काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रश्न गरेका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा समय लिएर बोल्दै सांसद थापाले अध्यक्ष दाहालको टिप्पणीप्रति असहमति जनाउँदै प्रश्न उठाएका हुन् । उनले कांग्रेस र एमालेसहितको गठबन्धन सरकारको विषयलाई लिएर अध्यक्ष प्रचण्डले गरेको टिप्पणीमा आपत्ति जनाए ।
प्रतिनिधिसभामा बोल्दै सांसद थापाले प्रचण्ड आफैँ प्रधानमन्त्री भएका बेला कांग्रेस र एमालेलाई मिलेर सरकार चलाउन दिनुभएको होइन ? भन्दै प्रश्न गरे ।
‘सरकार बनेको ४१ मा नेपाल बंगलादेश र श्रीलंका बन्ला भन्नुभयो। सरकार बनेको कुरा नै असंवैधानिक छ भनेको कुरा सम्झेको छु,’ उनले भने, ‘एमाले र कांग्रेस मिलेर सरकार बनाउनूस् भनेको होइन ? त्यसबेला पनि संविधान यही थियो होइन र ? ।’
साथै, सांसद थापाले जनताको असन्तुष्टिलाई समयमै बुझ्नुपर्ने र सचेत रहनुपर्ने पनि बताए । प्रतिनिधिसभाको विशेष समयमा बोल्दै थापाले जनताको असन्तुष्टिलाई केही पनि होइन भन्ने अहंकार कसैले राख्न नहुने बताए ।
‘जनता असन्तुष्ट छन्, त्यो असन्तुष्टिभित्र आक्रोश छ, यसलाई नजरअन्दाज गर्न हुँदैन,’ उनले भने, ‘यहाँ केही पनि भएको छैन, यो केही होइन भन्ने अहंकार हामीले राख्न हुँदैन, जनताको असन्तुष्टिलाई समयमै बुझ्नुपर्छ र सचेत रहनुपर्छ ।’
प्रतिक्रिया