काठमाडौं । सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा दीपक थापालाई नियुक्त गरेको छ । सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) थापालाई आईजीपीमा नियुक्त गरेको हो ।
मन्त्रिपरिषद्को निर्णयसँगै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को प्रमुख रहेका थापा प्रहरीको ३१औँ आईजीपी बन्न सफल भएका हुन् । आईजीपीका ३ जना प्रतिस्पर्धीमध्ये वरीयतामा थापा एक नम्बरमा थिए ।
प्रतिस्पर्धाको दोस्रो नम्बरमा प्रहरी अतिरिक्त महानिरीक्षक सुदीप गिरी र तेस्रोमा टेकबहादुर तामाङ थिए । गिरी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र तामाङ उपत्यका प्रहरी कार्यालयमा कार्यरत छन् ।
प्रहरीको ३१औँ आईजीपीमा नियुक्त भएका दीपक थापा ०५२ भदौ १९ गतेदेखि प्रहरीमा सेवा सुरु गरेका हुन् । प्रहरी निरीक्षकबाट सेवा सुरु गरेका थापा आजबाट अवकाश पाएका आईजीपी कुँवरसँगै ०७९ चैत ८ मा एआईजीमा बढुवा भएका थिए ।
हाल सीआईबीको प्रमुख रहेका थापाले उपत्यका प्रहरी कार्यालयको कमान्डसमेत गरिसकेका छन् । उनीसँग डीआईजी हुँदा वाग्मती प्रदेश प्रहरी प्रमुख, प्रहरी प्रधान कार्यालयको आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालय प्रमुखको कमान्ड सम्हालेको अनुभव छ ।
प्रतिक्रिया