भुटानी शरणार्थी प्रकरण : बेचन झाको बन्दी प्रत्यक्षीकरणको रिट सर्वोच्चबाट खारेज

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेर थुनामा रहेका बेचन झाले थुनामुक्तको माग गर्दै दायर गरेको रिट सर्वोच्च अदालत खारेज गरिदिएको छ ।

सोमबार सर्वोच्चका न्यायाधीश विनोद शर्मा र अब्दुल अजिज मुसल्मानको इजलासले रिट खारेज गरिदिएको हो । गत माघ २ गते झाले थुनामुक्तको माग गर्दै निवेदन दायर गरेका थिए ।

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गर्न झाको पनि संलग्नता रहेको आरोपमा प्रहरीले गत असार १३ गते उनलाई पक्राउ गरेको थियो । उनीविरुद्ध चार कसुरमा मुद्दा दायर भएको थियो । झासमेतका प्रतिवादीहरुले २८ करोड ८१ लाख ७४ हजार ५ सय रूपैयाँ पीडितबाट ठगी गरेको आरोप छ ।

उनलाई राष्ट्र हित प्रतिकूलको कसुरमा ५ वर्ष कैद र ५० हजार जरिवाना, ठगीको कसुरमा ७ वर्ष कैद र ७० हजार रुपैयाँ जरिवाना, किर्तेको कसुरमा ७ वर्ष कैद र ७० हजार जरिवाना, संगठित अपराधमा ५ वर्षसम्म कैद र ५० हजार रूपैयाँसम्म जरिवानाको माग गरिएको छ ।

प्रतिक्रिया