काठमाडौँ । चिनियाँ एआई एप डिपसिकको प्रभावले अमेरिकालाई प्रविधि क्षेत्रमा झट्का लागेको छ । ‘डिपसिक’ एप्पल प्रयोगकर्ताहरूमाझ छोटो समयमा सबैभन्दा धेरै डाउनलोड भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई अमेरिकी प्रविधि कम्पनीहरूका लागि खतराको घन्टी भनेका छन् ।
यही जनवरीमा अमेरिकामा सार्वजनिक भएको सोे एप अमेरिकी प्रविधि कम्पनीहरूको सेयर बजारमा भारी गिरावटको कारणसमेत बनेको छ । डिपसिक च्याट जिपिटीभन्दा बढी प्रभावकारी र सुविधासम्पन्न भए पनि यो अत्यन्त कम खर्चमा तयार भएको जनाइन्छ । एप विकासमा संलग्न अनुसन्धानकर्ताहरूका अनुसार यसको विकासका लागि जम्मा ६० लाख अमेरिकी डलर मात्रै खर्च भएको थियो । यो रकम अमेरिकी एआई कम्पनीहरूले खर्च गरेको अर्बौँ डलरको तुलनामा निकै कम हो ।
चीनको दक्षिणपूर्वी सहर हान्जाउमा स्थापित चिनियाँ ‘आर्टिफिसियल इन्टेलिजेन्स’ कम्पनी डिपसिक सन् २०२३ को जुलाईमा घोषणा भएको थियो । यसको लोकप्रिय एआई एसिस्टेन्ट एप अमेरिकामा १० जनवरीसम्म सार्वजनिक नगरिएको ‘सेन्सर टावर’ले जनाएको छ । यो एप लियाङ वेनफङले सञ्चालन गरेका हुन् । ‘हेज फन्ड’ अर्थात् मानिसहरूले लगानीका लागि जम्मा गरिदिएको पैसाको समेत प्रयोग गरेर डिपसिक स्थापना गरिएको हो ।
इन्फरमेसन र इलेक्ट्रोनिक इन्जिनियरिङमा स्नातक गरेका ४० बर्से लियाङले हाल चीन निर्यातमा प्रतिबन्ध लागेको एनभिडिया ए१०० चिप्सहरूको एउटा भण्डार नै बनाएको बताइएको छ । विज्ञहरूले उनको संग्रहमा रहेका अनुमानित ५० हजार थान चिप्स र झन् सस्तो मूल्यमा पाइने र आयातका लागि उपलब्ध अन्य उपकरणहरू जोडेर उनले ‘डिपसिक’ विकास गरेको ठानेका छन् ।
यो कम्पनीको एआई एप एप्पलको एप स्टोरमा र कम्पनीको वेबसाइटमार्फत् अनलाइन डाउनलोड गर्न सकिन्छ । निःशुल्क प्रयोग गर्न पाइने यो एप एप्पलको स्टोरमा छोटो समयमै सबैभन्दा धेरै डाउनलोड हुने एप बनेको छ । तथापि केही प्रयोगकर्ताहरूले यसमा आफ्नो खाता खोल्न समस्या भएको पनि उल्लेख गरेका छन् ।
डिपसिक र च्याट जिपिटीमा धेरै समानतासमेत छ । एप स्टोरमा उल्लेखित विवरणअनुसार यसलाई मानिसहरूका ‘प्रश्नहरूको जबाफ दिन र प्रभावकारी रूपमा जीवन सहज बनाउन’ डिजाइन गरिएको हो । प्रयोगकर्ताहरूले रेटिङका क्रममा गरेका टिप्पणीमा यसले ‘लेखन शैलीमा निखार थप्ने’ उल्लेख छ । यो च्याटबोटले राजनीतिक रूपमा संवेदनशील विषयमा भने जबाफ दिँदैन । यो सस्तो भएका कारण यसले अमेरिकामा धेरै ठुलो असर गरेको छ । डिपसिकको उदयले अमेरिकी चिप कम्पनीमा समेत असर गरेको छ । एभिडियाको सेयर मूल्य १७ प्रतिशतले घटेको छ ।
प्रतिक्रिया