राजावादीले देशव्यापी प्रदर्शन गर्ने चेतावनी दिँदै लुक्ने ठाउँ खोज्न राप्रपा सांसद कार्कीको सुझाव

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कि सांसद रोशन कार्कीले आगामी दिनमा राजावादीले थप देशव्यापी प्रदर्शन गर्ने चेतावनी दिँदै लुक्ने ठाउँ खोज्न सुझाव दिएकी छन् । मंगलबार बसेको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद कार्कीले यस्तो चेतावनी र सुझाव दिएकी हुन् ।

यही फागुन २५ गते पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा राजावादीले गरेको प्रदर्शन अझै कम भएको उल्लेख गर्दै सांसद कार्कीले आगामी दिनमा थप देशव्यापी प्रदर्शन गर्ने चेतावनी दिइन् । प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले अरु ७३ जिल्लाका मान्छे यसैगरी उत्रिएको खण्डमा गणतन्त्रका नेताहरुलाई लुक्ने ठाउँसमेत नहुने बताइन् ।

‘एक जना मित्रले के भन्नुभयो भने राजाको जयजयकार गरेको र नेताहरू जिल्लामा जाँदा मुर्दावाद भनेको उहाँले सुन्नुभएको थिएन होला,’ कार्कीले भनिन्, ‘मित्र यो त ट्रायल मात्रै हो, अरु जिल्लाका मान्छे थपिए, अरू ७३ जिल्लाका मान्छे थपिए भने त्यो देखेर नआत्तिनुहोला ।’

उनले त्यतिबेला लुक्ने ठाउँ अहिले नै खोजेर बस्नसमेत आग्रह गरिन् । ‘लुक्ने ठाउँ अहिले नै खोजेर बस्नुहोला,’ कार्कीले भनिन् ।

त्यसअघि सांसद एवं नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पूर्वराजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष सहभागिता र उक्साहटमा संविधानविपरीतका कामहरु भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए । सांसद बर्तौलाको जवाफ कार्कीले दिएकी हुन् ।

प्रतिक्रिया