काठमाडौं । नेपाल बार एसोसिएसनको आसन्न निर्वाचनमा सत्तापक्ष र प्रतिपक्ष समर्थक २ प्यानल भिड्ने भएका छन् । सत्तामा रहेका कांग्रेस–एमाले समर्थक कानुन व्यवसायीहरूले गठबन्धन बनाएपछि प्रतिपक्षी दल समर्थक कानुन व्यवसायी पनि एकै ठाउँ उभिएका हुन् ।
बिहीबार उम्मेदवारी दर्ता गर्दै सत्तापक्षीय गठबन्धनमा नेपाली कांग्रेस निकट डिएलएका विजयप्रसाद मिश्र अध्यक्ष र महासचिवमा एमाले निकट पिपिएलएका केदार कोइरालालाई उम्मेदवार बनेका छन् । मिश्र नेपाल बारका पूर्वमहासचिव हुन् ।
यता, प्रतिपक्षी गठबन्धनमा नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी र राप्रपा सामेल छन् । उक्त प्यानलको अध्यक्ष पदमा माओवादी निकट रमण श्रेष्ठ उम्मेदवार बन्ने भएका छन् । उनको प्रस्तावकमा भने एमाले निकट वरिष्ठ अधिवक्ता शम्भु थापा छन् । समर्थकमा वरिष्ठ अधिवक्ता सुशील पन्त छन् ।
यसैगरी उक्त प्यानलको महासचिवमा राष्ट्रिय स्वतन्त्र पार्टी निकट यज्ञमणि न्यौपानेले उम्मेदवारी दिएका छन् । एकीकृत समाजवादीले बाग्मती उपाध्यक्षमा देवेन्द्र सुवेदी, गण्डकी उपाध्यक्ष शुकदेव गौतम र मधेस उपाध्यक्ष प्रमोद साहलाई उम्मेदवार बनाएको छ ।
यसअघि गत २० पुसमा सम्पन्न सर्वोच्च अदालत बार एसोसिएसनको निर्वाचनमा भने एमाले–माओवादी र नेपाली कांग्रेस–एकीकृत समाजवादी समर्थक कानुन व्यवसायीहरूको छुट्टाछुट्टै प्यानल भिडेका थिए । उक्त निर्वाचनमा अधिकांश पद नेपाली कांग्रेस–एकीकृत समाजवादी निकट प्यानलले जितेको थियो । आउँदो चैत २३ गते हुने निर्वाचनबाट नेपाल बारमा २५ सदस्यीय कार्यसमिति चयन हुनेछ ।
प्रतिक्रिया