एनपिएलमा कर्णालीलाई २ विकेटले हराउँदै जनकपुर फाइनलमा प्रवेश

काठमाडौं । राजधानीमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो क्वालिफायर खेलमा कर्णाली याक्सलाई २ विकेटले हराउँदै जनकपुर बोल्ट्स फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार टस हारेर पहिला ब्याटिङ गर्दै कर्णालीले दिएको ११९ रनको सामान्य लक्ष्य जनकपुरले १९ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो । जनकपुरको जितमा जेम्स निशमले सर्वाधिक ४५ रन बनाए । उनले १७ बलमा २ चौका र ५ छक्का प्रहार गरे । अर्धशतक बनाउँन ५ रनले चुकेका निशम विपिन शर्माको बलमा बोल्ड आउट भए ।

हर्ष ठाकर २६ बलमा १७ रन बनाउँदै रन आउट भए । आकाश त्रिपाठीले २० बलमा १३ रन जोडे । आकाश जिशान मक्शुदको बलमा आउट भए । ओपनर शुभ कसांकार ३ रनमा विपिन शर्माको बलमा आउट भए ।

मयन यादवले ७ रन बनाउँदा जीवनदान पाएका थिए । नन्दन यादवको बलमा विकेटकिपर चाल्डिक वाल्टनले क्याच ट्रप गरेका थिए । ७ रन थप्दै मयन दुई लिने चक्करमा रन आउट भए । आसिफ शेख ४, लाहिरु मिलन्था २ तथा मोहम्मद मोहसिन १ रनमा आउट भए । शेर मल्ल १० बलमा १६ रनमा नट आउट रहे ।

कर्णालीका लागि युवा बलर विपिन शर्माले ४ ओभरमा १७ रन खर्चिएर ३ विकेट लिए । कप्तान सोमपाल कामी, विलियम बोसिस्टो र जिशान मक्सुदले समान १ विकेट लिए ।

त्यसअघि कीर्तिपुरको क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ११८ रनको सामान्य योगफल बनाएको थियो ।

कर्णालीका लागि गुलशन झाले सर्वाधिक २५ रन बनाए । उनले २० बलमा १ चौका र २ छक्का प्रहार गरे । ओपनर देव खनालले २० बलमा ३ चौका र १ छक्काको सहयोगमा २४ रन जोडे । देव जेम्स निशमको बलमा आकाश त्रिपाठीबाट समातिए ।

विलियम बोसिस्टोले १५ बलमा १ चौकाको सहयोगमा १४ रन जोडे । बोसिस्टो ललितनाराण राजवंशीको बलमा विकेट किपर लाहिरु मिलन्थाबाट समातिए । जिशान मक्सुद ११ बलमा २ चौकाको सहयोगमा १२ रन जोडे । अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । कप्तान सोमपाल कामी ५, अघिल्लो खेलमा अर्धशतक बनाएका जयकिशन कोल्सावाला १ तथा अर्जुन घर्ती २ रनमा आउट भए ।

युनिस विक्रमसिंह ठकुरी १२ रनमा आउट हुँदा नन्दन यादव ४ रनमा नट आउट रहे । जनकपुरका लागि जेम्स निशम, मोहम्मद मोहसिन र ललितनारायण राजवंशीले समान २ तथा हर्ष ठाकर र शेर मल्लले समान १ विकेट लिए ।

विजेता जनकपुर रोमाञ्चक जितका साथ फाइनलमा प्रवेश गरेको छ । अब फाइनल खेलमा उपाधिका लागि जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स भिड्नेछन् ।

प्रतिक्रिया