खोटाङ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले देशभरका सुक्खा क्षेत्रको पहिचान गरी समस्या समाधान गर्न सरकार लागिपरेको बताएका छन् । उनले सुक्खा क्षेत्रका कारण र सहज पानीको पहुँच नपुग्दा नागरिकले समस्या खेप्नुपरेको जनगुनासोको आधारमा देशभरका सुक्खा क्षेत्रको पहिचान गरी समस्यामा जोड दिने बताए ।
बुधबार खोटाङको हलेसी चुवातुङ नगरपालिका–४ घोपाटरमा नेपाल सरकार वन तथा भू–संरक्षण विभाग र युएनडिपीद्वारा जिइएफको सहयोगमा निर्माण सम्पन्न भएको जलधारमा आधारित जलवायु उत्थान जीविकोपार्जन आयोजना कार्यक्रम द्वारा निर्माण सम्पन्न भएको घोपाटार लिफ्टिङ सिँचाइ आयोजनाको उद्घाटन कार्यक्रममा बोल्दै उनले सुक्खा क्षेत्र पहिचानका साथ सहज पानीको उपलब्धताका लागि लिफ्टिङ सिँचाइ निर्माणमा जोडदिने बताए ।
यो क्षेत्र पहिलादेखि सुक्खा क्षेत्र भएकोले ३ वर्षअघि घोपाटार लिफ्टिङ सिँचाइ आयोजनाको निर्माणसँगै अहिले घोपाटार हरियाली छ । एउटा नमुनायोग्य घोपाटार लिफ्टिङ सिँचाइ आयोजना निर्माण भएको छ । यस्तै नमुनायोग्य लिफ्टिङ सिँचाइ आयोजना देशका अन्य सुक्खा क्षेत्रमा पनि निर्माणमा जोड दिइने छ । यस आयोजनाले कृषि उत्पादनमा सहयोग गर्ने र सुक्खा रहेको घोपाटार अब हरियाली हुने छ । यस्तै सुक्खा क्षेत्रमा नेपाल सरकार वन तथा भू–संरक्षण विभागले विभिन्न कार्यक्रम गर्दै आएको भए पनि अझै यस हलेसी चुवातुङ नगरपालिका—४ घोपाटरमा रहेको माझी बस्तीका लागि वनसँगसम्बन्धी कार्यक्रम सञ्चालन गरी हरियाली क्षेत्र बनाउन के कस्ता कार्यक्रम गर्न सकिन्छ त्यसतर्फ पनि लागि पर्ने मन्त्री शाहीले बताए ।
मन्त्री शाहीले आगामी बजेटमा आफूले वन तथा वातावरणसम्बन्धी जोड दिएर कार्यक्रम ल्याउने जानकारी गराए । उनले पछिल्लो समय वन्यजन्तु बाँदर, बँदेल कारण धेरै किसान समस्यामा परेका र बसाइँसराइ नै सर्नु परेको जनगुनासोलाई आत्मसाथ गर्दै नेपाल सरकारले गम्भीरतापूर्वक लिएको बताए । उनले पछिल्लो समयमा सबै क्षेत्रमा जंगली वन्यजन्तुले किसानलाई आजित पारेको हुनाले यसको उचिज व्यवस्थापन गर्नेतर्फ सरकार लागिपरेको बताए ।
कार्यक्रममा उनले कांग्रेस र एमालेको गठबन्धनको सरकारले विकास र समृद्धिको सवालमा फड्को मारेको बताए । वर्तमान सरकार आएपछि आर्थिक गतिविधि चलायमान हुनुका साथै रोकिएका कामले पनि गति लिन थालेकाले जनतामा आशा पलाएको मन्त्री शाहीको भनाइ थियो ।
नेपालमा जलवायु परिवर्तनको असर विद्यमान छ । दिनप्रतिदिन तापमान वृद्धि हुँदै गएकाले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न सरकार प्रतिवद्धसँग लागिपरेको बताए । उनले जलवायु परिवर्तनको असर नेपालमा भन्दा पनि विकसित देशहरूका कारणले भएकाले यसको न्यूनीकरणका लागि तिनै तहका सरकारसँग अनुकूलका कार्यक्रम सञ्चालन गरी जलवायु परिवर्तनको असर न्यूनीकरणमा लागि रहेको बताए ।
सुक्खा रहेको घोपाटार लिफ्टिङ सिँचाइ निर्माणको उद्देश्य कृषि उत्पादनमा वृद्धि र स्थानीयबासीको जीवनस्तरमा सुधार ल्याउनु रहेको र लिफ्टिङ सिँचाइ आयोजनाको लागत ५५ लाख ६७ हजार १४९ रहेको छ । यो आयोजनाबाट घोपाटार माझी बस्तीका ३५ घरधुरी लाभान्वित हुनेछन् भने सुक्खा याममा १५ हेक्टर कृषियोग्य जमिनलाई सिँचाइ सुविधा पुग्ने जनाइएको छ ।
मुगु
प्रतिक्रिया