काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले गणतन्त्रवादी शक्ति एक जुट हुँदै गणतन्त्र र संविधानको रक्षा गर्न जोड दिएका छन् । साथै, प्रतिपक्षी दलका सांसदहरुले वर्तमान सरकारको आलोचना पनि गरेका छन् ।
उनीहरुले समसामयिक विषयमा सदनमार्फत सरकारको ध्यानाकर्ष गराउँदै सरकार जनताप्रति उत्तरदायी बन्न आग्रह गरेका छन् । बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले गणतन्त्रमा हुर्किएका नयाँ शक्तिलाई झुटा मुद्दा लगाएर सरकारले दमन गर्न लागेको आरोप लगाइन् ।
सांसद सुशीला सिर्पाली ठकुरीले सरकार जनताप्रति उत्तरदायी नहुँदा प्रतिक्रियावादी शक्ति सल्बलाउन थालेको जनाउँदै सरकार देश र जनताप्रति जवाफदेही हुनुपर्ने बताइन् । सांसद हितबहादुर तामाङले संविधान र गणतन्त्रवादी एकताबद्ध हुनुपर्नेमा जोड दिँदै राजतन्त्र पुनःस्थापना गर्ने दिवासप्न नदेख्न चुनौती दिए ।
सांसद हितराज पाण्डेले बाख्रापालक किसानले उचित मूल्य पाउन नसकेको, पशु बीमाको प्रभावकारी कार्यान्वयन, दानाको मूल्य नियन्त्रण, घाँसको उचित प्रबन्ध तथा खसीबाख्राको चोरी पैठारी रोक्न सरकारको ध्यानाकर्षण गराए । सांसद सुहाङ नेम्वाङले पूर्वी पहाडी क्षेत्रका दुग्ध उत्पादक किसानका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराए ।
सांसद हर्कमाया विश्वकर्माले जातीय विभेदलाई बढवा दिने र समाज बिथोल्ने गतिविधिमाथि प्रतिबन्ध लगाउन सुझाव दिए । सांसद सुरेन्द्र आचार्यले सुक्खायाममा देशव्यापीरुपमा हुन सक्ने खानेपानीको अभावको अवस्था अन्त्य गरी जनतालाई स्वच्छ पिउने पानीको उचित प्रबन्धन गर्न सरकारको ध्यानाकर्षण गराए ।
सांसद सूर्यबहादुर थापा क्षेत्रीले नौमुरे बहुउद्देश्यीय जलविद्युत् आयोजना तत्काल अघि बढाउन सरकारसँग माग गरे । सांसद हृदयराम थानीले सुर्खेत विमानस्थलको उत्तरतर्फ धावन मार्ग विस्तार गर्न, बड्डीचौर–खम्बागाडे सडकको काम तीव्र गतिमा अघि बढाउन सरकारसँग माग गरे ।
सांसद सञ्जयप्रसाद गौतमले नेपाल–भारत सीमाका दशगजा क्षेत्रमा बसोबास गर्ने जनताको समस्यमा समाधानमा केन्द्रित हुन ध्यानाकर्षण गराए । सांसद सूर्यप्रसाद ढकाल र हेमराज राई सरकार देश र जनताप्रति उत्तरदायी हुनुपर्नेमा जोड दिए ।
त्यसैगरी शून्य समयमै सांसदहरुले शिक्षा, स्वास्थ्य, रोजगारी, शान्ति सुरक्षा र सडक निर्माणलगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद वीना लामाले राष्ट्रिय प्राकृतिक तथा वृत्त आयोगले बनाएको मापदण्डमा असन्तुष्टि जनाइन् ।
‘आयोगले समानिकरण अनुदानको मापदण्ड पक्षधरका आधारमा बनाएको आरोप छ’, उनले भनिन्, ‘आयोगको स्वीकृति बिना युएसएआइडीका परियोजना दुरुपयोगमा आयोगकै पदाधिकारी संलग्न रहेको सुनिएको छ, यस विषयमा के भएको हो सदनलाई जानकारी गराउनुपर्छ ।’
सांसद श्यामकुमार घिमिरेले सिन्धुलीको सुगुरे खोलाभन्दा अगाडिपट्टि रहेको अक्करेभिरमा बर्सेनि आउने पहिरोका कारण सवारी साधन सञ्चालनमा समस्या भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराए । ‘पहिरोका कारण अक्करेभिरबाट जुनसुकै बेला पनि गाडी खस्न सक्ने जोखिम छ, उक्त स्थानमा हिउँदमा पनि पहिरो झरिरहन्छ, बर्सातमा जोखिम बढी हुन्छ, उक्त समस्या समाधान गर्न सरकारको ध्यान जान जरुरी छ’, उनले भने ।
सांसद शान्ति विकले अहिलेको केही व्यक्तिले लोकतान्त्रिक गणतन्त्रलाई गलत रुपमा व्याख्या गरेको उल्लेख गर्दै विगत भइसकेको राजतन्त्र वर्तमानमा सम्भव नभएको बताइन् । उनले सरकारले अर्थतन्त्र सुधार, रोजगारी सृजना, गुणस्तरीय र सर्वसुलभ शिक्षा र स्वास्थ्य, पूर्वाधार विकास, सुरक्षा तथा न्यायको व्यवस्थाका साथै दिगो विकासमा ध्यान दिनुपर्नेमा जोड दिइन् ।
सांसद शिव नेपालीले बन्दी महिलाहरुको न्याय, पुनः स्थापना र वित्तीय शिक्षाका लागि सरकारको ध्यानाकर्षण गराए । सांसद शिशिर खनालले काठमाडौं उपत्यकामा देखिएको खानेपानीको समस्या समाधान गर्नुपर्ने माग गरे ।
सांसद शेरबहादुर कुँवरले पछिल्लो केही दिनदेखि विभिन्न माग राखेर आन्दोलनरत शिक्षकहरुको माग सम्बोधन गर्न सरकारसँग माग गरे । सांसद शोभा ज्ञवालीले कृषिको आधुनिकीकरण र व्यावसायीकरण गर्नुपर्ने आवश्यकता औँल्याइन् । सांसद सन्तोष चालिसेले काठमाडौंको जोरपाटी–सुन्दरीजल सडकमा पर्ने चार वटा पुल निर्माण गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराए ।
सांसद सन्तोष परियारले सूर्यविनायक–साँगा–धुलिखेल सडक विस्तारमा ढिलाइ भएको भन्दै जतिसक्दो चाँडो सम्पन्न गर्नका लागि सरकारको ध्यानाकर्षण गराए । शून्य समयमा सांसदहरु शंकर भण्डरी, सरिता भुसाल, डा स्वर्णिम वाग्ले, शान्ति चौधरी, सुमना श्रेष्ठ, सुनिता बराल, सरस्वती सुब्बालगायतले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए ।
प्रतिक्रिया