काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरको क्रिकेट रंगशालामा समयमा नै प्यारापिट निर्माण गरेर फ्लडलाइट पनि जडान गरिने बताएका छन् ।
मन्त्रिपरिषद्को आजको बैठकले उक्त रंगशालामा प्यारापिट निर्माण र फ्लडलाइट जडान गर्ने निर्णय गरेको प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । प्रधानमन्त्री ओलीले तीन सिफ्टमा काम गरेर निर्धारित समयमा नै रंगशालालाई सुविधासम्पन्न बनाइने बताएका छन् ।
‘क्रिकेट हाम्रो युवा समाजको प्राण हो । क्याबिनेटको पहिलो बैठकबाट हामीले कीर्तिपुरको मैदानमा क्रिकेट रंगशालाको प्यारापिट निर्माण र फ्लडलाइट जडान गर्ने निर्णय गरेका थियौँ,’ प्रधानमन्त्री ओलीले सञ्जालमा लेखेका छन्, ‘आज यसको निर्माणका लागि बोलपत्र आह्वान भएको छ । अब हामीले तीन सिफ्टमा फटाफट काम गरेर यसलाई निर्धारित समयमै सम्पन्न गर्नु पर्ने छ ।’
प्रधानमन्त्री ओलीले क्रिकेट रंगशाला निर्माणका क्रममा पारस खड्कासहितका राष्ट्रिय खेलाडीहरुसँग छलफल गरेको बताउँदै रंगशालालाई विश्वस्तरको बनाइने उल्लेख गरे । साथै, उनले रंगशाला निर्माणको काम शीघ्र पूरा गर्न तथा सुझावसँगै खबरदारी गर्न सबैलाई अनुरोध गरेका छन् ।
‘नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीहरुले पनि बरु अलि समय दिएरै विश्वस्तरको रंगशालाको राम्रो डिजाइन गरौँ, हतार नगरौँ भन्ने सल्लाह दिनुभएको थियो,’ प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘जग्गा प्राप्तिलगायत झन्झटिलो प्राविधिक प्रक्रियाले सोचेभन्दा बढी समय लाग्यो, त्यसले प्रारम्भिक प्राविधिक डिजाइन तय गर्ने काममा केही ढिलाइ अवश्य भयो ।’
प्रतिक्रिया