संवैधानिक नियुक्तिविरुद्धको रिट हेर्दाहेर्दैमा

काठमाडौँ । ५२ जना संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको रिट हेर्दाहेर्दैमा परेको छ । रिटको अर्को पेसी ६ चैतका लागि तोकिएको छ । बुधबार प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुँडाल र नहकुल सुवेदीको संवैधानिक इजलासमा सुनुवाइ भएपछि सो रिटलाई हेर्दाहेर्दैमा राखिएको हो । संवैधानिक आयोगका पदाधिकारीहरूको कार्यकाल आधाभन्दा बढी सकिएपछि गत माघ ३० गते सर्वोच्चमा उनीहरूको नियुक्तिविरुद्धको मुद्दामा सुनुवाइ सुरु भएको थियो ।

करिब ४ वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संवैधानिक परिषद् बैठकमा ३ जना सदस्य उपस्थित भए पनि गणपूरक संख्या पुगेको मानिने प्रावधानको अध्यादेश ल्याएर संवैधानिक आयोगहरूमा पदाधिकारी नियुक्त गरेको थियो । २ पटक गरेर संवैधानिक परिषद्ले ५२ जना पदाधिकारी तथा सदस्य नियुक्ति गरिएको थियो । सोविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता ओमप्रकाश अर्याललगायतले सर्वोच्चमा रिट दायर गरेका थिए ।

प्रतिक्रिया