कालिकोट । कर्णाली नदीमा कामदार बेपत्ता भएका छन् । ड्रमको डुंगा चढेर कर्णाली नदी तर्ने क्रममा एक जना कामदार बेपत्ता भएका हुन् । कर्णाली करिडोरको घाटचौर–लैफु सडकमा काम गर्दै आएका मुगुको रारा छायाँनाथ नगरपालिका–१० का २३ वर्षका देवनाथ सेजुवाल सोमबार बिहान कर्णाली नदीमा बेपत्ता भएका छन् ।
करिब १० महिनादेखि कर्णाली करिडोरमा ज्याला मजदुरी गर्दै आएका सेजुवाल सोमबार बिहान कर्णाली नदी पारीबाट डिजेल राख्ने ड्रम जोडेर बनाइएको डुंगा चढेर काम गर्ने ठाउँमा आउने क्रममा नदीमा खसेको प्रहरी कार्यालय कालिकोटका निमित्त प्रहरी प्रमुख किशोर केसीले बताए ।
३ वटा ड्रम जोडेर बनाइएको डुंगा चढेर नदी पार गर्ने क्रममा सेजुवाल नदीमा खसेका हुन । उनले भने, ‘चार जना चढेको डुंगा ढल्किँदा देवनाथ नदीमा खसेका हुन् ।’ उनले स्थानीय र प्रहरीले खोजी गरिरहेको भए पनि नभेटिएको जानकारी दिए ।
कर्णाली करिडोरको कालिकोट पलाता–९ मा पर्ने घाटपारी चौरदेखि बाजुराको लैफुसम्म ११ किमी चट्टान विस्फोटनसहित नेपाली सेनाले जिम्मा लिएर निर्माण गरिरहेको छ । सडक हाल घुमाउरो बाटो हुँदै नानिकोटको बोलु गाउँबाट घाटपारी चौर झारिएको छ । कर्णाली नदीको तिरैतीर ट्रयाक खुलेपछि १० किलोमिटर छोटो पर्नेछ ।
कालिकाेट
प्रतिक्रिया