर्यटकहरूलाई आकर्षण गर्न पार्कभित्र महादेव–पार्वतीको विशाल मूर्ति, शंख, पानीको फोहोरा, चौतारा, शौचालय लगायतका पूर्वाधार बनाइएको छ ।
शंखमूलको पानी मूलबाट निस्कादा भूँमरीपरी शंखको आकारमा देखिन्छ । शंखकै आकारमा पानीको कुण्ड बनेकोले शंखमूल भन्ने गरिएको धार्मिक विश्वास रहेको छ । आजभोलि कुण्ड र मन्दिर मर्मत सम्भार गरी चिटिक्क पारिएको छ । शंखमूल पार्कमा पुग्ने धार्मिक पर्यटकले शंख र कुण्डमा पूजा गर्ने गर्दछन् । पार्कमा वाइफाइ पनि फ्रि गरिएको छ । शंखमूलको कुण्डमा तीर्थालुहरूले पापनाश तथा पूण्यप्राप्तिका लागि स्नान गर्दछन् ।
शंखको महत्व के होला ? शंख बजाउनुको अर्थ महत्व र फाइदा के रहेछ भन्ने बारेमा त्यहाँ पुग्ने पर्यटकहरूमा जान्ने उत्सुकता हुन्छ । धार्मिक शास्त्रअनुसार समुन्द्रमन्थनबाट प्राप्त भएको १४ रत्नमा १ रत्न शंख मानिन्छ । शंख समुद्रमा पाइने जलचर अर्थात् शंखेकीराकोे कडा आवरण हो । शुभ कार्य गर्दा शंख बजाइन्छ । हिन्दु धर्ममा अति पवित्र मानिने शंख धर्मको प्रतीक पनि हो । मृत्यु संस्कार अर्थात मलामी जाँदा पनि एकोहोरो शंख बजाइन्छ । शंखको वर्णन महाभारत तथा पुराणहरूमा पाइन्छ । शंखलाई विजय, समृद्धि, सुख, शान्ति, यश, कीर्ति एवं लक्ष्मीको प्रतीक मानिएको छ । शंखकोे ध्वनिले वरिपरिको वातावरण शुद्ध पार्दछ भने वातावरणमा भएका किटाणुहरूको विनाश गरी ऊर्जा प्रवाह गर्दछ । हिन्दु धर्ममा शंखको धेरै महत्व छ ।
शंख मूख्यतः ३ प्रकारका हुन्छन्– दक्षिणावर्ती, मध्यावर्ती र वामावर्ती । यसमध्ये मध्यावर्ती शंख एकदमै दुर्लभ हुन्छ । शंखमूलमा निर्माण गरिएको शंख कृत्रिम हो । यो केवल पर्यटकलाई आकर्षण गर्न र शंखको धार्मिक महत्व बुझाउन निर्माण गरिएको हो ।
राप्ती राजमार्गको शारदा पुलनजिकै शंखमूलभन्दा झन्डै ३ किलोमिटरमाथि छत्रेश्वरी मन्दिर पर्दछ । छत्रेश्वरी देवीको मन्दिर नेपालका शक्तिपीठहरूमध्ये बलि नचढाइने एकमात्र शक्ति पीठ हो । छत्रेश्वरीमा सर्वप्रथम अष्टभैरवले पूजा आराधना गरेकाले कुनै पनि अवसरमा बलि चढाइने गरिँदैन ।
छत्रेश्वरीमा महाशिवरात्रीको दिन भव्य मेलासमेत लाग्ने गर्दछ । मेलामा सल्यानी युवाहरूको मयुरनाच, बन्गाडी टप्पा र सिंगारु नाच हेरेर पर्यटकहरू रमाउँछन् । छत्रेश्वरीमा सुकमोला योगिनी पिशाचेश्वर महादेवको उत्पत्ति भएको धार्मिक विश्वास छ । यस भूमिमा कालआदि अष्टभैरवले तपस्या गरेको मान्यता छ ।
छत्रेश्वरी मन्दिर परिसरको उत्तरतिर ठुलो शीला छ । जहाँ सतिदेवीको शेष अंग पतन भएको विश्वास गरिन्छ । धार्मिक शास्त्रअनुसार नेपालका ५१ स्थानमा शक्तिपीठ रहेका छन् । पौराणिक कथाअनुसार सतीदेवीको पहिलो शरीर गुहेश्वरीमा पतन भएको थियो । सतीदेवीको अंग पतन भएको कारणले पनि धार्मिक पर्यटकलाई कूतुहलको विषय बन्दछ । जुन कारणले छत्रेश्वरीमा पुग्ने पर्यटकहरू अध्ययन, अनुसन्धान गर्नमा रुचि राख्दछन् ।
यसबाहेक पनि सल्यानमा भू–स्वर्गको अनुभूति गर्न सकिने स्थलहरू छन् । पर्यटकहरू छत्रेश्वरीमा जाँदा प्रकृतिसँग रम्न पनि खोज्दछन् । त्यस्ता पर्यटक प्रकृतिसँग रमाउन खैरावाङ जाने इच्छा राख्दछन् । पर्यटनका लागि खैरावाङ धार्मिक ऐतिहासिक र प्राकृतिक गन्तव्य मानिन्छ । पर्यटकहरूले छत्रेश्वरीदेखि खैरावाङ जाँदा बाटोमा पर्ने लान्तीमा निर्माण भएको १०८ शिवलिंग र त्यहा पर्यटन विकासका लागि निर्माण भएका अन्य संरचनाहरूको पनि अवलोकन गर्न सक्दछन् । खैरावाङ आजभोलि धार्मिक पर्यटक धेरै पुग्दछन् ।
शारदा नगरपालिका–११ मा खैरावाङ भूवनेश्वरी देवीको मन्दिर पर्दछ । खैरावाङ भूवनेश्वरी देवीको मन्दिर ऐतिहासिक मानिन्छ । नेपाल एकीकरणभन्दा पहिलेदेखि नै सल्यान, जाजरकोट, रुकुम, रोल्पा र प्युठानका भुरेटाकुरे राजाहरूले शक्तिपीठको रूपमा खैरावाङकी देवीलाई मान्दै आएका थिए । आजभोलि खैराबाङ भगवतीको मन्दिर पुरातत्व विभागले प्यागोडा शैलीमा पुनःनिर्माण गर्न लागेको छ । खैराबाङमा मंगलबार र शनिबार पूजा आराधना गर्ने तीर्थाटनका पर्यटकहरूको भिड लाग्ने गर्दछ । विशेषगरी विजयादशमी तथा चैते दसैँको दिन मेलाकै स्वरूप तीर्थालुहरू पुग्ने गर्दछन् ।
खैरावाङ प्राकृतिक भ्युटावर पनि हो । खैरावाङ मन्दिर परिसरबाट रुकुमको सिस्ने र गुर्जा हिमालको केही दृष्यसमेत अवलोकन गर्न सकिन्छ । असोजदेखि मंसिर महिनासम्ममा खैरावाङ पुग्ने पर्यटकहरूले मौसम सफा छ भने सल्यानका फालावाङ, ल्वाम पोखरी, लेकपोखरा, दमाचौर, स्यानीखाल, शारदाको डाडाँगाउँ, बाझकाँडा, कुमाकलेक, कजेरीमाथिको खामेलेक, कुपिण्डेको जैयतपानी, खलंगा बजार, मार्के, सिमखर्क, छायाक्षेत्रको रमणीय ज्युला अर्थात् फाँट र दक्षिणतर्फ निगालचुलीको ले समेत दृष्यावलोकन गर्न सक्दछन् ।
खैरावाङको नाम खाम मगर भाषामा रहेको छ । कुनै काल खण्डमा सल्यानको दक्षिणतिरको भूगोलमा खाम मगर जातीको बसोबास थियो । त्यसैबेलादेखि खैरावाङ मात्र होइन फालावाङ, धनवाङ, सिमवाङजस्ता ठाउँका नाम खाम भाषामा रहेका छन् । खैरावाङको अर्थ खाम भाषाबाट नेपालीमा अनुवाद गर्दा खै–खोई रा–बाख्रा र वाङ–चौर हुन जान्छ । अर्थात खाम मगरजातीको बसोवास भएको समयमा खैरावाङ बाख्रा चराउने चौर रहेछ । पछि बोलीचालीको क्रममा ठाउँको नाम नै खैरावाङ भएको मानिन्छ । वाङ शब्द खाम भाषाबाट आएको शब्द हो । वाङ शब्द रोल्पा र सल्यानका धेरै गाउँठाउँको नाम खाम भाषासँगै जोडिएका छन् । श्रीनगर बजारबाट करिव ८ किमि घुमाउरो रमणीय यात्रामा खैरावाङ पुग्न सकिन्छ ।
पर्यटनका लागि इतिहास, धार्मिक मठ मन्दिर र रमणीय गाउँठाउँको पहिचान मात्र गर्न जान्ने हो भने सल्यानमा अनगिन्ति ठाउँ छन् । गाउँघरमा घुम्दा फरक आनीबानी र ज्ञानको आदानप्रदान हुन्छ । मन हल्का हुन्छ र आत्मविश्वास बढेर आउँछ । अरूलाई सत्कार गर्ने परम्पराको विकास हुन्छ । सामाजिक जनजीवन, कला, संस्कृतिसँग पहिचान हुन्छ । अर्कोतर्फ भौगोलिक विविधतासँग नजिक हुन सकिन्छ । सडकको पूर्वाधार भरपर्दो हुने र पर्यटकहरू पुग्ने गाउँठाउँमा होमस्टे सञ्चालन गर्ने हो भने सल्यानमा आन्तरिक पर्यटकहरूको संख्या बढदै जान्छ । ग्रामीण बस्तीमा होमस्टे सञ्चालनले स्थानीय स्रोत साधनको परिचालन, स्थानीय कृषिको प्रवद्र्धनसँगै स्थानीयको आर्थिक उन्नति पनि हुन्छ । यसले स्थानीय कला, संस्कृति र जीवन पद्धतिकोसमेत संरक्षणमा सघाउँछ ।
होमस्टे सांस्कृतिक संगठनका रूपमा प्रचलित अंग्रेजी शब्द हो । जसलाई ग्रामीण भेगका घरमा बास बस्ने भन्ने अर्थ दिन्छ । यसले ग्रामीण क्षेत्रमा जाने पर्यटकहरूका लागि स्थानीय खाना परिकार, रहन सहनसहित घरघरमा खाने, बस्ने व्यवस्थालाई जनाउँछ । होमस्टे सुविधा भएका गाउँ पर्यटकको बसाईंमा सस्तो मात्र होइन रमाइलो पनि हुन्छ ।
खासगरी व्यवस्थित होटल, लज नभएको स्थानमा होमस्टे राम्रो विकल्प हो । होमस्टेको छुट्टै विशेषता छ । आनन्द र महत्व छ । होमस्टेमा पाहुना बनेपछि स्थानीय समाज, रहनसहन, संस्कृति, बोलीचालीलाई नजिकबाट साक्षात्कार गर्न पाइन्छ । त्यस्तै, यसमा आत्मीयता पनि मिल्छ । परिवारजस्तै भएर बस्न सकिन्छ । त्यसैले बिदामा कतै घुमघामको योजना बनाइरहेका पर्यटकहरूलाई होमस्टे राम्रो विकल्प हुन्छ ।
होमस्टेले ग्रामीण क्षेत्रका स्थानीय जनसमुदायमा स्वरोजगारका अवसर सिर्जना हुने गर्दछ । त्यसबाट प्राप्त आम्दानीका माध्यमबाट जीवनस्तरमा सुधार ल्याउने अवसर सिर्जना गराउँछ । सल्यानका गाउँहरू सुन्दर छन् । तर सबै गाउँमा पर्यटनका लागि पूर्वाधार बन्न सकेको छैन । सल्यानका गाउँहरूको विकासका लागि सबैभन्दा उत्तम, सजिलो र छिटो विकास गर्न सकिने भनेको ग्रामीण पर्यटन नै हो ।
सल्यान पुग्नका लागि दाङको तुलसीपुरदेखि राप्ती राजमार्गको यात्रा गर्नु पर्दछ । कपुरकोट सल्यान प्रवेश गर्ने मुख्य नाका पनि हो । तुलसीपुरदेखि सल्यान खलंगा ६५ किलोमिटरको दुरीमा पर्दछ । पछिल्लो समय सल्यानमा प्रायः सबै गाउँमा मोटर मार्ग पुगेको छ । मोटर मार्गको निर्माणसँगै सडक किनारमा व्यापारी केन्द्रको रूपमा बजार बिस्तार हुन थालेको छ । कपुरकोट, ल्वाहम, श्रीनगर, थारमारे, वाग्गेलाकुरी बनगार यसको उधारण हुन । पर्यटकहरूलाई गाउँघरमा बस्नखान कुनै असुविधा हुँदैन । ग्रामीण बजार बिस्तारसँगै कृषकहरू नगदेवालीको रूपमा उत्पादन हुने खेतीपातीमा लाग्न थालेका छन् । पर्यटनको विकासका लागि यो राम्रो कुरा हो । सल्यानमा अदुवा, सुन्तला, कागती सल्यानमा राम्रो उत्पादन हुन्छ । सल्यानको कपुरकोट तरकारी बजार भएको छ । कपुरकोटमा पर्यटकहरूले पुग्नै पर्ने ठाउँमा पर्दछ, मूलपानी । मूलपानीमा विभिन्न वनस्पतिका बोटबिरुवा पाइन्छ ।
पर्यटकहरूका लागि नदेखेको फरक प्राकृतिक भूगोलले आनन्दको अनुभूति हुन्छ । गाउँले परिवेशले पर्यटकको मनलाई रोमाञ्चित बनाउँछ, भावुक बनाउँछ । सल्यानमा हरेक गाउँका फरक फरक चालचलन, रीतिरिवाज, धर्म संस्कृति, भेसभूषा, भाषा, चाडपर्वहरू छन् । ती सबै मौलिक प्रकृतिका छन् । सल्यानका हरेक गाउँको आफ्नै महत्व र विशेष पहिचान छ । अब स्थानीय सरकारले ती सबै गाउँको पर्यटन विकासका लागि योजना बनाउनु पर्दछ र प्रचारप्रसार गर्नु पर्दछ ।
प्रतिक्रिया